मंसिरको चुनावी गर्मी उत्कर्षमा पुग्दै गर्दा चितवन क्षेत्र नम्बर-२ को चुनावी मैदानमा एउटा 'सरप्राइज' दृश्य देखिएको छ। एकअर्कालाई हराउने कसरतमा टोल-टोल पुगिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलबिच शुक्रबार चुनावी अभियानकै क्रममा जम्काभेट भएको हो।
विपक्षी उम्मेदवारलाई देख्दा तर्किने वा आरोप-प्रत्यारोप गर्ने आम प्रवृत्तिभन्दा फरक दृश्य चितवनमा देखिएको छ।
घरदैलोका क्रममा आ-आफ्ना कार्यकर्तासहित हिँडिरहेका दुई उम्मेदवारको जम्काभेट निकै सौहार्दपूर्ण देखिन्थ्यो। जम्काभेटलगत्तै दुवै उम्मेदवार रोकिएर एकअर्कालाई चुनावी सफलताको शुभकामना साटेका थिए।
कांग्रेस उम्मेदवारले खरेलले रविको स्वास्थ्यबारे चासो राखेकी थिइन्। त्यस क्रममा लामिछानेले कांग्रेस उम्मेदवार खरेललाई ढोग्दै भने– 'दिदी ! स्वच्छ प्रतिस्पर्धा हुन्छ, एकदमै सम्मानित प्रतिस्पर्धा हुन्छ, मैले दिदीलाई फोन गरेरै भनेको छु।'
खरेलले पनि मुस्कुराउँदै लामिछानेको शुभकामना स्वीकार गरिन्।
चितवन-२ को यो प्रतिस्पर्धा निकै रोचक मोडमा छ। यसअघिको उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका रवि लामिछाने यसपटक पनि आफ्नो विरासत जोगाउने दाउमा छन्। यता, नेपाली कांग्रेसले पुराना र अनुभवी नेता जीतनारायण श्रेष्ठको ठाउँमा यसपटक महिला उम्मेदवार मीनाकुमारी खरेललाई अघि सारेर नयाँ रणनीति अख्तियार गरेको छ।
लामिछानेले राजनीतिमा संस्कारको कुरा गरिरहँदा कांग्रेसकी खरेलले आफ्नो 'ग्रासरुट' सम्बन्धलाई चुनावी मुद्दा बनाएकी छन्। चितवनको यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवारको पनि सशक्त उपस्थिति रहेकाले प्रतिस्पर्धा 'त्रिपक्षीय' हुने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया