ad ad

अपराध


डेढ अर्ब जरिवाना मागिएको मुद्दामा १५ लाख धरौटी तिरेर छुटे अमित श्रेष्ठ

डेढ अर्ब जरिवाना मागिएको मुद्दामा १५ लाख धरौटी तिरेर छुटे अमित श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १४:०, काठमाडौँ

व्यवसायी अमित श्रेष्ठ १५ लाख धरौटी बुझाएर छुटेका छन्। 

पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध हालेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनलाई केही दिनअघि १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

उनलाई उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

श्रेष्ठले बिहीबारै १५ लाख धरौटी बुझाएर कारागारबाट रिहा भएका छन्। 

यसअघि जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध क्रिप्टो करेन्सी कारोबार र विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दायर गरिएको थियो। 

यी कसुरमा उनलाई ७ वर्ष कैद र करिव डेढ अर्ब जरिवाना माग गरिएको थियो। क्यानडा र अष्ट्रेलियामा गैरकानुनी कारोबार पुष्टि भएको भन्दै व्यवसायी श्रेष्ठलाई  ७ वर्ष कैद र झण्डै डेढ अर्व जरिवाना माग गर्दै जिल्लामा मुद्दा चलाइएको थियो।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दा अनुसार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। 

के थियो प्रकरण?
उनले क्यानडामा रहेको रोयल बैंक अफ क्यानडा र कमन वेल्थ बैंक अफ अष्ट्रेलियाको खातामा क्रिप्टोमार्फत कारोबार देखिएको अनुसन्धान प्रतिवेदन प्रहरीले तयार पारेको थियो।  

अमितको मोबाइल तथा ल्यापटपमा समेत क्रिप्टो सम्बन्धी म्यासेज फेला परेको थियो। सन् २०१९ जुलाई २ देखि २०१९ अगष्ट ८ मा रोयल बैंक अफ क्यानडाको खातामा क्यानेडियन डलर २ लाख ३२ हजार ३ जम्मा भएको देखिएको छ। यो भनेको करिव १ करोड ९५ लाख ४६ हजार २ सय ५२ रुपैयाँ हो। 

यस्तै, सन् २०१९ जनवरी ७ देखि २४ अप्रिल २०१९ मा कमनवेल्थ बैंक अफ अष्ट्रेलियाको खातामा अष्ट्रेलियन डलर १ लाख ९४ हजार २८५ (एक करोड ५० लाख ६२ हजार २७९ रुपैयाँ) जम्मा भएको देखिएको थियो।

अमित २०१८ डिसेम्बर २४ मा अष्ट्रेलिया पुगेका थिए। त्यतिबेला अष्ट्रेलिया पुगेको केही दिनमै उनले अष्ट्रेलियामा खाता खोलेका थिए। खाता खोलेको केही दिनमै उनको खातामा शंकास्पद रकम जम्मा हुन थालेको पाइएको थियो। 

साढे तीन महिनाको अवधिमा अष्ट्रेलियन डलर १ लाख ९४ हजार २८५ (एक करोड ५० लाख ६२ हजार २७९) जम्मा भएको देखिएको थियो। 

श्रेष्ठ पहिलो पटक सन् २०१९ जुन २९ मा क्यानडा पुगेका थिए। क्यानडा पुगे लगत्तै रोयल बैंक अफ क्यानडाको खातामा २ वटा एकाउन्ट खोलेका थिए। 

खाता खोलेको केही दिनमै ठूलो परिमाणमा शंकास्पद रकम जम्मा भएको थियो । सेप्टेम्बर ११ मा  नेपाल फर्किएर उनी पुनः २०१९ डिसेम्बर १२ मा क्यानडा पुगेका थिए। 

त्यतिबेला अमित १६ महिना क्यानडा बसेको अभिलेखबाट पुष्टि भएको छ। क्यानडामा खाता खोलेको १ महिना ६ दिनको अवधिमा अमित श्रेष्ठको खातामा क्यानेडियन डलर २ लाख ३२ हजार (एक करोड ९५ लाख ४६ हजार २५२ जम्मा भएको थियो। 

उनी यो अवधिमा क्यानडा अष्ट्रेलिया रहँदा कमाइ गरेको नभई शंकास्पद रुपमा विदेश पुगेको केही दिनमै जम्मा भएको अनुसन्धानमा प्रहरीले खुलाएको थियो।

उनी २०१९ डिसेम्बर १२ मा क्यानडा पुगेपछि १६ महिना रहँदा कोभिड महामारीका कारण रोजगारी तथा पेशा व्यवसाय नै ठप्प रहेकाले कमाई गर्ने अवस्था नदेखिएको उल्लेख छ। 

उनले विदेशमा आर्थिक कारोबार गर्नका लागि राष्ट्र बैंकबाट समेत कुनै अनुमति लिएका थिएनन्। उनले बयानका क्रममा पनि आफूले त्यस्तो अनुमति नलिएको स्वीकार गरेका थिए। 

उनको विदेशमा भएको खाताहरुमा अस्वभाविक रुपमा शंकास्पद रकम जम्मा भएको देखिएकाले उनले नेपालमा व्यापार व्यवसायबाट आर्जन गरेको, जग्गा जमिन विक्रि गरेको, रकम समेत गैरकानुनी रुपमा हुण्डी कारोबारमार्फत विदेशमा रहेको आफ्नो खातामा जम्मा गरेको देखिएको दाबी गरिएको थियो।

श्रेष्ठले यसरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको  प्रहरीको दाबी थियो। अमितले बयानका क्रममा सर्भिस द काउन्सिल अमित नामको कम्पनी क्यानडामा १५ हजार डलर लगानीमा खोलेको खुलाएका थिए। तर त्यो र अन्य जम्मा भएको रकमको श्रोत खुलाउन नसकेको मिसिलमा उल्लेख थियो।

दोश्रो पटक क्यानडा जानु पहिले काठमाडौं महानगरपालिका-३ स्थित कित्ता नम्बर ११६ को जग्गा समेत बिक्री गरेका थिए। काठमाडौंको पानीपोखरीमा रहेको अपार्टमेन्ट पनि १ करोड ४० लाखमा बिक्रि गरेका थिए। तर त्यो रकम घरायसी कामकाज र ऋण तिर्न प्रयोग भएको बयान दिएका थिए।

सन् २०२० को सेप्टेम्बरमा विशाल सिमेन्टको शेयर विक्रि बापत आएको ७ करोड ९८ लाख २२ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेका थिए। सोही महिना त्यही खातामा २ करोड ४७ लाख ६१ हजार ९ सय रुपैयाँ जम्मा भएको थियो। 

खातामा रकम जम्मा हुनासाथ विभिन्न व्यक्तिको नाममा भुक्तानी भएको थियो। आफ्नो खातामा रकम आउनासाथ विदेशमा भएका व्यक्तिले विभिन्न व्यक्तिको नाममा निकाल्नुलाई पनि आशंका गरिएको थियो। 

कुनै प्रयोजनबिना विशुद्ध हुण्डीमार्फत क्यानडामा रकम पठाउन जीएमई रेमिट कम्पनीको खातामा रकम पठाएको देखिएको अभियोजन पत्रमा उल्लेख थियो। 

उनीबाट बरामद भएका ल्यापटप, मोबाइलको फरेन्सिक रिपोर्टबाट पनि उनी क्यानडा रहेको बेला उनको स्वामित्वमा क्यानेडियन डलर ४८ लाख ६० हजार १९० (४४ करोड ८ लाख ६४ हजार १६ रुपैयाँ) रहेको पुष्टि भएको थियो। 

अमितले गरेको कार्य नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम कसुर गरेको पुष्टि भएको अभियोगमा दाबी थियव्। उक्त अभियोग अनुसार ७ वर्षसम्म कैद र बिगोको तीन गुणासम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .