ब्लग


जसलाई अक्सिजनभन्दा खाना खाँचो छ

जसलाई अक्सिजनभन्दा खाना खाँचो छ

सुष्मा न्यौपाने
जेठ १३, २०७८ बिहिबार १०:५३,

घातक कोरोना भाइरसको महामारीले गत वर्षदेखि विश्व मानव समुदायलाई आक्रान्त बनाइरहेको छ। लाखौं मानिस संक्रमित भएका छन्। हजारौं संक्रमितको मृत्यु भएको छ। यसबाट बच्न र बचाउन पटकपटक लकडाउन, निषेधज्ञा भइरहेका छन्। जसले गर्दा भोक र गरिबीले पनि धेरै मानिसले ज्यान गुमाइरहेका छन्। विभिन्न देश आर्थिक संकटतर्फ धकेलिएका छन्। नियमित कामकाजमा समेत समस्या उत्पन्न भएको छ।

लागेको थियो– कोरोना माहामारीबाट मुक्ति पाइयो। तर कोरोनाले दोस्रो रूप लिएर आयो। यसपटक म आफैं पनि संक्रमित भएँ। मेरा बुबा र दिदीसमेत संक्रमणमा पर्नुभयो। यसले नराम्रोसँग गलाउने रहेछ। आफूलाई परेपछि मात्र थाहा हुनेरहेछ– कोरोना कति घातक हुँदोरहेछ। झण्डै २ हप्ता एकान्तवाास बसें। अझै पूरै स्वस्थ हुन सकिएको छैन। मानसिक रूपमा पनि अत्यन्तै कमजोर बनाउने रहेछ।

जब कोरोनाले छाड्दै गयो, तब मनले धेरै मान्छे सम्झन थाल्यो। ओहो ! ती मजदुर, जसले काम पाएको दिन मात्रै दुईछाक जुटाउन सक्छन्। ती गरिब, भूमिहीन, जसले ज्याला/मजदुरी गर्न पाए मात्र पेट भर्न सक्छन्। विस्थापित, जो टहरामा बस्छन्, उसै त जीविकोपार्जन कठिन थियो, अहिले झन् उनीहरूको अवस्था कस्तो होला?

उता नेताहरू सत्ता टिकाउने र गिराउने खेलमा मस्त छन्। मानौं, देशमा केही भइरहेकै छैन। यस्तो माहामारीका बेला नेताहरूले जे गरिरहेका छन्, त्यो पक्कै सही छैन।

अघिल्लो वर्ष भएको लकडाउनमा खाद्यान्न व्यवस्थापन तथा वितरण असाध्यै चर्चामा थियो। लकडाउन हुनेबित्तिकै जनता भोकै पर्छन् भनेर सबैले राहत वितरणमा ध्यान दिएका थिए। तर यसपटक लकडाउन (निषेधाज्ञा) एकैपटक देशभरि गरिएन। संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासनलाई दिइयो। एकपछि अर्काे गर्दै अहिले लगभग देशव्यापी रूपमै निषेधाज्ञा जारी भइसकेको छ।

यो लेख तयार पार्दासम्म सरकारी तथ्यांकअनुसार कोरोनाले ५ हजारभन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ। कति मान्छेले कोरोनाकै कारण ज्यान गुमाएका छन्, तर तिनको चेकजाँच भएन, तथ्यांकमा आएन। अहिले हजारौं नागरिक अस्पतालमा मृत्युसँग जुधिरहेका छन्। धेरै जनाको परीक्षण हुनै बाँकी छ। कोरोनाले अझै कति समय आक्रान्त पार्ने हो? कतिको ज्यान लिने हो, अनुमान गर्न गाह्रो छ।

विज्ञ, सामाजिक अभियन्ता, जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायत धेरैले आआफ्ना स्थानबाट सक्दो सहयोग गरिरहेका छन्। सरकारलाई सुझाव दिइरहेका छन्। यो अत्यन्तै सकारात्मक पक्ष हो। विशेषगरी स्वास्थ्यकर्मी त भगवानकै रूपमा खटिरहेका छन्। आफ्नो जीवनै समर्पण गरेर संक्रमितको उपचार गरिरहेका छन्। यो प्रशंसनीय कार्य हो।

अहिले सबैको चासो र चिन्ता कोरोनाविरुद्ध भ्याक्सिन (खोप) र अक्सिजनमा केन्द्रित छ। मनिसको ज्यान बचाउन अति आवश्यक यी सामग्री जुटाउन सरकारले विशेष पहल गर्न आवश्यक छ।

तर अक्सिजनसँगै खाना पनि त अति आवश्यक छ, मानिस बाँच्नका लागि। भोको पेटमा कति दिन बाँच्न सकिन्छ र? सोच्दै थिएँ। मेरा मित्र रसुवाली कविले फेसबुकमा एउटा समाचार सेयर गरे, ‘जब सूर्य गुरुले दुई रात भोकै बसेका मजदुरको उद्धार गरे।’ खोलेर पढें। आँखा रसाए। भक्तपुरमा बसेर मजदुरी गरी आफू र आफ्नो परिवारको भेट भर्ने गरेका राम परियारको मजदुरी लकडाउनले खोसिएछ। दुई दिनदेखि ससाना बच्चासहित उनको परिवार भोकै, कहीं कतैबाट सहयोग नपाएको। केही खाद्यान्न पाउने आश्वासनपछि उनी सूर्यविनायकबाट स्वयम्भूसम्म पैदल आइपुगेछन्। केही दिनलाई पुग्ने खाद्यान्न पाएछन्। रसुवाली कवि, सूर्य बज्रयाना, योगेश बराललगायतको सहयोगमा रामको परिवारले केही छाक पुग्ने खाद्यान्न त पायो। तर यस्ता कैयौ रामका परिवार यस्तै विवशतामा बाचिँरहेका होलान!

सरकारले घरबाट बाहिर ननिस्कनु, बारम्बार साबुन–पानीले हात धुनु, मास्क लगाउनु, सेनिटाइजर प्रयोग गर्नु भनेर सन्देश प्रवाह गर्दै गर्दा बेवारिसे भई सडकमा बसेकाहरू कहाँ जालान्? भर्खरै जन्मेका बच्चालाई दूध खुवाउनसमेत नसक्ने सुत्केरीले २ छाक खान नपाएको अवस्थामा मास्क, सेनिटाइजर र साबुन–पानी कहाँ पाउलिन्?

राम परियारको कथा पढ्दै गर्दा आँखामा थुप्रै मान्छेका अनुहार र कथा नाच्न थाले। अघिल्लो लकडाउन खुलेको केही दिनपछि भेटिएकी रसुवाकी बिरामी सीताले बिरामी बाबु, सानो छोरा अनि आफ्नो पेट पाल्न एक गेडो चामल नभएको र सधैं उधारो नपाएकाले बिरामी हुँदाहुँदै घिस्रेर मजदुरी गरेर दुई छाक टार्नुपरेको कथा सम्झें। कुनै संस्थाले दिएको कुखुरालाई खुवाउने दाना नहुँदा त्यही चल्ला बेचेर ५ किलो चामल किनेकी उनले अहिले के गरिन् होला?

रसुवाकै अर्को गाउँ जहाँका लगभग सबै परिवार भूमिहीन छन्। साग रोप्ने ठाउँसमेत छैन। धेरै जनासँग रोजगारी/व्यवसाय छैन। ज्याला मजदुरी गरेर पेट पाल्छन्। तर निषेधाज्ञाका कारण काम नपाउँदा उनीहरू यतिबेला के खाँदै होलान्?

पवित्रा नेपालीको परिवारमा ४ जना छन्। एक टुक्रो जग्गा छैन। कहिलेकाहीं पाउने मौसमी मेलापातको आम्दानीले परिवार पाल्न नसकेपछि वित्तीय संस्थाको ऋणको दलदलमा फसेर अत्यन्तै गाह्रो अवस्थामा पुगिन्। गाउँमा बस्नै नसक्ने अवस्था आएपछि काठमाडौं आएर चिया पसल गरेकी उनको हालत कोरोना महमारीका कारण अघिल्लो वर्षदेखि बेहाल छ। ऋण तिर्न त टाढाको कुरा, दुई छाक टार्नसमेत गाह्रो भइरहेको छ।

२०७२ को भूकम्पले विस्थापित भएर टहरामा बसेकाहरूको जीविकाको स्रोत नै ज्याला/मजदुरी थियो। तीमध्ये केहीले त व्यवस्थापन गरे होलान्। तर बालबच्चा, वृद्ध, अपांग, वैकल्पिक आम्दनीका स्रोत नभएकाहरू सानो जस्ताको टहरामुनि कोचिएर भोको पेटमा कसरी निदाएका होलान्!

समाजमा सबै मानिसको अवस्था एउटै छैन। मध्यम वर्ग र धनीहरूलाई अहिले अस्पताल, अक्सिजन, भ्याक्सिन, मास्क र सेनिटाइजरको बढी महत्त्व र आवश्यकता छ। तर दुईछाक पनि जुटाउन नसक्ने मजदुरीको भरमा बाँचिरहेका अनि कसैका घरमा भाडामा बसेकाहरूको जिन्दगी अक्सिजन नभएर होइन, खानाको अभावमा बाँच्न कठिन छ। यसैले वडा तहदेखि सिंहदरबारसम्मका शासकले भुइँतहका मान्छेको अवस्था, समस्या र आवश्यकता पहिचान गर्नुपर्छ। यस्तो कठिन परिस्थितिमा नागरिकको गाँस, बास, कपास र उपचारको व्यवस्था गर्नु राज्यको दायित्त्व हो। विभिन्न बहाना गरेर पन्छिन मिल्दैन।

हामी नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गरौं। सकेको सहयोग गरौं। विशेषगरी राज्यका तर्फबाट खाद्यान्न र उपचार अभावमा मर्नुपर्ने स्थिति रोक्न पहल गरौं। यो माहामारीका बेला विकासे बजेट रोकौं। आवश्यकता पर्दा सरकारी कोषबाट दिइने तलब, भत्ता केही समय रोकौं। त्यो रकम राज्यको कोषमा जम्मा गरौं। आफैं काम गरेर दुईछाक टार्ने अवस्था नहुँदासम्म स्थानीय सरकारमार्फत खाद्यान्न र अत्यावश्यक चिज उपलब्ध गराऔं। गाउँघरमा किसानलाई खेतीपाती गर्ने वातावरण बनाऔं। सक्नेसम्म मल/बीउमा अनुदान व्यवस्था गराऔं। भौतिक विकास गर्ने र चर्चित बन्ने अवसर थुप्रै आउछन्, त्यो पछि गरौंला।

(विज्ञ सदस्य, भूमिसम्बन्धी समस्या समाधान आयोग, रसुवा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad