ad ad

अपराध


नेपाली महिलालाई थाइल्यान्ड भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाउने चिनियाँ पक्राउ

नेपाली महिलालाई थाइल्यान्ड भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाउने चिनियाँ पक्राउ

नेपालखबर
असार २८, २०८० बिहिबार १८:४६, काठमाडौँ

नेपालीलाई रोजगारीका लागि थाइल्यान्ड भनेर म्यानमार पुर्‍याउने चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चिनियाँ नागरिक लियाङ जुनलाई पक्राउ गरेको हो। उनले थाइल्यान्ड लैजाने भनेर नेपालीलाई म्यानमारमा बन्धक बनाएको आरोप छ। उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

यसरी थाइल्यान्ड पुर्‍याएर नेपालीलाई अनलाइनबाट अमेरिकी ठग्ने काममा लगाएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए। 

लियाङले थाइल्यान्डमा कम्प्युटर टाइपिङको काम भनी २०७९ साउन ९ गते नेपाली महिलालाई काठमाडौंबाट लगेका थिए। थाइल्यान्डबाट १३ घण्टासम्म बस र डुङ्गामा चढाई म्यानमार पुर्‍याए। त्यहाँ बन्धक बनाई राहदानी तथा मोबाइल खोसेर अनलाइन ठगीको काममा लगाएको खुलेको छ। 

पीडितको जाहेरी अनुसार उनीहरुलाई दिनको १८ देखि २० घण्टासम्म काम गर्न बाध्य बनाइएको थियो। यस्तै शारीरिक तथा मानसिक यातना समेत दिएको र बिरामी हुँदा पनि काममा लगाएको उनीहरुको गुनासो छ। 

पीडितले नेपाल फर्किन खोज्दा समेत चिनियाँ नागरिकले फिरौती रकम माग गरेका थिए। उक्त रकम बुझाएर नेपाली महिलाहरु स्वदेश फर्किएका थिए। फर्किएपछि उनीहरुले मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए। ब्युरोले उजुरीको आधारमा चिनियाँ नागरिकलाई बुधबार पक्राउ गरेको हो। ४२ वर्षीय लियाङ काठमाडौंको बिजेश्वरीमा बस्दै आएका थिए। 

पक्राउ परेका चिनियाँ नागरिक सन् २०१८ देखि नेपाल आउजाउ गर्ने गरेको खुलेको छ। उनले भ्रमण, विद्यार्थी र व्यापारिक भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यापार व्यवसायमा लगानी समेत गरेको पाइएको ब्युरोले जनाएको छ। 

पीडित महिला र लियाङबीच चिनियाँ दोभाषे साथीमार्फत भेटघाट भएको थियो। ४/५ महिना सँगै काम गरिसकेपछि लियाङले ती महिलालाई रोजगारीको प्रलोभनमा विदेश लैजाने प्रस्ताव गरेका थिए। अनलाइनमा विशेष गरी उनीहरुले अमेरिकी नागरिकलाई फेक आईडी मार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिटकोइन लगायतमा लगानी गर्न लगाइ ठगी गर्ने गरेको खुलेको छ। 

उनले काम गर्न नसकेर घर फर्किन्छु भन्नेलाई रकम माग्ने गरेका छन्। चिनियाँले थाइल्यान्ड भन्दै म्यानमार पुर्‍याएर अनलाइन ठगीको काममा कम्तीमा १० जना नेपाली महिलालाई ठगी गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ। यसरी ठगीमा अन्य दुई जना चिनियाँ नागरिक पनि संलग्न रहेको पाइएको छ। हाल फरार रहेका उनीहरुको पनि खोजी भइरहेको ब्युरोका प्रबक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .