समाज


पप्पु कस्ट्रक्सनको अर्को लापरवाहीः निर्माण सम्झौताको समय सकिँदा ४ प्रतिशतमात्रै काम

पप्पु कस्ट्रक्सनको अर्को लापरवाहीः निर्माण सम्झौताको समय सकिँदा ४ प्रतिशतमात्रै काम

नेपालखबर
असार २५, २०७६ बुधबार ६:०,

विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ। पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ। निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ।

तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुनलाग्दासमेत चार प्रतिशतमात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ। निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको हो।

हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोबिलाइजेसन बापतको रु सात करोड छ लाख फिर्ता लिइएको आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख सुवास बस्नेतले जानकारी दिए। निर्माण कम्पनीको तीनवर्षे ठेक्का सम्झौताको अवधि कात्तिक ४ गते सकिँदैछ।

तीन हजार जना अट्ने क्षमताको निर्माणाधीन कारागारको रु ५३ करोड कूल बजेट रहेकामा पप्पु–रसुवा कन्स्ट्रक्सनले विसं २०७३ कात्तिक ८ गते रु ३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सकार गरेको थियो। कारागारको २५ भवन संरचना बनाइने लक्ष्य रहे पनि अहिले पाँच संरचनामा अत्यन्तै सुस्तगतिमा काम भइरहेकाले पेश्की रकम फिर्ता लिनुपरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए।

पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको छ। मानवबस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण शुरु गरिएको थियो।

अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा खुला कारागार निर्माणको काम शुरु गरिएको थियो। दुवै कारागार निर्माण भएपछि नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .