सामान्य अर्थमा ज्ञान, सीप, मूल्य, मान्यता र बानी–व्यवहार आर्जन गर्नु शिक्षा हो। अर्को शब्दमा– कुनै पनि व्यक्तिमा अन्तरनिहीत क्षमता प्रस्फुटन हुनु शिक्षा हो। आ-आफ्ना विशेषताअनुसार व्यक्तिले सिक्ने अर्थात् शिक्षा आर्जन गर्ने तरिका र माध्यम फरक–फरक हुन्छन्।
सोही आधारमा औपचारिक, अनौपचारिक र अरितिक्त गरी शिक्षालाई वर्गीकरण गरेको पाइन्छ। शिक्षा हासिल गर्ने खास तरिका कुन हो, भन्न सकिँदैन। समय, परिस्थिति, उमेर, स्रोत साधन आदिआधारमा सिकाइ शैली र शिक्षा आर्जन प्रक्रिया भिन्न–भिन्न हुन सक्छन् तर त्यसको अभीष्ट मानिस व्यक्तिगत, सामाजिक, समग्र राष्ट्रको आवश्यकता साथै भूमण्डलीय चुनौती सामना गर्न सक्षम बनोस् भन्ने नै हो।
औपचारिक र अनौपचारिक शिक्षा पद्धतिमा पाठ्यक्रमलाई मुख्य औजारका रूपमा लिइएको हुन्छ। बालमनोविज्ञानका आधारमा कुन उमेरका बालबालिकालाई के–के विषयवस्तु कुन–कुन तरिकाले सिकाउनुपर्छ भन्ने कुराको रूपरेखा पाठ्यक्रम हो। अर्को शब्दमा, शिक्षण सिकाइको सालाखाला योजना पाठ्यक्रम हो। पाठ्यक्रमले सबै बालबालिकाको वैयक्तिक विभिन्नताअनुसार सिक्ने र सिकाउने तरिकाको पूर्ण विवरण दिन सक्दैन। बालबालिकाको समीपमा रहेको वातावरण, त्यसबाट उनीहरूले प्राप्त गर्ने अनुभव, साथी–संगत र ऊ स्वयम्को प्रवृत्तिले उसको शिक्षा र व्यक्तित्व विकासमा ठूलो महत्व राख्छ। यसलाई लुप्त पाठ्यक्रम वा अरितिक शिक्षाका रूपमा पनि बुझ्न सकिन्छ।
एक जर्मन किशोरी एन फ्य्राङ्कले १४ जुन १९४२ देखि १ अगस्ट १९४४ सम्म लेखेको एक डायरी (डायरी अफ अ योङ गर्ल) को नेपाली अनुवाद पढेपछि त्यसबाट परिवार, शैक्षिक संस्था र शिक्षा क्षेत्रका सरोकारवालाहरूले सिक्नुपर्ने पाठका विषयमा यहाँ चर्चा गरिएको छ।
युद्धको दीर्घकालीन प्रभाव
सन् १९३९ मा सुरु दोस्रो विश्वयुद्धको अवधिमा यो डायरी लेखिएको हो। एक १३-१४ वर्षीया किशोरीको मानसपटलमा यसले असाध्यै नकारात्मक प्रभाव मात्र पारेको छैन, राष्ट्रियतासमेत गुमाएको अनुभूति गराएको छ। उनका विचारमा मानिस स्वभावैले खराब हुँदैनन् तर परिस्थितिले उसलाई खराब बनाउन सक्छ। युद्ध त कुनै न कुनै दिन सकिन्छ तर त्यसको घाउ र प्रभाव पुस्तौंपुस्ता नमेटिने खाटो बनेर बस्छ। नाजी नश्लबाट यहुदी नश्लप्रति गरिएको व्यभिचारले सारा यहुदीलाई जर्मनविरोधी बनाइदिएको कुरा एन फ्य्राङ्कले एक प्रसंगमा ‘कुनै बेला हामी पनि जर्मन थियौं। सोच्दा पनि कहाली लागेर आउँछ हाम्रो राष्ट्रियता हिटलरले धेरै पहिले खोसिसक्यो’ भन्ने उल्लेख गर्नुले स्पष्ट पारेको छ।
जर्मन र यहुदीहरू एकअर्काका सबैभन्दा ठूला दुश्मनका रूपमा उभ्याउन दोस्रो विश्वयुद्ध र नाजीको यहुदीविरोधी गतिविधि जिम्मेवार छ। यसबाट सिक्नुपर्ने पाठ बालबालिकामा युद्धका चोट पर्न दिनु हुँदैन भन्ने नै हो। साम्प्रदायिक द्वन्द्व उसको जीवनभरका लागि प्रत्युत्पादक हुन्छ। यसले राष्ट्रियतासमेत क्रमशः कमजोर बनाइरहेको हुन्छ। तसर्थ शिक्षालयहरू सबै प्रकारका हिंसा र द्वन्द्वबाट मुक्त हुनुपर्छ। सामाजिक सद्भाव र सहिष्णुता अक्षुण्ण रहनुपर्छ। युद्ध होइन, शान्ति र मेलमिलापमा¸ शान्ति सुरक्षा होइन, शिक्षा र स्वास्थ्यमा बढी लगानी गर्नु आवश्यक छ। त्यसका लागि सारा मानिस विद्रोहका लागि जाग्नुपर्छ। जबसम्म सिंगो मानव जाति ठूलो परिवर्तनबाट गुज्रिँदैन तबसम्म युद्ध बिगुल बजिरहन्छ।
बालबालिकाका वैयक्तिक विशेषताको कदर
कुनै पनि व्यक्तिले आफ्ना सारा भावना त्यसबेला मात्र पोख्न सक्छ, जुनबेला उसले आफ्नो सच्चा साथी भेट्टाउनेछ। सच्चा साथी कुनै पनि उमेरका कुनै पनि नश्ल, नाताका हुन सक्छन्, जसले बालबालिकाको भावना बुझोस्। उसका विचारको कदर गरोस्। जसबाट बालबालिकाले आफूले माया पाएको अनुभूति गर्न पाउनेछ। एन फ्य्राङ्कले मान्छेभन्दा कागजसँग बढी धैर्यता देख्नु¸ आफ्नो सच्चा साथी कोही नभएको र १३ वर्षकै उमेरमा आफूई एक्लो भएको महसुस गर्नुले बालबालिकाहरू आफूले आफूलाई एक सक्षम व्यक्तिक रूपमा हेरिरहेका हुन्छन् भन्ने संकेत गर्छ। हरेक व्यक्तिको आफ्नो योजना हुन्छ, विचार हुन्छ र दृष्टिकोण हुन्छ। ती सबै शब्दमा उतार्न सकिन्छ भन्ने हुँदैन¸ तर हाउभाउ¸ बानी व्यवहार र अभिव्यक्तिले त्यसको छनक पक्कै दिएको हुन्छ। त्यसैले को ठूलो, को सानो, के बालबालिका, के प्रौढ वा वृद्धवृद्धा सबैका विचार धैर्यतापूर्वक सुन्न र त्यसउपर सम्मान गर्न सक्नुपर्छ। उसलाई यथेष्ट माया दिनुपर्छ। उसको भावनाअनुसार उसलाई हिडाउँदै परिस्कृत व्यवहारका लागि प्रशिक्षण दिनुपर्छ। बालबालिकाको पूर्ण विकासका लागि उनीहरूका आआफ्ना विचार र क्षमता सम्मान हुने वैयक्तिक प्रशिक्षण आवश्यक हुन्छ। यस्तो प्रशिक्षण घरपरिवार, शिक्षालय वा उसको समाजबाट हुन सक्छ।
निन्दाले द्वन्द्व निम्त्याउँछ। माया, प्रोत्साहन र ढाडसले वालबालिकालाई कमजोर हुनबाट जोगाउँछ। असन्तुष्टिबाट मुक्त गर्छ। त्यसैले आडभरोसा सर्वाधिक महत्वपूर्ण कुरा हो। व्यक्ति आफ्नो कर्मबाट दृढ बन्छ, दृढताले बाटो पहिल्याउन मद्दत गर्छ र त्यसको परिणाम नतिजा वा उपलब्धि हो भन्ने कुरा भुल्नु हुँदैन। व्यक्तिगत विभिन्नताका आधारमा बालबालिकालाई उपचार गर्न सके उनीहरूलाई निरन्तर कर्ममा जोड्न सकिन्छ।
परिवार बालबालिकाको पहिलो पाठशाला
संसारमा आफ्ना सन्तानलाई पूर्ण सन्तुष्ट पार्न सायदै कोही अभिभावक सफल भएका होलान्! परिवारका सदस्यहरूको क्रियाकलापले बालबालिकाको व्यवहार निर्माणमा ठूलो महत्व राखेको हुन्छ। हरेक बालबालिकाले आफ्नो परिवारबाट धेरै कुरा अपेक्षा गरेका हुन्छन्। उनीहरूले आफ्नो परिवारका सदस्यले आफ्ना बानी व्यवहार सहजै स्वीकार गरिदिउन् भन्ने चाहन्छन्। आलोचनाभन्दा प्रोत्साहन चाहन्छन्। व्यवहार गर्ने तरिकामा विभेद नहोस् भन्ने आकांक्षा राख्छन्।
निन्दाको सिकार हुन नपरोस् भन्ने कामना गरेका हुन्छन्। एन फ्य्राङ्कका व्यवहार स्वीकार गर्ने उनका बाबुका कारण उनी आफ्नो परिवारमा टिक्न सकेको प्रसंग यहाँ उल्लेखनीय छ। एन फ्य्राङ्कले आफ्ना आमाबाबुका विषयमा व्यक्त गरेको वाक्यांश– ‘म त बुबाको साँचो माया पाउन चाहन्छु। उहाँको छोरीका रूपमा मात्रै होइन, स्वयम् एनका रूपमा रहन चाहन्छु। किनभने एक आमा र पतिको जुन चित्र मैले दिमागमा बनाएको छु, मैले आमा भनेर बोलाउने मान्छेमा त्यो चित्रको छाया पनि छैन’, ले छोराछोरीप्रति आमाबाबुको दृष्टिकोण कति फराकिलो हुनुपर्छ भन्ने संकेत गर्छ।
अभिभावकले आफ्ना छोराछोरीलाई सानो, अबुझ, अपूर्ण सम्झनु हुँदैन, खराब पक्षमात्र हेर्नु हुँदैन। खराब पक्षको उठानले व्यक्तिमा निराशा पैदा गर्छ। त्यसैले बालबालिकाकालाई गम्भीरतापूर्वक लिई उसका असल पक्षलाई ढाडस दिँदै अगाडि बढ्न निरन्तर टेवा दिन सके उनीहरूको विकास यथोचित रूपमा हुन सक्छ भन्ने कुरामा आमाबाबु सचेत रहनुपर्छ। आफ्ना छोराछोरीले बोलेका हरेक कुरालाई गम्भीरतापूर्वक लिन र गम्भीर रूपमा भनेका कुरालाई बुवाआमाले बेवास्ता गर्नु हुँदैन। आमाबाबु अनुकरणीय हुनुपर्छ। जुन व्यवहार आफ्ना सन्तानले पछ्याउन सकुन्, सम्मान गरुन्।
बालबालिकाको बानी बदल्ने प्रयास गर्नुभन्दा अनपेक्षित व्यवहारलाई सिर्जनशीलतामा रूपान्तर गर्न कोसिस गर्नुपर्छ।
एन फ्य्राङ्कको असाध्यै बोल्ने बानीलाई उनका गणित शिक्षक केप्टरले गफाडीकै विषयमा पटकपटक निबन्ध लेख्न दिए। त्यस क्रममा उनले दिएको अभिव्यक्तिबाट सन्तुष्ट भई ती शिक्षक एनप्रति सकारात्मक बनेका थिए। यसरी बालबालिकाले आफ्नो जीवनकालमा अनौठा व्यवहार प्रदर्शन गर्न सक्छन्। जसलाई रोक्ने कोसिस गर्नुभन्दा विशेषता सुहाउँदा क्रियाकलापका माध्यमबाट त्यसलाई सिर्जनशीलतामा रूपान्तर गर्न सक्नुपर्छ। शिक्षकले सबै बालबालिकाका व्यवहार राम्ररी बुझेर पाठ्यक्रमका उद्देश्यसँग आवद्ध गरी शिक्षण क्रियाकलाप सञ्चालन गर्नुपर्छ।
व्यक्तिको व्यक्तित्वका २ पाटा हुन्छन्– आन्तरिक र बाह्य। जुन प्रबल हुन्छ, त्यो झट्ट देख्न सकिन्छ वा त्यसले स्थान ग्रहण गरेको हुन्छ। विचार गर्नुपर्ने कुरा त के हो भने बाह्यभन्दा आन्तरिक पक्ष असाध्यै महत्वपूर्ण हुन सक्छ। व्यक्तिका बाह्य र आन्तरिक विशेषता गहिरो अध्ययन गरेर सोहीअनुसार उनीहरूलाई व्यवहार गर्नु आवश्यक छ।
राजनीतिक चेतना प्रशिक्षणबाट मात्र होइन, सामाजिक घटनाक्रमबाट पनि विकास हुन्छ।
बालबालिकाले परिवार, समाज र राष्ट्रमा भइरहेका घटनाक्रमको सूक्ष्म अध्ययनका आधारमा राजनीतिक धारणा निर्माण गरिरहेका हुन्छन्। एन आफ्नो पारिवारिक पृष्ठभूमि, दोस्रो विश्वयुद्धका घटनाक्रम र नाजीहरूले यहुदीमाथि गरेका अत्याचारका आधारमा यहुदी क्लबमा आबद्ध भएको कुरा यहाँ उल्लेखनीय छ। युद्ध अन्त्य र शान्तिको अपेक्षासहित त्यस दिशामा भएका राजनीतिक गतिविधिको जानकारीका लागि उनमा भएको जिज्ञासाले क्रमशः राजनीतिक चेत विकास भएको छ। यसले राजनीतिक रूपमा भएका गलत अभ्यासले बालबालिका तथा युवालाई टाढा धकेलिरहेको हुन्छ भन्ने कुरा एनले आफू आबद्ध क्लबले राम्रो गर्न नसकेकाले उक्त क्लब छाड्न उद्घोष, जर्मन राष्ट्रियता गुमेको अभिव्यक्ति तथा नाजीविरुद्ध उभिनुले स्पष्ट हुन्छ।
स्वअध्ययन पनि शिक्षाको महत्वपूर्ण माध्यम
शिक्षा औपचारिक वा अनौपचारिक पद्धतिबाट मात्र हासिल हुन्छ भन्ने होइन। स्वअध्ययन पनि महत्वपूर्ण माध्यम हुन सक्छ भन्ने कुरा एनले पाठ्यक्रममै आधारित भएर गुप्त भवनमा फ्रेन्च भाषा र सर्टह्यान्ड उत्कृष्ट ढंगले सिक्नुबाट पुष्टि हुन्छ। उमेर र रुचीअनुसार पेसागत सीपमा आधारित उपयुक्त पाठ्यसामग्रीको सहयोगमा स्वअध्ययनबाट शिक्षालाई गति दिन सकिन्छ। वातावरणले बानी निर्माण गर्छ, स्वअध्ययन गर्ने बानी विकास गर्न सकियो भने सीमित स्रोत साधनको जगमा पनि शिक्षासँगै पेसागत र व्यावसायिक सीप विकास गर्न सकिन्छ भन्ने कुरा भुल्नु हुँदैन। स्वअध्यनमा इतिहास प्रकृति¸ आदर्श व्यक्तिका जीवनी¸ व्यक्तित्व र कृतित्व¸ कथा¸ नाटक¸ उपन्यास¸ भाषा साहित्य¸ सामाजिक सांस्कृतिक विषय¸ वैज्ञानिक तथ्य आदि उपयोगी हुन्छन्।
महत्वाकांक्षा पनि गलत होइन
एन भन्छिन्– ‘हावामा महल ठडाउनु पनि उतिसारो गलत होइन। विनम्र बन्नुभन्दा महत्वाकांक्षी बन्नु राम्रो हो। विनम्रता आफैँमा असाध्यै राम्रो कुरा भए पनि कतिपय अवस्थामा यसले व्यक्तिलाई कमजोर बनाउँछ। यसको मतलब लक्ष्य सदैव ठूलो लिनु आवश्यक छ। प्रायः वयस्कले आफैंलाई अब्बल जानकार र अरूभन्दा भिन्न ठान्छन्। आज शिक्षा दिँदा वा ग्रहण गर्दा त्यसले पछिसम्म पार्ने सकारात्मक वा नकारात्मक प्रभाव देख्न सक्नुपर्छ भन्ने यथार्थ केन्द्रबिन्दुमा राखेर उनीहरूको महत्वाकांक्षालाई वास्तविकतामा ढाल्ने कोसिस गर्नु आवश्यक हुन्छ। भविष्यका विषयमा सोच्न र समाज विकासको गतिशिलतासँगै शैक्षिक अभ्यास पनि परिस्कृत र सुधार गर्दै जानुपर्छ भन्ने सन्देश यसबाट ग्रहण गर्न सकिन्छ।
संस्थागत नियममा बाँधिनुपर्छ
हरेक संस्थाको अस्तित्व र विकासका लागि आफ्ना मौलिक नियम र मार्गनिर्देशन हुनुपर्छ। संस्था र त्यसका सदस्य बचाउँदै गतिशील बनाउन निश्चित नियम पालना गर्नुपर्ने हुन्छ। यसलाई आचारसंहिता पनि भन्न सकिन्छ। आचारसंहिता पालना गर्नु संस्था सम्बद्ध पक्षको दायित्व हो। हरेक संघसंस्थाले आफ्ना आचारसंहिता तय गरी कार्यान्वयन गर्न अवश्यक हुन्छ।
अभिभावकबाट बालबालिकाले यौन शिक्षा माग गरेका हुन्छन्। बाह्र-तेह्र वर्षका आफ्ना छोराछोरीलाई सबै कुरा बताउनुको साटो अभिभावकहरू यस विषयमा कुरा गर्न बन्देज गर्छन्। आफ्ना छोराछोरीले यौनिक शिक्षाबारे धेरथोर जानिसकेको अनुमान गर्छन् तर के कति जाने वा जानेका छैनन् भनेर सोध्ने गर्दैनन्। परिपक्वताअनुसार आउँदै गरेको परिवर्तनबाट बालबालिकामा अनेक प्रकारका जिज्ञासा, त्रास तथा चिन्ता आउने गर्छन्। त्यसलाई अभिभावकले गम्भीर रूपमा लिई आफ्ना छोराछोरीलाई सम्झाउनुपर्छ। यसले उनीहरूलाई दुर्घटनाबाट बचाउन र भावी जीवन तयारीका लागि सजग बनाउँछ।
महिला अधिकार
पुरुषले शारीरिक शक्तिका भरमा महिला कज्याएका छन्। स्वतन्त्रता, सम्मान र प्रशंसा, शिक्षा, कामको मूल्यांकनजस्ता विषयमा महिलालाई स्थान दिनुपर्छ भन्ने कुरा एनको डायरीबाट थाहा पाउन सकिन्छ। महिला पति र आफ्ना बालबालिकाका लागि मात्र बाँच्नु हुँदैन। महत्वपूर्ण अन्य चिजमा समर्पित हुनुपर्छ। उनीहरूमा कुनै चिज प्राप्त गर्ने प्यास जाग्नुपर्छ। मानव सृष्टिको अस्तित्वका लागि महिलाले सहनपर्ने प्रश्रव पीडा युद्धको महान् योद्धाको भन्दा कम हुँदैन भन्ने भावसाथ महिलाको महान्¸ कठिन र सुन्दर हिस्सेदारीलाई नस्वीकार्ने पुरुषको निन्दा भएको छ।
संघर्षले मानिसलाई स्वावलम्बी बनाउँछ। नागरिक चेतना, देश, प्रकृति, त्यहाँका मानिस र भाषाप्रति माया¸ देशका लागि जीवन अर्पण, न्यायप्रति अविचलित भावना, सिंगो मानव जातिको हित आदिका लागि हिम्मत र उत्साह आवश्यक हुन्छ। जुन निरन्तर संघर्षबाट प्राप्त हुन्छ। यसले व्यक्तिलाई पराधीन होइन, स्वावलम्बी र उत्पादनशील बनाउन मद्दत गर्छ भन्ने कुरा एनको दैनिकीले पुष्टि गरेको छ। आजको काम आजै गर्नुपर्छ। समयको महत्वबोध गर्नुपर्छ। आलस्य होइन, कामले मात्र सन्तुष्टि दिन्छ भन्ने सन्देश उनको डायरीले दिएको छ।
खुसी हुन आफैंले सिक्नुपर्छ
भविष्य, खुसी, प्रकृति र सृष्टिका हरेक सुन्दर, उत्कृष्ट र शुद्ध चिजिबारे सोच्नुपर्छ। आफैँ दुःखमा सहभागी भएर यसबाट कसरी मुक्त हुन सकिन्छ? प्रकृति, स्वतन्त्रता र व्यक्ति आफैंभित्र केही न केही सुन्दरता हुन्छन्। जसलाई हेर्दा त्यसमा आफू र ईश्वर पाउन सकिन्छ। आफूभित्र र बाहिर विद्यमान सम्पूर्ण सुन्दरताबारे खोज गर्ने खुसी रहने चक्र अनुशरण गर्नुपर्छ। जसले अरूलाई पनि खुसी तुल्याउन सक्छ। खुसी भेट्टाउन मन सफा हुनुपर्छ। जोसँग सहारा र विश्वास छ ऊ कहिल्यै दुःखी हुँदैन भन्ने सन्देश डायरीले दिएको छ।
एक्लोपनबाट मुक्त हुने महत्वपूर्ण साधन प्रेम हो। प्रशंसक त्यस्ता हुनुपर्छ, जसले मुस्कानको होइन, काम र चरित्रको सम्मान गरुन्। यसबाट असल साथी पहिचान गर्न सकिन्छ, जसबाट विश्वास जन्मिन्छ। प्रेमलाई शब्दमा व्याख्या गर्न सकिन्न, बरु कसैलाई बुझ्नु, उसको ख्याल गर्नु¸ उसँग सुखदुःख बाँडनु त्यसको सार तत्व हो। प्रेम अक्सर करुणाबाट सुरु हुन्छ र यी दुई साथसाथै रहन्छन्। सबैलाई माया र प्रेम चाहिन्छ। यो एक असल साथी वा सृष्टिको चक्र धान्ने दुई स्वरूपमा हुन सक्छन्। प्रेमले नै व्यक्तिलाई एक्लोपनाबाट मुक्त गर्न सक्ने हुनाले बालबालिका आफ्ना अभिभावक, साथी, शिक्षकलगायतबाट माया पाउन आतुर हुन्छन्।
अन्तमा
बालबालिका काँचा माटा होइनन्। उनीहरू भोलि सुन्दर फल दिने कलिला बिरुवा हुन्। उनीहरूमा रहेका सम्भावनाहरू विचार गरेर सोहीअनुसार रेखदेख, लालनपालन र शिक्षादिक्षा दिनु आवश्यक हुन्छ। बालबालिकामा उत्पन्न हुने डरले उनीहरूका अगाडि डरलाग्दा प्रतिविम्ब देखापर्ने गर्छन्, जसबाट उनीहरूलाई मुक्त गर्दै असल सोचाइ र चिन्तनका लागि सहयोग गर्नुपर्छ। बालबालिकाको वैयक्तिक विविधताअनुसार आफ्ना लागि ठीक किसिमबाट व्यवहार भएको छ भन्ने महसुस हुने गरी परिवार तथा शिक्षालयले उनीहरूको उपचार गर्नु आवश्यक हुन्छ।
संज्ञानात्मक पक्षमा दक्ष व्यक्ति मात्र समाजको बलियो पात्र हुन सक्छ भन्ने विचार त्यागेर बालबालिकाको विकासका सबै सम्भावनामा विचार पु¥याउनुपर्छ। शान्त चित्तले मानिसलाई शक्तिशाली बनाउँछ र कामले सन्तुष्टि दिन्छ भन्ने कुरा आत्मसात् गरी बालबालिकालाई निरन्तर काममा व्यस्त राख्नुपर्छ। कुनै पनि व्यक्तिप्रति बनाइएको नकारात्मक धारणाले उसका सकारात्मक पक्ष पनि नजरअन्दाज गर्ने हुनाले कुनै बालबालिकाले कमजोरी गरेकै आधारमा त्यस्तो धारणा बनाउनु हुँदैन। भित्री मनमा वृद्धभन्दा युवा बढी एक्ला हुन्छन्। उनीहरूलाई असल दिशा निर्देश तथा परामर्श सेवा आवश्यक पर्छ।
द्वन्द्वको कारण बुझाइमा समस्या हो। अभावले यससलाई अझ बढाउन मद्दत गर्छ। अन्याय र विभेदको चेतना बालबालिकामा पनि पर्याप्त हुन्छ। पारिवारिक द्वन्द्वले बालबिलकामा नराम्रो प्रभाव, चिन्ता पार्छ र बिरामी बनाउँछ। संसार नियाल्ने, स्वतन्त्र हुने, घुमफिर गर्ने तथा रमाइलोमा दिन बिताउने उनीहरूको चाहना सम्बोधन गर्दै स्वतन्त्र विचार राख्ने अवसर दिनुपर्छ।
आफैंले आफूलाई सुधार गर्न आफ्ना पुराना क्रियाकलाप फर्केर हेर्नुपर्छ। स्मृतिको संग्रहालय निर्माण गरी आत्मसमीक्षा गर्न बालबालिकालाई अभ्यस्त बनाउनुपर्छ।
Shares
प्रतिक्रिया