अर्थनीति


पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ३.४ प्रतिशतले वृद्धि

पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ३.४ प्रतिशतले वृद्धि

नेपालखबर
पुस २३, २०८१ मंगलबार २२:१९, काठमाडौँ

चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशतले कुल गार्हस्थ्य उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ प्रथम त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विश्लेषण प्रतिवेदनमा यो अनुमान गरिएको छ। 

प्रतिवेदनका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष ०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।

प्रतिवेदनअनुसार, यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादन, विद्युत उत्पादन तथा वितरण, पर्यटन आगमनसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्। यसका अतिरिक्त यातायात, स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो।

तर, यो वृद्धि उत्साहजनक नभएर सामान्य रहेको पनि केन्द्रीय तथ्यांक कार्यालयले स्पष्ट पारेको छ। गएको बर्खाको अन्त्यतिर बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको कार्यालयको स्पष्टोक्ति छ। 

त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा यसै वर्षको पहिलो त्रैमासिकको तुलनामा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान पनि कार्यालयले सार्वजनिक गरेको छ। गत आ.व.को चौथो त्रैमासिकको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको हो। यद्यपि, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।

चालु आ.व. २०८१/८२ को  प्रथम त्रैमासिक र अघिल्लो आ.व. २०८०/८१ को प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ। जसमध्ये विद्युत तथा ग्याससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२१.४%) रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ। यी क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ।

त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ। प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

अर्कोतर्फ, चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले संकुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ।

धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे बालीहरु र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ। समयमा मलको उपलव्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो। यद्यपि, वर्षायामको बाढी र पहिरोले पुर्‍याएको क्षतिका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन सकेन। 

अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिकमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ। कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशाउन्मुख भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २.३ प्रतिशतले धनात्मक रहन गएको छ। गत आ.व.को प्रथम त्रैमासिकको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण यो क्षेत्रको वृद्धि सुधारोन्मुख रहन गएको प्रारम्भिक अनुमान छ। यस त्रैमासिमा शिक्षा (०.४%), स्वास्थ्य (४.१%), घरजग्गा कारोबार (३.१%) लगायतका सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको छ।

नेपालको आर्थिक वृद्धिदर विगतमा कहिले बढ्ने, कहिले घट्ने गरेको भए तापनि आर्थिक वर्ष २०७९/८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिएको कार्यालयको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad