अपराध


सन्दीपका तर्फबाट आज बहस गर्दै छन् यी वरिष्ठ अधिवक्ता

सन्दीपका तर्फबाट आज बहस गर्दै छन् यी वरिष्ठ अधिवक्ता

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ९:५९, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदै छ। 

जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबार सुरु सुनुवाइले आज पनि निरन्तरता पाउने भएको हो। 

बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सन्दीपतर्फबाट शम्भु थापा, रमण श्रेष्ठ, लब मैनाली, सविता भण्डारीलगायत वरिष्ठ अधिवक्ताले बहस गर्दै छन्। 

यसअघि यसमा शम्भु थापा सहभागी नरहे पनि उनलाई बुधबार बेलुका फोन गरेर बहसका लागि आग्रह गरिएको हो। 

थापाले बिहीबार बिहान नेपालखबरसँग भने, ‘हिजो बेलुका फोन गर्नुभएको थियो, फाइलचाहिँ आइपुगेको छैन।’ 

यसअघि बुधबार सन्दीपका पक्षबाट अधिवक्ताद्वय मुरारीप्रसाद सापकोटा र रोशन पौडेलले बहस गरेका थिए। 

सन्दीपका कानुन व्यवसायीले बलात्कार नभएको र किशोरीको उमेर पनि १९ वर्ष पुगेको जिकिर गरेका छन्। यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो। 

सन्दीप पक्षले भने किशोरीको उमेर १९ वर्ष रहेको प्रमाण अदालतमा पेस गरेको छ। सन्दीप पक्षले किशोरीको उमेर १९ वर्ष रहेको जन्मदर्ता, बसाइँसराइको प्रमाणपत्र र सुरुमा विद्यालयमा भर्ना हुँदाको प्रमाण पेस गरेको छ। जसअनुसार किशोरीको उमेर १९ वर्ष पुगेको देखिन्छ। 

पीडित पक्षका कानुन व्यवसायीले भने नाबालिगलाई बलात्कार गरिएको दाबी गरेका छन्। 

१८ वर्षभन्दा कम उमेर भए सहमतिमै भएको करणीलाई पनि बलात्कार मानिने भएकाले अदालतमा बहस उमेरमा केन्द्रित भएको छ।  

सन्दीप पक्षको बहस सकिए उनलाई थुनामा पठाउने वा थुनाबाहिर राखेर मुद्दाको टुंगो लगाउने भन्ने आदेश हुनेछ। 

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्ध सोमबार मुद्दा अदालतमा दर्ता गरेको हो। 

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा भएकाले मुद्दा दर्ता हुन सकेको थिएन।

लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ। बलात्कार आरोपमा उनलाई १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको छ। 

बलात्कार आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन्। त्यसको एक महिना पहिले उनीविरुद्ध प्रहरीमा बलात्कारको जाहेरी परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .