हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीय बासिन्दाले चन्दा संकलन अभियान सुरु गरेका छन्।
शनिबार कमला पुलमा उपस्थित भई अभियानका अगुवाहरूले औपचारिक रूपमा चन्दा संकलन सुरु गरेको सामाजिक अभियन्ता रामरिझन यादवले जानकारी दिए। ‘१४ वर्षअघि काम सुरु भए पनि पटकपटक म्याद थपिँदै आएको छ। विसं २०७८ असार १७ मा बाढीले पुलका दुई पिलर भासिएपछि थप समस्या भएको छ,’ यादवले भने, ‘पुल नबन्दा मधेसका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर परेको छ।’
अभियन्ता यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतिकात्मक आन्दोलन सुरु गरिएको बताए। पटक–पटक सरकारको ढोका ढक्ढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान सुरु गरिएको उनको भनाइ छ।
मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, मन्त्रीको प्रतिबद्धतामा ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ।
कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएका छ। धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा सङ्कलन गरेर सरकारलाई बुझाइने अभियन्ताहरूले बताएका छन्।
यस अभियानका लागि प्रतिपरिवार १० हजार रुपैयाँका दरले चन्दा सङ्कलन, विष्णु महायज्ञ र अभियानलाई प्रशासनमा दर्ता गराएर आउने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्न लगाइने उनीहरूको भनाइ छ।
Shares

प्रतिक्रिया