राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेतामा ज्ञानेन्द्रबहादुर शाही र प्रमुख सचेतकमा खुस्बु ओलीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले दुवैलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थितिमा बसेको बैठकले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन युवा अनुहारलाई अघि सारेको हो। यसअघि पार्टीको प्रवक्ताको भूमिकामा रहेका शाही जुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित एक्लो सांसद हुन् भने ओली समानुपातिकतर्फबाट सांसद बनेकी हुन्।
पछिल्लो निर्वाचनमा राप्रपाको नतिजा मिश्रित रह्यो। प्रत्यक्षतर्फ जुम्लाबाट शाहीले शानदार जित निकाल्दा अन्य क्षेत्रमा भने पार्टीले पराजय व्यहोर्नुपरेको थियो। समानुपातिकतर्फ ४ सिट ल्याएको राप्रपासँग प्रतिनिधिसभामा कुल ५ सांसद छन्।
बैठकपछि प्रमुख सचेतक सचेतक खुस्बु ओलीले भनिन्, 'पार्टीले विश्वास गरेर दिएको यो जिम्मेवारीलाई हामी संसदमा जनताका मुद्धाहरू उठाउन प्रयोग गर्नेछौँ। संसदभित्र हाम्रो उपस्थितिलाई थप धारिलो र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ।'
२०७९ को निर्वाचनमा १४ सिटसहित शक्तिशाली बनेको राप्रपाले २०८२ को निर्वाचनमा भने ठूलो क्षति व्यहोरेको छ। प्रत्यक्षतर्फ पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ पराजित हुँदा र पुराना हस्तीहरूले साख जोगाउन नसक्दा राप्रपा अहिले ५ सिटमा खुम्चिएको छ।
अध्यक्ष लिङ्देन आफैँ संसदबाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीले आक्रामक छवि भएका शाहीलाई दलको नेता बनाउने रणनीति लिएको हो। भ्रष्टाचार विरोधी अभियान र सामाजिक सञ्जालमा बलियो उपस्थिति भएका शाहीले संसदमा सरकारलाई कडा प्रश्न गर्न सक्ने पार्टीको विश्वास छ।
यसअघि २०७९ को संसदमा पनि शाहीले संसदको शून्य र विशेष समयमा राप्रपाको पक्षबाट कडा मन्तव्य राखेर चर्चा कमाएका थिए। अब दलको नेताकै रूपमा उनले संसदमा राप्रपाको ५ सदस्यीय टोलीको नेतृत्व गर्नेछन्।
नवनिर्वाचित प्रमुख सचेतक ओलीका अनुसार बैठकले अब बन्ने नयाँ सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे भने तत्काल कुनै निर्णय गरेको छैन। राप्रपाले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने संकेत दिएको छ।
Shares

प्रतिक्रिया