ब्लग


एक नेपालीको कुवेत डायरीः यस्ताे छ यहाँ हाम्राे हालत

एक नेपालीको कुवेत डायरीः यस्ताे छ यहाँ हाम्राे हालत

चन्द्र गोतामे
बैशाख १४, २०७७ आइतबार १०:५७,

भनिन्छ- जिन्दगीमा केही गर्ने, केही बनेर देखाउने सपना सबैसँग हुन्छ। कतिका सपना साकार हुन्छन्, कतिका त्यसै बिलाएर जान्छन्। मेरा पनि कति योजना अधुरै रहे, चाहना त्यसै बिलाए। त्यसपछि एउटा फरक सपना पछ्याउँदै यतिबेला म कुवेतमा छु। यहाँ आएको ५ वर्ष पुग्न लाग्यो। अहिले कुवेतको अवस्था पहिलाजस्तो छैन, कोरोना महामारीपछि यहाँ धेरै कुरा परिवर्तन भएका छन्।

नेपालमा रोजगार अवसर नहुँदा मजस्ता लाखौं युवा खाडीसहित अन्य देशमा भासिन बाध्य छौं। नेपाल बस्दा बेरोजगार भइन्छ अनि घर व्यवहार कसरी धान्ने? त्यहाँ सीप र जाँगर हुँदैमा काम पाउन सकिँदैन। आफन्त वा सोर्सफोर्स हुनेले मात्र पाउँछन्। त्यसैले मजस्ता युवाका लागि कुवेत एउटा विवशताको गन्तव्य हो। अनि यहाँसम्म आइपुग्दाको कथा पनि कम मार्मिक छैन।

आधा दशक पहिले म विदेश जान काठमाडौंमा भौतारिदै थिएँ, राम्रै ठाउँ जाने कोसिसमा। दुर्भाग्यवश ठग दलालको फन्दामा पर्दा धेरै दुःख झेलेँ। त्यो तीतो यथार्थ अहिले पनि झलझली सम्झना आउँछ। रकम दलालले झ्वाम पारेको सम्झिदा रिसले आगो बल्छ। आफूले सोचेजस्तो विदेश यात्रा नहुँदा त्यतिबेला बूढापाकाले भन्ने एउटा उक्ति सम्झिन्थेँ, ‘देखेकोले हुँदैन, लेखेको नै चाहिन्छ।’ त्यही झोँकमा मैले सपनामा अर्को हाँगो हालेँ- खाडीतिर भासिने।

गर्मीले सातो उड्यो
तर त्यो पनि सहज कहाँ थियो र! काठमाडौंको अस्तव्यस्त धुलाम्मे सडकमा लखरलखर हिँड्दै धेरै मेनपावर कम्पनी धाएँ। एउटा मेनपावरमा कुवेतस्थित कोरियन कम्पनीमा ‘डकुमेन्ट कन्ट्रोलर’ कामको ‘अफर’ रहेको थाहा पाएँ। मेरो कुवेत यात्राको सुरुवात त्यहीँबाट भयो। मैले सम्पर्क गरेँ, मेनपावर कम्पनीले अन्तर्वार्तामा बोलायो। अन्तर्वार्ता पास भएको एक महिनामा भिसा आयो।

उड्ने तयारी भएपछि म्यानपावरले पैसा माग्यो। तर सरकारले तोकेको पैसा बुझ्न उनीहरु तयार थिएनन्। मैले सोझो हिसाबले कुरा गरेँ, ‘सरकारले १० हजार भनेको छ तपाईंहरु किन मनखुसी पैसा माग्नुहुन्छ?’ मेरो कुराले उनीहरुलाई कति पनि छोएन। जवाफमा भनियो, ‘आफिसको काम हो राम्रो कमाइ हुन्छ। भनेजति पैसा दिनुस् नत्र अर्कै व्यक्तिका लागि तयारी गर्छौं।’ मैले लाखौं रुपैयाँ बुझाएँ। बदलामा १० हजारको बिल पाएँ अनि हरियो पासपोर्ट हातमा समातेर नेपाल छाडेँ।

kuwait taste centerकुवेतको मिश्रेफस्थित कोरोना परीक्षण केन्द्र। यहाँ विशेषगरी आगन्तुकहरुको कोरोना परीक्षण हुने गर्छ। तस्बिर: रोयटर्स

मलाई अहिले पनि सम्झना छ- पहिलोपटक कुवेत विमानस्थलबाहिर निस्किँदा मेरो सातो उडेथ्यो। म्याग्दीमा हुर्किएको मैले त्यति उखरमाउलो गर्मी कहिलै अनुभव गरेको थिइनँ। मनमा अनेक कुरा एकैपटक खेल्न थाले। ‘यस्तो गर्मी हुने ठाउँमा कसरी काम गर्न सकिन्छ होला?’, त्यतिबेला आफ्नै मनले आफैँसँग भनेको थियो।

उनीहरुको भविष्य के हुन्छ?
अहिले कोरोनाका कारण कुवेतका केही क्षेत्र पूर्ण लकडाउनमा छन्। साँझ ४ बजेदेखि बिहाना ८ बजेसम्म कर्फ्यु लाग्छ। भन्छन् नि- मन बेचैन भएपछि धेरै कुरा बिग्रिन्छन्। मेरो ड्युटी समय फेरिएको छ तर कोरोना भाइरस त्रासले मनमा शान्ति छैन। यहाँ कुवेतमा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेछ। म काम गर्ने ‘प्रोजेक्ट’मा पनि विभिन्न कम्पनीमा गरी ६ नेपालीसहित ३४ जना कोरोना संक्रमित भएका छन्। भनिन्छ- अरु कुरा जति लुकाए पनि डर लुकाउने कुनै ठाउँ हुँदैन। त्यसयता त्रास झनै बढेको छ। तर हामी काम गर्न विवश छौं। काममा नजाने हो भने तलब आउँदैन, जाउँ भने संक्रमण जोखिम छ।

यहाँका केही निजी कम्पनीमा २ महिनादेखि काम चलेको छैन। त्यस्ता कम्पनीमा काम गर्ने नेपाली कामदार तलबबिहीन भएका छन्। उनीहरुलाई खाद्यान्न जुटाउन समेत समस्या छ। केही संघसंस्थाले सहयोगस्वरुप केही दिन खाद्यान्न वितरण गरे। तर त्यो सधैँको समाधान होइन। कोरोना कहर लम्बिए उनीहरुको भविष्य के हुन्छ? कसैले भन्न सक्दैन।

कोरोनाका कारण धेरै नेपाली कामविहीन हुने खतरा छ। मेरो काम बन्द छैन तर संक्रणको त्रास बढेको छ। यतिबेला आफ्नो देश फर्किन मन लाग्छ तर सरकार भन्छ- जहाँ छौ त्यहीँ बस, नेपाल नआऊ। विपतको यो घडीमा परिवार र जन्मथलो खुब सम्झिइँदोरहेछ। मर्न परे पनि आफ्नै देश जान मन लाग्दो रहेछ।

हामी विदेशमा रहेका नेपाली आलसतालस छौं। कोरोना त्रास बढ्दै जाँदा मनमा अनेक कुरा खेल्छन्- हामी युवा कहिलेसम्म भय सिरानी हालेर कुवेत (खाडी) मा निदाउनुपर्ने? के बिगारेका छौं र हामीलाई आफ्नो देशले ढोका बन्द गरेको होला? यस्तै प्रश्न खेलाउँदै म नेपाल कहिले जान पाइएला भनेर दिन गनिरहेछु।

हाम्रो पसिनाको रेमिटेन्स सरकारलाई प्यारो लाग्ने तर महामारीले आलसतालस बनाएको बेला कुनै वास्ता नगरेको देख्दा मन खिस्रिक्क भएको छ। मेरो देशमा सरकार त पक्कै होला, यो विपतमा आफ्ना नागरिकका पीडा बुझिदिए कति जाति हुन्थ्यो!

यो पनि : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad