साउन १ गतेबाट रिलिज हुने फिल्म ‘गौँथली’को टिकट बुकिङ खुला भएको छ।
प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन्।
देशभरका अधिकांश हलहरूले यो चलचित्रको अग्रिम टिकट बुकिङ खुलाएका छन्। चलचित्रका वितरक करण श्रेष्ठ 'क्रेजी'का अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ। उनले भोलिसम्ममा देशभरका हलहरूबाट ‘गौँथली’ले २०० भन्दा बढी शो पाउने दाबी गरेका छन्।
‘शो खुल्ने क्रममै छ, अहिले नै यति शो भन्न सकिन्न। तर भोलिसम्ममा देशभरबाट २ सय भन्दा बढी शो आउँछ,’ उनले भने।
कपिल रिजाल निर्देशित यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

प्रतिक्रिया