केही महिनायता विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) ले पछिल्लो समय विशेषतः युरोपेली मुलुकहरुलाई बढी नै सताएको छ। चीनबाट सुरु भएको यो प्राणघातक रोगले केही हप्तायता युरोपलाई आफ्नो संक्रमणको केन्द्र बनाएको छ। त्यसो त सञ्चारमाध्यम तथा सोसल मिडिया हेर्दा लाग्छ, विश्वका अधिकांश क्षेत्र नै अघोषित क्वारेन्टाइनमा परिणत भइरहेका छन्।
समाजवादी राष्ट्रमध्ये आफूलाई अब्बल कल्याणकारी राज्य दाबी गर्दै आएको मुलुक नर्वेलाई पनि कोभिड–१९ को विश्वव्यापी महामारीले एक्कासि झापड हानेको अनुभूति भइरहेको छ। आइतबारसम्म उपलब्ध तथ्यांकअनुसार यहाँ २१ सयभन्दा बढी संक्रमित फेला परेका छन् भने ७ जनाको ज्यान गइसकेको छ। ६ जना संक्रमित निको भएका छन्।
निष्फिक्री समाज
यो संक्रमणले यहाँको समाजलाई नराम्रोसँग प्रभावित गरिसकेको छ। कोरोना भित्रिएको पहिलो खबर सुन्नासाथ अत्यन्तै सजगता अपनाउनुपर्ने रहेछ भन्ने अहिले आएर बल्ल राम्रोसँग बोध भइरहेको छ। तर, अरु पश्चिमेली मुलुकजस्तै नर्वेले पनि त्यो सजगता समयमै अपनाएन। सुरुमा हल्कारुपमा लियो। यहाँ व्यक्तिगत स्वतन्त्रतालाई खुब मान्यता दिइन्छ। संक्रमण सुरु भइसक्दा पनि यहाँका मानिसहरु निर्वाध घुमफिर र निष्फिक्री मनोरञ्जनमा लिप्त थिए।
कोभिड–१९ ले चारैतिरबाट च्याप्दै गएपछि मात्र यहाँको राज्य एक्कासि ‘एक्सन’ मै उत्रियो। स्कुल, कलेज झ्याप्पै बन्द गरियो। अनावश्यक भिडभाडमा रोक लगाइयो। पब, रेस्टुरेन्ट साँझ ८ बजेको हाराहारीमा बन्द भए। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आह्वान गरियो।
कर्मचारीलाई सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाइयो। खाद्यान्न तथा अत्यावश्यक सामानका स्टोर/पसल अझैसम्म खुला नै राखिएका छन्। आवश्यक कामकाजका लागि अति सजगताका साथ आवतजावत चलिरहेको छ।
तर नर्वेमा यी कदम लिँदा ढिला भइसकेको थियो। किनभने त्यतिबेलासम्म धेरै मानिस संक्रमित भइसकेका रहेछन्।
प्रभावकारी राज्य
महामारीको बेलामा यहाँको सरकारले तत्काल राहतको प्याकेज ल्यायो। कोरोना महामारीका कारण यदि कसैको काम छुट्न गएको भए तत्काल बेरोजगारी सुविधाको लागि दर्ता हुन आह्वान गरियो। र, कम्तीमा २० दिनको शतप्रतिशत तलब दिने घोषणा गर्यो। त्यसपछि अर्को प्याकेज आउने कुरामा सबै आशावादी छन्। सामान्यतया तलबको ६२ प्रतिशत तलब सरकारले दिने यहाँको नियम छ।
मार्च १८ को तथ्यांकअनुसार १ लाख १३ हजार ५ सय जनाले रोजगारी गुमाएको भनी बेरोजगार सहुलियतका लागि आवेदन दिएका थिए। विद्यार्थीको हैसियतमा रहेकाहरुले भने अहिलेसम्म बेरोजगार सहुलियत नपाउने नियम छ जसले गर्दा नेपालबाट भर्खर आएका विद्यार्थी साथीहरुलाई केही मर्का पर्ने अनुमान गर्न सकिन्छ।
अहिलेसम्म खुसीको कुरा कुनै नेपाली संक्रमित भएको खबर सुन्नमा आएको छैन।
यहाँ रहेका पूर्ण र आंशिक गरी अधिकांश नेपालीको रोजगारीमा प्रत्यक्ष वा परोक्षरुपमा प्रभाव पारेको अनुमान गर्न सकिन्छ।
यदि कोही कसैलाई कोरोना संक्रमणका लक्षण देखापरे तत्काल आफ्ना फेमिली डाक्टरलाई फोन गरी उसको सिफारिसमा अस्पताल जाने वा घरमै क्वारेन्टाइनमा बस्ने भन्ने निर्णय हुन्छ। कुनै पनि व्यक्ति यो मुलुकमा आउनासाथ उसको डाक्टर तोकिएको हुन्छ, जसलाई पर्सनल डाक्टर भनिन्छ।
अस्पताल भर्ना भइहाले पनि सम्पूर्ण सेवा निशुल्क छ। यहाँ आयकर तिर्नु नै स्वास्थ्य, शिक्षा र अन्य सबै सुविधाको बीमा गरेजस्तै हो। त्यसकारण यहाँ वैधानिक रुपमा बसोबास गरी काम गरेकाहरु सबैलाई आधारभूत सेवा नपाइने हो कि भन्ने चिन्ता लिनैपर्दैन।
त्यस्तै तत्कालका लागि सम्पूर्ण सार्वजनिक यातायातका साधनमा टिकट जाँच रोकिएको छ वा अघोषित रुपमा निःशुल्क गरिएको छ।
छैन कालाेबजारी
हामीले नेपालमा सोचे, भोगेजस्तो कालाबजारी र कृत्रिम अभाव सिर्जना गर्न यहाँ सजिलो छैन। सायद यो कुरा व्यापारीहरुले सोचेका पनि हुँदैनन्। त्यसैले यहाँ डर केवल कोभिड–१९ सँग मात्र हो।
कोरोनालाई शरीरले थाम्न सक्ला कि नसक्ला? आफू र आफ्नो परिवारलाई कसरी कोरोनाको संक्रमणबाट जोगाउने भन्ने मात्र एकसूत्रीय चिन्ता हुन्छ। यो विपदको मौका छोपी अरुबाट थप पीडित हुनुपर्दैन।
नेपाली समाज
नेपाली समुदाय अहिले लगभग ९० प्रतिशत भर्चुअल कनेक्सनमा छ। स्कुल, कलेजबाट विद्यार्थीलाई सम्भव भएसम्म अनलाइन जानकारी, सुझाव आइरहेका छन्। काम छुटेकाले बेरोजगारी सुविधाको लागि दर्ता गराएका छन्। बालबालिकाले घरमै बसेर आफ्नो गृहकार्य गरी अनलाइनबाटै आफ्नो पढाइ जारी राखेका छन्। यात्राका योजना रद्द गरिएका छन्। नेपालबाट आएका अभिभावकहरु भने दिन गनेर समय बिताउँदै हुनुहुन्छ। यहाँको जीवनशैली र समाजमा अभ्यस्त नभएका पाको उमेरका व्यक्तिलाई यहाँको बसाइ निरस लाग्नसक्छ।
सहज अवस्थामा जहाँ भएपनि अहिले आपतका बेला नेपाली समुदाय सम्पर्कमा आएका छन्। त्यसो हुँदा आत्मीयताको अनुभूति हुँदोरहेछ। गैरआवासीय नेपाली संघ नर्वेले विभिन्न माध्यमबाट नेपालीहरुलाई सहयोग गर्ने प्रतिबद्धता, तत्परता देखाएको देखिन्छ। संघको वेबसाइटमा इमरजेन्सी सम्पर्क नम्बर उपलब्ध गराएको छ।
डेनमार्कस्थित नेपाली दूतावासले नै नर्वेलाई पनि हेर्छ। उसले सचेतना अपनाउनु पर्ने विभिन्न जानकारी प्रकाशित गर्ने गरेको छ। आशा छ, यहाँ रहेका नेपालीलाई केही आइपरे उसले आवश्यक सहयोग, उद्दार गर्ला।
त्यस्तै प्रवासी नेपाली एकता मञ्च, जनसम्पर्क समिति नर्वे, हेल्पिङ ह्यान्ड्स फर नेपाल, रागोसजस्ता संघसंस्थाले विभिन्न तयारी तथा पहलकदमी गरेको देखिन्छ। अहिलेसम्म कुनै ठोस योजना तथा कार्यक्रम सार्वजनिक नगरिएको भए पनि कोही अप्ठेरोमा परेको सूचना पाएमा नेपाली समुदाय सहयोगका लागि तत्पर रहेको सन्देश भने प्रसार गरिएको छ। यससँगै विभिन्न मानिसले व्यक्तिगत सहयोगका लागि अग्रसरता देखाएको पनि पाइन्छ।
केही वर्षदेखि अध्ययनका लागि यहाँ रहेपनि नेपालबारे झन् बढी चिन्ता र चासो त हुने नै भयो। पछिल्ला केही दिनमा कोरोनाबाट आइपर्नसक्ने परिस्थितिलाई आकलन गरी सरकार र विभिन्न निकायका निर्णय यहाँबाट हेर्दा सुझबुझपूर्ण नै देखिएको छ। एसईई लगायतका जाँच स्थगित गर्ने, भिडभाड रोक्ने आदि पछिल्ला निर्णय गरेको ठीक लागेको छ।
नेपालमा विभिन्न पक्षबाट हरेक परिस्थिति र खासगरी संकटको अवस्थालाई समेत राजनीतिकरण गर्ने अत्यन्त नराम्रो अभ्यास छ। यतिबेला त्यो कतैबाट नहोस् भन्ने अपेक्षा छ।
राज्यले आफ्नो जिम्मेवारी पूरा गर्न र जनतालाई राहत प्रदान गर्न कुनै कसर बाँकी नराखोस्। प्रतिपक्षीहरुले इमान्दारीपूर्वक रचनात्मक सहयोग पुर्याउन् भन्ने अपेक्षा छ। यो समस्या सामना गर्न विभिन्न समुदाय र हरेक नागरिकको व्यक्तिगत गतिविधिसमेत उत्तिकै जिम्मेवार हुनेरहेछ भन्ने यहाँको अनुभवले समेत देखाएको छ।
नेपालमा राज्य, राजनीतिक दलहरु, प्रशासन, समुदाय र नागरिकहरु समेत यो मौकामा कोहि नचुकून् भन्ने कामना गरिरहेका छौं किनभने विकसित देशहरुलाई समेत यसरी धौ धौ परेको देख्दा नेपालमा आइपर्यो भने निकै समस्या पर्ला कि भन्ने डर लागिरहेछ।
हाम्रो समाज र बजारको एउटा नराम्रो पक्ष आपतका बेला कृत्रिम अभाव सिर्जना गर्ने र कालाबजारी गर्ने गरेको पाइन्छ। त्यो अपराध मात्र नगर्दा र राज्यले जिम्मेवारी पुरा गर्दा पनि आपतका बेला समेत जीवन निकै सहज हुँदोरहेछ। तसर्थ नेपालले समयमा केही कदम चालेको छ। अब कुनै पक्षबाट पनि कमजोरी वा मौकामा फाइदा उठाउने अपराधिक काम नहोस् भन्ने कामना गरिरहेका छौं।
(भुसाल हाल नर्वेमा अध्ययनरत छन्)
याे पनि: भ्यालेन्सियाका नेपाली भन्छन्ः नेपाल स्पेनजस्तो रमिता हेरेर नबसोस्
Shares
प्रतिक्रिया