ad ad

अपराध


निरु हत्याका आरोपित विनोदलाई प्रहरीले यसरी पछ्यायो कपनदेखि झापासम्म

निरु हत्याका आरोपित विनोदलाई प्रहरीले यसरी पछ्यायो कपनदेखि झापासम्म

उजिर कार्की
बैशाख १८, २०८० सोमबार २२:९, काठमाडौँ

राजधानीमा दिनदहाडै भएको एउटा हत्याको रहस्य सल्ट्याउन प्रहरीलाई निकै हम्मे पर्यो। बागलुङ बडिगाड ५ घर भई हाल काठमाडौं महानगरपालिका ६ कपनमा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको वैशाख ७ गते दिउँसो पौने ३ बजे हत्या भयो। 

तर, निराको हत्यामा संलग्नलाई एक हप्तासम्म पनि प्रहरीले पत्ता लगाउन सकेन। राजधानीमा पछिल्लो पटक भएको यो यस्तो घटना बन्यो, जसको अनुसन्धानका लागि प्रहरीले एआईजीको नेतृत्वमा अनुसन्धान समिति नै बनाउनु पर्यो। 

हत्याराको धेरै नजिक पुगेको प्रहरीले उनलाई पत्ता लगाउन नौ दिन लाग्यो। कपनमा हत्या गरेका व्यक्ति ९ औं दिनमा झापामा फेला पारे। सीसीटीभी फुटेजको सहारामा जुन दिन काठमाडौंमा डेरा पत्ता लाग्यो, त्यसको केही छिनमै झापामा उनलाई समात्यो प्रहरीले। झापा धुलाबारीका विनोद विश्वकर्माले निराको हत्या गरेको खुल्यो। प्रहरीले आइतबार उनलाई काठमाडौं ल्याएर सार्वजनिक गरिसकेको छ। हत्या गरेको उनले स्वीकार गरिसकेका छन् भने केही प्रमाण पनि फेला परिसकेको छ। 

जब झोला र रगताम्य लुगा भेटियो...
कपनमा हत्या गर्दादेखि जडिबुटीसम्म भाग्दाको सीसीटिभी फुटेज प्रहरीले केही दिनमै संकलन गर्यो। तर त्यहाँबाट कहाँ गए भन्ने पत्ता लगाउन हप्ता दिन लाग्यो। 

निराको पसलमा सीसीटीभी जडान थिएन। बाहिर बाटोमा पनि अलिक पर भएको क्यामेराले खिचेको फुटेज भेटियो। त्यो दिन दिउँसो घटनालगत्तै प्रहरीले सुरुमा कुकुरको सहारामा हत्यारा ट्रयाक गर्ने प्रयास गर्यो। सँगै नजिकका सीसीटीभी फुटेजहरु पनि संकलन गर्न थाले। 

कुकुरले भीडभाडमा ट्रयाक गर्न सकेन। टेलिफोनबाट पनि ट्रयाक हुन सकेन। कारण थियो, हत्यामा संलग्न विनोदसँग मोबाइल नै थिएन। 

विनोद घटनाको दिन बिहानको खाना खाएर सार्वजनिक बसमा चाबाहिल पुगेका थिए। त्यो क्षेत्र उनको चिनजानको हो। पहिले यही क्षेत्रमा बसेका थिए। चाबहिलको बेबी ब्लु डान्सबारमा उनले केही समय काम पनि गरेका थिए। विनोद बाउन्सर हुन्। त्यसअघि झापामा पनि उनले त्यही काम गरेका थिए। 

तर अहिले चाबाहिल छाडेका थिए। उनले प्रहरीलाई दिएको बयान अनुसार ठमेलको भाइब्रेट नाइट क्लबमा उनले एकडेढ महिना पहिले जागिर छाडेका थिए। त्यसपछि झापा, विराटनगर र काठमाडौं आउजाउ गर्थे।

तर काठमाडौंमा उनको आफ्नै डेरा पनि थिएन। भक्तपुरको लोकन्थलीस्थित साथीको डेरामा बस्थे। डेराबाट निस्केका उनले झोला बोकेका थिए। मास्क लगाएका थिए। 

उनलाई पैसा चाहिएको थियो। तर कसरी निकाल्ने पैसा, थाहा थिएन। पैसाको अभावकै कारण मोबाइल बेचिसकेका थिए। पारिवारिक सम्बन्धमा पनि खटपट थियो। घर नगएको धेरै भइसकेको थियो। धेरैजसो विराटनगरतिर बस्थे। 

चाबाहिलबाट डुल्दै दिउँसो साढे २ बजेतिर उनी निराको भाँडा पसल नजिक पुगे। उनले प्रहरीलाई भनेका छन्, ‘एक्कासि भाँडा पसलमा पसेँ। त्यहाँ भित्र पसेपछि निराको सिक्री र पसलमा भएको रकम लुट्ने सोच आयो।’

तर त्यतिबेलै उनलाई मौका मिलेन। सामान किन्ने बहानामा पसेका उनले केही सामान अर्डर गरे। समान निराले झोलामा प्याक गरिन्। बिल बनाउन बाँकी थियो। त्यति नै बेला २ जना युवती र एक जना पुरुष सामान किन्न पसलमा छिरे। 

त्यसको केही समयपछि निराकी छोरी चिया लिएर त्यहाँ पुगिन्। लुट्ने माहोल मिलेन। एटीएमबाट पैसा लिएर आउँछु भन्दै उनी पसलबाट निस्किए। 

११ मिनेटपछि फेरि पसलमा फर्किए। त्यतिबेला भने निरा मात्रै थिइन्। छोरीले ल्याएको चिया खाइसकेकी थिइन्। त्यही मौकामा विनोदले निराको सिक्री लुट्ने योजना बनाए। 

उनको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न प्रहरी भन्छन्, ‘पसलमा माथिको सामान देखाउँछन्, निरा त्यो सामान निकाल्न खोज्छिन्, त्यति नै बेला विनोदले बक्सिङले ढाडमा हान्छन्।’

त्यसपछि निरा कराउन थाल्छिन्। सुरुमा चक्कु देखाएर तर्साउन खोज्छन्। तर निरा कराइरहन्छिन्। उनी मुख थुनिदिन्छन्। निराले प्रतिकार गर्न थाल्छिन्। त्यसपछि निराको हात टोक्छन्। त्यसपछि उनले निरामाथि पटकपटक चक्कु प्रहार गर्न थाल्छन्। 

जबसम्म निरा छटपटाउन छाड्दिनन् तबसम्म उनी शरीरका विभिन्न ठाउँमा प्रहार गरिरहन्छन्। 

विनोदको सर्टमा रगत लागेको थियो। रगत लागेको सर्ट र चक्कु झोलामा राख्छन्। घर्रामा भएको रकम र निरुको घाँटीमा भएको सिक्री लिएर त्यहाँबाट निस्कन्छन्। बाहिर निस्केर टेम्पो चढ्छन्। तर त्यो टेम्पुबाट चाबाहिल चोकमा झर्छन्।
 
चोक नजिकै इनड्राइभ मोटरसाइकल रोकिएको हुन्छ। त्यसमा अफलाइन नै चढ्छन्। त्यसमा जडिबुटी चोकसम्म पुग्छन्। त्यहाँबाट फेरि अर्को मोटरसाइकलमा बस्ने डेरा नजिकसम्म पुग्छन्। 

तर सीसीक्यामरामा कोठा नजिकैसम्म कैद भएका विनोद त्यसपछि हराए। सीसीटिभीमा पछ्याउँदै गएको प्रहरी त्यहाँ अलमलिन्छ। यसबीचमा विनोद चढेका इनड्राइभ मोटरसाइकल चालकलाई ल्याएर सोधपुछ गरिसकिएको थियो। तर उनीहरुबाट पनि पत्ता लाग्दैन। सबैले अफलाइनमै उनलाई चढाएका थिए। 

त्यसपछि भने प्रहरी विनोदको तस्बिर देखाउँदै यो मान्छे चिन्नुहुन्छ भन्दै हिँड्न थाल्छ। कसैले ‘यही बाटोमा देखेको त हो तर कहाँ बस्छ थाहा छैन’ भन्छन्। 

गएको शनिबार भने एक जनाले ठ्याक्कै कोठा नै पत्ता लगाइदिन्छन्। यो मान्छे त यता बस्छ भनिदिन्छन्। त्यसपछि लोकन्थलीको कोठासम्म पुग्न प्रहरी सफल हुन्छ। कोठा पत्ता लागेसँगै सबै कुरा खुल्छ। 

तर प्रहरी पुग्दा कोठाभित्र विनोद भेटिँदैनन्। उनका साथीहरु मात्रै फेला पर्छन्। प्रहरीले सोध्छ खै त्यो मान्छे? त्यसपछि कोठामा बस्नेहरुले उनी त झापा गइसकेको बताउँछन्। प्रहरीले कोठा खानतलासी गर्छ। 

कोठामा विनोदले हत्या गर्दा बोकेको ब्याग, कपडा र जुत्ता फेला पर्छ। सर्टमा रगत लतपतिएको हुन्छ। प्रहरीले यी प्रमाण फेला पारिसकेपछि विनोदको नम्बर पनि त्यहीँ पत्ता लाग्छ। 

अनि, विनोद ट्रयाक हुन्छन्। पहिले मोबाइल बेचेका विनोदले निराको सिक्री लुटेर बेचिसकेपछि मोबाइल पनि किनेका थिए। मोबाइल नम्बर पनि पत्ता लागेपछि प्रहरी झापा जाने तयारीमा तत्काल लाग्छ। 

सीआईबीका डीएसपी धर्म भण्डारी र उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे तत्काल झापातर्फ लाग्छन्। भद्रपुर विमानस्थलमा पुगेर उनीहरु विनोद बसेको इलाम बसपार्कको होटलसम्म पुग्छन्। 

प्रहरीका अनुसार विनोद बसपार्क छेउको पूर्वी पहाडी रेष्टुरेन्टमा बसेका थिए। शनिबार साँझ नै विनोदलाई पक्राउ गर्न प्रहरी सफल हुन्छ। विनोदले आइतबार बिहान आफ्नो कोलकता जाने योजना रहेको सुनाएका छन्। त्यहाँ उनका साथीका दाइले होटल खोलेका छन्। त्यहीँ काम गर्न जान लागेको विनोदले प्रहरीलाई बताएका छन्। 

कोलकाता जाने तयारीमा रहेका विनोदलाई प्रहरीले भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउँछ। त्यसै दिन आइतबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गर्छ। यससँगै घटना कसरी भयो भन्ने खुलेको हो। 

अझै मेटिएन आफन्तको आशंका 
प्रहरीले निराको हत्या सिक्री लुट्नकै लागि भएको बताएको छ। तर आफन्तको शंका भने मेटिएको छैन। खासगरी निराका माइती पक्ष यसमा सन्तुष्ट हुन सकेका छैनन्। 

उनीहरुलाई अझै पनि कसैले हत्या गर्न लगाएको आशंका छ। आइतबार विनोदलाई सार्वजनिक गर्ने बेला पनि उनीहरु सीआईबीमा पुगेका थिए। 

त्यहाँ पनि उनीहरुले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य समक्ष यही आशंका व्यक्त गरे। हत्या भएको ११ दिनपछि उनीहरुले सोमबार निराको अन्त्येष्टि त गरेका छन्। तर उनीहरुको सर्त छ– अनुसन्धान प्रभावित नहोस्, जो कोही संलग्न भए पनि कानुनी दायरामा आओस्। 

एआईजी बज्राचार्यले पटकपटक उनीहरुलाई अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने र संलग्न जो कोही भए पनि कानुनी दायरामा आउने बताइन्। 

उनीहरुले प्रहरीलाई बारम्बार सोधे– निराको अन्त्येष्टि गर्दा अनुसन्धानमा केही फरक पर्ला कि! तर अब गर्दा नै राम्रो हुन्छ भनेपछि सोमबार साँझ परिवारले अन्त्येष्टि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .