विश्वविद्यालयमा पढ्दै गर्दा प्लेग, हैजा, स्पेनिस फ्लुजस्ता महामारी, प्रथम तथा द्वितीय विश्वयुद्ध, कोरियाली युद्ध, भियतनाम युद्ध, भारतीय स्वतन्त्रता संग्राम अनि अफ्रिका महादेशमा उपनिवेशवादविरुद्ध चलेको लहर आदिबारे पढ्थ्यौं। ती भयानक घटनाहरुबारे पढ्दा एकैसाथ भय, आक्रोश, पीडाको अनुभूति हुन्थ्यो। ती घटनाका कारण र त्यसबाट परेका सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक प्रभावको व्याख्या पढ्दा त्यो बेलाका मानिसले भोग्नुपरेका पीडा र संघर्षबारे अझ जान्ने कौतुहल जागृत हुन्थ्यो। इतिहासका किताबमा यस्ता घटनाहरुले आम मानिसका जनजीवनमा पारेका प्रभाव प्रायः एकै किसिमका हुन्थे। जस्तै, प्रथम विश्वयुद्धपछि सम्पूर्ण विश्व चरम आर्थिक मन्दी, एक्लोपना, मानसिक आघात एवं सामाजिक–सांस्कृतिक मूल्यमान्यताप्रति व्यापक वितृष्णाजस्ता अवस्थाबाट गुज्रियो भनेर विश्लेषण गरिएको हुन्थ्यो।
इतिहासमा व्याख्या गरिएझैं त्यस बेलाको जनजीवन के साँच्चिकै कहालीलाग्दो थियो अथवा घटनालाई त्यसरी प्रस्तुत गरिएको थियो? के ती घटनाहरूबाट सबै समाज र व्यक्ति उत्तिकै प्रभावित भए? सर्वसाधारणका भोगाइ एकैनासका थिए वा समाज, भूगोल तथा संस्कृतिअनुसार फरकफरक थिए? अनि त्यसबेलाका मानिसले आफू बाँचेको अवस्थालाई धिक्कारिरहे वा तिनै अनुभवहरु बटुलेर नयाँ जीवन पद्धतिको सुरुवात गरे? ती कुरा पढ्दा यस्ता प्रश्नहरु पैदा हुन्थे। यी प्रश्नहरुको सहज उत्तर थिएन किनभने आफ्नो जीवनकालमा विश्वव्यापी प्रभाव पार्न सक्ने घटना मैले भोगेकै थिइनँ। २०२० ले भने त्यस्तै घटनासँग साक्षात्कार मात्रै गराएन, त्यस बेलाका जिज्ञासाहरू एवं कौतुहललाई पुनः जगाइदियो।
सन् २०२० मा घटेका धेरैजसो घटनाहरुले आम मानिसको जनजीवनमा केही न केही प्रभाव पारे। त्यस्तै कोभिड–१९ महामारी ले गर्दा २०२० यस्तो वर्ष बन्यो जसले पुरै विश्वलाई हल गर्नका लागि एउटै मुद्दा, बहसका लागि एउटै विषय र समाधानका लागि एउटै समस्या दियो।
यसबीच यो महामारीले मलाई अनुभूत गराएको अर्को कुरा के हो भने यस्ता संकटले सबै क्षेत्र, समुदाय र संस्कृतिका मानिसलाई एउटै ढंगले प्रभावित गर्दैनन् र प्रतिकूल अवस्थामा पनि आम मानिसहरू सामान्य जीवनयापन गर्न सक्षम हुने रहेछन्।
सन् २०२० लाई इतिहासमा कसरी लेखिएला, अनि आउने पुस्ताले त्यो इतिहासलाई कसरी बुझ्ने वा बुझाउने कोसिस गर्ला भन्ने सवालमा प्रवेश गर्नुअघि वर्षभरीका केही महत्वपूर्ण घटनाबारे चर्चा गर्न चाहन्छु।
अस्ट्रेलियाको आगो
सन् २०२० को सुरुवात नै अस्ट्रेलियामा केही महिना अघिदेखि लागिरहेको डढेलोबाट भयो। जसमा ४७ मिलियन एकडभन्दा बढी जंगल नष्ट भयो। हजारौं मानिस विस्थापित भए र ३४ जनाको मृत्यु भयो। डब्लुडब्लुएफको एक रिपोर्टअनुसार आगोमा परेर झन्डै तीन अर्ब जनावर मरेको वा स्थानान्तर भएको र एक सयभन्दा बढी प्रजातिलाई बचाउन आकस्मिक सहयोग आवश्यक परेको थियो। उक्त आगो पूर्णरूपमा नियन्त्रणमा लिन करिब सात महिना लागेको थियो। आगो नियन्त्रण भएसँगै धुँवाले स्वास्थ्यमा पार्ने तत्कालीन प्रभाव त कम भयो तर त्यसको वातावरणीय प्रभाव भावी पुस्ताले समेत भोग्नुपर्ने छ।
ब्ल्याक लाइभ्ज म्याटर
मे २०२० मा अमेरिकामा काला जातिका व्यक्ति जर्ज फ्लोइडलाई पुलिसले हिरासतमा लिने क्रममा मारेको घटनाबाट फेरि एकपटक रंगभेदविरुद्ध आन्दोलन सुरु भयो। ‘ब्ल्याक लाइभ्ज म्याटर’ केवल अमेरिकी समाजमा अझै पनि अस्तित्वमा रहेको रंगभेदमा मात्र सीमित रहेन। बरु यसले विश्वका विभिन्न समाजमा विद्यमान विभेद का अन्य स्वरूपहरूका विरुद्ध पनि व्यापक जनमत निर्माण गर्यो। यस घटनापछि अमेरिकाको सडकमा तोडफोड, लुटपाट, आन्दोलनकारी र प्रहरीबीचको झडपका दृश्य, जसको कल्पना कुनै पनि अमेरिकीले गरेको थिएन होला।
बेरुतमा बिस्फोट
गत अगस्तमा लेबनानको राजधानी बेरुतमा भएको विष्फोट कुनै सिनेमाको दृश्यजस्तै थियो। जसले १५ अब अमेरिकी डलर बराबरको सम्पत्ति नष्ट गरेको थियो, लगभग तीन लाख मानिसहरूलाई घरबारविहीन बनाएको थियो र २०४ जनाको ज्यान लिएको थियो। सहरको मुख्य बन्दरगाहमा एमोनियम नाइट्रेट जस्तो विष्फोटक पदार्थ बर्षौँसम्म रहनु र यसको सुरक्षित व्यवस्थापन नहुनुले यो दुर्घटना निम्तएको थियो।
क्यालिफोर्नियाको डढेलो
त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा अगस्ट २०२० मा लागेको आगो आधुनिक युगमा क्यालिफोर्नियाको सबैभन्दा भीषण डढेलो थियो। जसमा ४२ लाख एकड जमिन जलेर नष्ट भयो र दुई अर्ब अमेरिकी डलरको क्षति भयो।
अमेरिकी राष्ट्रपतीय निर्वाचन
सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचनका कारण पनि विशेष रह्यो। उक्त निर्वाचनले कमला ह्यारिसलाई अमेरिकाको पहिलो महिला उपराष्ट्रपति मात्र नभएर पहिलो अफ्रिकन अमेरिकन तथा पहिलो एसियन अमेरिकन मूलकी महिलाको रूपमा निर्वाचित गर्यो। यो अमेरिकाका लागि नयाँ सुरुवात बन्न पुगेको छ। त्यस्तै अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजापश्चात राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आरोप र चालेका कदमहरू अमेरिकी इतिहासमा एउटा नौलो घटना र शासकको लज्जाहीनताको पराकाष्ठा बने। त्यतिमात्र नभई राष्ट्रपति निर्वाचनको विजेता प्रमाणित गर्न बुधबार छलफल भइरहँदा अमेरिकी संसदमै ट्रम्पका समर्थकहरुले गरेको तोडफोडमा परी पाँच जनाको ज्यान गएको छ। यो घटना अमेरिकी इतिहासमै एउटा कालो दिनको रुपमा रहनेछ।
अन्य घटना
बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्कलको राजपाठबाट अलग हुने निर्णय, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको महाअभियोग, बेलायत युरोपियन यूनियनबाट अलग हुनु, हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनप्रति चीनले अपनाएको अनुदारवादी नीति, भारत र चीनबीच लद्दाखमा भएको सैन्य मुठभेड, अर्मेनिया र अजरबैजानबीचको युद्ध आदिलाई सन् २०२० मा घटेका अन्य केही ठूला घटनाका रूपमा लिन सकिन्छ।
कोभिड–१९ महामारी
सन् २०२० मा माथि उल्लिखित घटनाहरुलाई छायामा पार्ने प्रमुख घटना कोभिड–१९ महामारी बन्यो।
सन् २०१९ को नोभेम्वरमा चीनको वुहान सहरमा नयाँ प्रकारको भाइरस फैलिन सुरु भयो। त्यसमा विश्वको ध्यान आकर्षित हुन केही समय लाग्यो। वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लूएचओ) ले जनवरी ९ मा उक्त भाइरस नोबेल कोरोना भाइरस भएको पहिचान गर्यो। फेब्रुवरी ११ मा यो भाइरसबाट हुने संक्रमणलाई कोभिड–१९ भनी नामकरण गर्यो तथा मार्च ११ मा यसलाई विश्वव्यापी महामारी भनियो।
चीनमा भाइरसको संक्रमण र लकडाउनका समाचार केहीअघि नै सुने तापनि व्यक्तिगत रूपमा मलाई त्यतिबेला झट्का लाग्यो जति बेला इटालीमा एकैचोटी छ सय जनामा यो भाइरसको संक्रमण देखिएको समाचार आयो। त्यसपछि बिस्तारै यसले संसारभरि कब्जा जमायो। कोरोना देश, सहर, टोल हुँदै घरघरमा भित्रियो र विश्वको मानचित्र राता धब्बाहरूले भरियो। इटालीमा लासमाथि लास थुपारिएका दृश्यहरू विश्वभर भयको सञ्चार गर्यो। तैपनि जनतालाई काबुमा राख्न प्रशासनलाई हम्मेहम्मे र्पयो। अन्ततः जनताले लकडाउनलाई स्वीकार गरेपछि इटलीले सास फेर्न सक्यो।
सो भाइरस अन्य युरोपेली मुलुकहरू, क्यानाडा, अमेरिका, ब्राजिल, जापान, दक्षिण कोरिया लगायत विश्वका कुना–कुनासम्म फैलियो। सुरुमा चीनले वुहानमा लकडाउन लगाउँदा गरेको कडाइलाई खिसी गर्न पछि नपरेका सरकार र आम सञ्चारगृह कालान्तारमा चीन वा दक्षिण कोरियाकै मोडेल अनुशरण गर्दै आफ्ना नागरिकलाई तिनै देशका नागरिकहरू जस्तै अनुशासित हुन अपिल गर्न बाध्य भए। एकातर्फ जुन देशमा सरकार र जनताहरूले एक अर्कालाई बुझे, त्यहाँ भाइरसको प्रकोपलाई कम गर्न सफल भए भने अर्कोतर्फ कतिपय देशमा सरकार प्रमुखकै आफ्नै राजनीतिक दाउपेच र स्वार्थ हाबी हुँदा भाइरस नियन्त्रण बाहिर पुग्यो। यसका ज्वलन्त उदाहरण अमेरिका, ब्राजिलजस्ता मुलुकहरू बने। अमेरिकामा यही दाउपेचले गर्दा भाइरसको आतंक अझै सुस्त हुन सकेको छैन। हाल विश्वका करिब ८ करोड ५० लाख मानिस संक्रमित तथा लगभग १८ लाख ४५ हजार मानिसहरूको मृत्यु भइसकेको छ भने अमेरिकामा मात्र मृत्यु हुनेको संख्या झन्डै ३ लाख ५८ हजार पुगेको छ।
विश्वभर भाइरसको प्रकोप बढेपछि संसारभर केही समयका लागि आवातजावात ठप्प भयो। भाइरसको असर हरेक क्षेत्रमा र्पयो। विश्वको अर्थतन्त्र धराशायी भयो, सामाजिक गतिविधि सुस्ताए, खेलकुद र मनोरञ्जनका क्षेत्र अलपत्र परे (जापानमा हुने समर ओलम्पिक स्थगित भयो), मानिसको मनोविज्ञानमा नदेखिँदो असर र्पयो, अनि चिकित्सा क्षेत्र अत्तालियो। तर पनि चिकित्सा क्षेत्रकै धैर्य र अथक मिहिनेतले संसारलाई आजसम्म जोगाएको छ। यो क्षेत्र सन् २०२० मा सही अर्थमा धन्यवादको पात्र बन्यो।
सन् २०२० मा मास्क प्रमुख जीवन रक्षक बन्यो। सामाजिक अथवा भौतिक दुरी भन्ने पदावली व्यापक प्रयोगमा आयो। ट्वाइलेट पेपरको लागि मानिसहरूको कुटाकुट भएका दृश्यहरू टेलिभिजनका पर्दामा देखिए। मानिसहरूले हात बढी धुन थालेकाले अन्य सरुवा रोगको संक्रमण कम भएर गयो। मानिसहरू घरघरै बस्नाले पार्कहरु एवं पदमार्गहरूमा पशुपंक्षी खुलेर रमाउन पाए। जुम, गुगलमिट, अनलाइन क्लास, भर्चुअल सेलिब्रेसन, वर्क फ्रम होम, लकडाउन जस्ता शब्दहरू २०२० भरि जनजिब्रोमा झुण्डिरहे। कार्यालय तथा स्कुलहरु खाली खाली भए पनि हाम्रा घर र कोठा भरि भराउ भए। परिवारको महत्त्व दर्शाउन पनि २०२० को योगदान रह्यो। त्यस्तै सामाजिक संजाल अन्य वर्षभन्दा बढी गतिशील रहे। फेसबुक र इन्टाग्रामको बर्चस्वलाई पछाडि पार्दै टिकटक अग्रपङ्क्तिमा आयो तथा समसामयिक समस्या र घटनालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने बलियो माध्यम बन्यो। सामाजिक संजालले नै वर्षभरी संसार रोकिँदा पनि आत्मालाई चलायमान बनाइरहे।
सन् २०२० अब इतिहास बन्ने क्रममा छ। म फेरि सोच्छु– अबको २०–२५ वा ५० वर्षपछि हामी बाँचेको यो समयलाई कसरी पढिएला? जसले कोरोना भोगेर आईसीयूमा पुगेर आफ्नो ज्यान जोगाउन सके, अथवा जसले आफ्ना परिवार र आफन्त सदा–सदाका लागि गुमाए के ती मानिसहरुका पीडा र भोगाइहरू इतिहासमा समावेश होलान्? भए पनि कति सही किसिमबाट लेखिएला? आफ्नै घरभित्र जेल जसरी थुनिएर बस्नुपरेका बालबालिकाका कथा, अस्ट्रेलियामा आगाको लप्कामा जलेका कोअलाका कथा, अझै पनि विभिन्न स्वरूपमा विद्यमान रंगभेद एवं नश्लभेदका कथा, अनि राजनीतिक जोड घटाउमा शासकहरु रुमलिँदाका कथाहरूलाई इतिहासले कसरी लेख्ला? सैनिक मुठभेडमा सिमानामा मारिएका सिपाहीका कथा, अनि युद्धमा पराजित भई आफू जन्मिएर हुर्केको स्थान छोड्दै गर्दा आफ्नै घरमा आगो झोसेर बालबच्चा बोकी अन्योल भविष्यतिर हिड्न बाध्य अर्मेनियाका मानिसहरूका कारुणिक कथा इतिहासमा कसरी अटाउलान्?
मेरो व्यक्तिगत अनुभवमा समग्र मानव जातिलाई नै प्रभाव पार्ने ऐतिहासिक घटनाको व्याख्या र विश्लेषण गर्ने एउटा मात्र दृष्टिकोण काफी हुँदैन। यस्ता घटनाले कुनै विशेष भौगोलिक क्षेत्र, समाज र संस्कृतिमा तुलनात्मक रूपमा कम वा बढी असर पुर्याएको हुन्छ र त्यही भोगाइबाट उक्त क्षेत्र वा समाजले कुनै खास घटनालाई भिन्न रूपले सम्झेको अनि विश्लेषण गरेको हुन्छ।
प्रथम तथा दोश्रो विश्वयुद्ध, यहुदीहरूको नरसंहार, भियतनाम युद्ध, भारतीय स्वतन्त्रता संग्राम र त्यससँगै जेलिएको धार्मिक असहिष्णुताले विष्फोटक रूप लिँदा भड्किएको साम्प्रदायिक हिंसा, अफ्रिका महादेशमा आएको स्वतन्त्रताको लहर र रंगभेद एवं साम्राज्यवादका विरुद्ध तयार भएको विश्व जनमत तथा यी घटनाहरूले निम्त्याएको चरम आर्थिक मन्दी एवं सामाजिक सांस्कृतिक विशृंखलता बीसौं शताब्दीमा घटेका तर आजसम्म हामीलाई प्रभाव पारिरहेका केही महत्त्वपुर्ण घटनाहरू हुन्। यी घटनालाई हरेक नयाँ पिढीले फरक ढंगले व्याख्या, विश्लेषण, अध्ययन एवं अनुसन्धान गरिरहेका छन्। कुनै खास इतिहासका ग्रन्थले यी घटनाहरूको बृहत् विवेचना र विश्लेषण गर्न सकेको भेटिँदैन।
गएको वर्ष घटित घटनाहरुको प्रभाव सन् २०२१ मा मात्र सीमित रहने छैनन। यी घटनाहरू पनि दोहोर्याएर पढिने छन्। यिनका बारेमा थुप्रै कुराहरू, धेरै पटक अनि भिन्न शैली र दृष्टिकोणमा भनिने वा लेखिने छन्। कोभिड–१९ महामारीले हाम्रो समग्र जीवनशैलीमा लगाएको अंकुश, निम्त्याएको मनोदशा, र पारेको आर्थिक, सामाजिक अनि सांस्कृतिक प्रभाव यति गाहिरो छ कि कुनै एउटा खास दृष्टिकोणबाट इतिहासको किताबमा सम्पूर्ण रूपमा व्याख्या गर्न गाह्रो पर्ला।
त्यस्तै, विश्वव्यापी महामारी वा यस्तै अन्य कुनै ठूला घटनाको असर पनि सबै मानिसहरूमा एकसमान पर्ने रहेनछ। एउटै समाजभित्र पनि केही मानिसहरूको जीवन अत्यन्त कस्टकर बन्दा जनसंख्याको अर्को हिस्सा खासै प्रभावित हुँदो रहेनछ। उदाहरणको लागि अमेरिकामा गरिएको एउटा अनुसन्धानले देखाए अनुसार कोभिड–१९ को संक्रमणदर गोरा जातिका मानिसमा भन्दा अफ्रिकन–अमेरिकन मूलका मानिसहरूमा उच्च रह्यो। त्यस्तै अर्को एउटा अध्ययनले देखाएअनुसार जटिल संक्रमणले मृत्यु हुने महिलाको तुलनामा झन्डै ४० प्रतिशत बढी पुरुषहरू छन्। यो घटनाको पनि कुनै समाज वा भौगोलिक क्षेत्र कसरी भाइरससंग जुध्यो, यसको व्यवस्थापन कसरी गर्यो, अथवा मानिसहरूमा यसको कस्तो असर पर्यो भन्ने आधारमा भिन्न शैली र दृष्टिकोणबाट अध्ययन तथा विश्लेषण हुन आवश्यक छ।
यहाँनेर मननयोग्य कुरा के हो भने कुनै खास घटनालाई इतिहासले जतिसुकै परिष्कृत र सुझबुझपूर्ण दृष्टिकोणबाट केलाए पनि प्रत्यक्ष रूपले प्रभावित व्यक्ति, परिवार र समाजले महसुस गरेको पीडा तथा त्रासदी चित्रित हुन कठिन छ। जसरी बीसौं शताब्दीका घटनामाथि लेखिएका इतिहासमा प्रत्यक्ष रूपमा प्रभावित मानिसहरूका पीडा अव्यक्त नै रहे, त्यसैगरी यो महामारीका बारेमा लेखिने इतिहास पनि ती भोगाइहरू व्यक्त गर्न सायद असमर्थ हुने छन्। टेलिभिजनका पर्दामा प्रायः देखिने दृश्यमा एकातिर अनुहारभरि मास्कले नील डाम बनाउँदा पनि अहोरात्र बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी, आफन्त गुमाएको खबर फोनमार्फत पाएर पनि अन्तिम संस्कार गर्न नपाएका व्याकुल परिवारजनका पीडा थिए भने अर्कोतिर त्यही महामारी संक्रमणको सामान्य डर, चिन्ता समेत नमानेर सरकारी निकायहरुले जारी गरेका निषेधाज्ञाको उल्लङ्घन गर्न निस्किएको भीड थियो। यसरी एउटै समय र एउटै घटना भए पनि यसको भोगाइ र अनुभव भने व्यक्ति, समाज र सम्प्रदाय तथा राजनैतिक अवस्थाका अधारमा फरक फरक रहे।
सन् २०२० मा नै कोरोनाविरुद्धको खोप निर्माण भएको छ। यससँगै आशा पलाएको छ– सन् २०२१ मा संसार फेरि एक पटक मुस्कुराउने छ। महामारी, रोगव्याधि, युद्ध, नरसंहार जस्ता घटनाहरू आउँदा दिनमा संसारले भोग्नु नपरोस्। नयाँ वर्ष २०२१ सबैको लागि शुभ बनोस्।
Shares

प्रतिक्रिया