‘तीन महिनाभन्दा पछाडिको पालो पाउनुभो भने, मेरो फोन नम्बर ९८५१००४२८६ हो। मलाई सिधै फोन गर्नुहोला। अब सरकारी अस्पतालमा तीन महिनाभन्दा पछाडिको अप्रेसनको पालो नपर्ने स्थिति सुनिश्चित गर्न चाहन्छु।’
केही दिनअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले एक अन्तर्वार्ताका क्रममा यसरी आफ्नो नम्बर दिए। झट्ट सुन्नेबित्तिकै लाग्यो, अस्पतालमा पालो कुरेर बसेका/पालो नपाएका सबै बिरामीले फोन गर्न थाले भने भ्याउलान् मन्त्रीले फोन उठाउन? यसै त भ्याइनभ्याइ हुन्छ हाम्रा मन्त्रीहरूलाई, झन् दबाब हुने भयो।
बडो चिन्ता लाग्यो।
यसो सोचेँ, अब अदालतमा पालो कुरिरहेकाहरूलाई कानुनमन्त्रीले, न्यायनिसाफ नपाएकालाई गृहमन्त्रीले, गाडी नपाएकालाई यातायातमन्त्रीले, प्लेनको टिकट नपाएकालाई उड्डयनमन्त्रीले, मल/बिउ नपाएकालाई कृषिमन्त्रीले अनि धारामा पानी नआएकालाई खानेपानी मन्त्रीले नम्बर बाँड्न थाले भने? कस–कसलाई मात्रै फोन गर्नु?
चिन्ता झन् बढ्यो।
***
बहालमध्ये निकै आशा गरिएका मन्त्री हुन्, प्रदीप पौडेल। मन्त्रालय पनि गज्जबको परेको छ, स्वास्थ्य। प्रचारमा नरमाइकन काम गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा उलटपुलट गर्न सक्ने अवसर छ उनलाई। कति गर्लान्? कति गर्न सक्लान्? त्यसबारेमा उनी बिदा हुँदै गर्दा समीक्षा गरौँला, अहिलेचाहिँ फेरि फोन नम्बरतिरै फर्कौँ।
के मन्त्रीलाई फोन गर्नेबित्तिकै अप्रेसनको पालो पाइन्छ? कि बाँडिएको मन्त्रीको यो नम्बर फन्डा मात्रै हो? मन्त्रीलाई फोन गर्दैमा पालो नपाएका बिरामीले पालो पाउने हो भने त्यो फोनै नगरिकन आए हुँदैन?
संविधानभन्दा ऐनकानुन ठूलो, ऐनभन्दा नियमावली, नियम–निर्देशिकाभन्दा परिपत्र, यी सबैलाई खण्डित गर्ने ‘एक कल फोन’। मन्त्रीलाई पनि यसैमा विश्वास भएर पो हो कि!
हुन त मन्त्रीलाई मात्रै के भन्नु? सिंगै देश एक कल फोनकै भरमा त चलिरहेको छ। अस्ति प्रकाश तामाङले नागरिकता पाए। प्रधानमन्त्रीको एक कल फोनले। युट्युबमा प्रकाशको कथा आएपछि र त्यो कथा भाइरल भएपछि प्रधानमन्त्रीले रातारात गृहसचिव (एकनारायण अर्याल) लाई बोलाएर छिटो नागरिकता बनाउने विषयमा पहल लिन निर्देशन दिए। राति १० बजे गृहसचिवलाई बोलाएर प्रधानमन्त्रीले गरेको त्यो छलफल यति प्रभावकारी भयो कि अघिल्लो वर्ष तिनै प्रकाशलाई नागरिकता दिन मिल्दैन भन्ने सरकारी अधिकारी नागरिकता बोकेर घरमै पुगे।
प्रकाशले नागरिकता पाएपछि मेरो मनमा दुइटा प्रश्न उब्जिए। एक, प्रकाश नागरिकता पाउन योग्य थिए भने अघिल्लो वर्ष नागरिकता बनाउन जाँदा किन पाएनन्? दुई, उनी नागरिकता पाउन अयोग्य हुन् भने अहिले फेरि कसरी पाए? यो देश नियम/कानुनमा चल्छ कि कसैको निगाहमा? कसैको एक कल फोनमा? कसैको एक निर्देशनमा?
प्रकाशको कथा युट्युबमा आयो। भाइरल भयो। प्रधानमन्त्रीको मन छोयो। उनले नागरिकता पाए।
नागरिकता भयो भने मात्रै बैंक खाता खोल्न सकिन्छ, वा भनौँ यो देशमा दैनिक जीवनका स–साना काम गर्न पनि नागरिकता नै चाहिन्छ भन्ने कुरा चौथोपटक प्रधानमन्त्री भइसकेका केपी ओलीले युट्युबमा प्रकाशको कथा हेरेपछि मात्रै थाहा पाएका त पक्कै होइनन्। नागरिकता सहज बनाउन यसअघि उनले किन पहल नलिएका होलान्?
नागरिकता नभएर डाक्टर पढ्न नपाएका अमीत जैसवालको दुःखले किन नछोएको होला उनलाई? नागरिकता नभएर खाता खोल्न नसकेपछि जागिर सुरु गरेको दोस्रो महिनामै अफिस छोड्नु परेकी रिना वर्णवालको कथाले किन नछोएको होला? नागरिकता नभएर उपचार खर्च पाउन नसकेका कान्छा राई, नागरिकता नभएर व्यवसाय दर्ता गर्न नसकेकी सुनमती चौधरी र नागरिकता नभएर उखुको भुक्तानी लिन नपाएका रामप्रीत पासवानको दुःखले किन नछोएको होला प्रधानमन्त्रीको मन?
आफ्नै देशका नागरिकको दुःख नदुख्ने कस्तो मन होला उनको? दुखेको भए किन नागरिकता नपाएका होलान् उनीहरूले अहिलेसम्म? उनीहरूको नागरिकता बनाउने पहल लिन किन निर्देशन नगएको होला गृहसचिवमार्फत? किन नखटिएका होलान् नागरिकता दिलाउने सरकारी अधिकारी?
कुराकानीका क्रममा प्रतिनिधि सभाका एक सदस्यले विकासे फाइल बोकेर सांसदहरू मन्त्रालय-मन्त्रालय धाउनुपर्ने बाध्यता सुनाए। नीति निर्माण गर्नुपर्ने जनताका प्रतिनिधि आफ्नो गाउँको धारा, पानी, सडकको योजनाको फाइल बोकेर ‘लौ न काम अगाडि बढाइदेऊ’ भन्दै हिँड्नुपरेको उनको गुनासो थियो।
मैले प्रश्न गरेँ, ‘त्यो त तपाईंहरूले देशलाई सिस्टममा हिँडाउन नसक्नुको परिणाम होइन र?’
उनले मेरो प्रश्नमा सहमति जनाउँदै टाउको हल्लाए।
यो देश कसैको एक निर्देशनमा नभएर सिस्टममा चल्थ्यो भने न सांसद, न नागरिक, कसैले धाउनै पर्दैनथ्यो सिंहदरबारका चोटाकोठा। भिडै हुँदैन थियो हरेक दिन दक्षिण गेटमा। प्रधानमन्त्रीले रातारात सचिवलाई बोलाएर किन दिनुपर्थयो र निर्देशन? किन कक्षा १२ सक्नेबित्तिकै यो देशका हजारौँ युवा हातमा पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लाग्नुपर्थ्यो? पर्दैन थियो।
***
बेलायतको टोडमोर्डन गाउँमा उनको खेतमा टहलिँदै गफिरहेका बेला विद्या चापागाईं डाक्टर बेन क्याम्पबेललाई सोध्छिन्, ‘नेपाल र बेलायती समाजमा के फरक छ?’
बेन भन्छन्, ‘नेपालमा मिलाउन मिल्छ। यहाँ मिल्दैन।’
हो नि, नेपालमा सबै कुरा मिलाउन मिल्छ। बिजुली बालेर पैसै नतिरे पनि हुन्छ। २० रूपैयाँको एक बोतल पानी २२० रूपैयाँमा बेचे पनि मिल्छ। अघिल्लो हप्ता ६ हजार भएको प्लेनको टिकट अर्को हप्ता ११ हजार पुर्याउन मिल्छ। पुलिसले पक्राउ गरेको अपराधीलाई मेरो पार्टीको मान्छे हो, छोड्दिनुपर्यो भनेर सांसदले प्रहरीको हाकिमलाई फोन गर्न मिल्छ। एउटा क्याबिनेटले गरेको निर्णय अर्को क्याबिनेटले सर्लक्कै उल्ट्याउन मिल्छ। आफ्नै पार्टीको भएपछि तीन तहका अदालतले जन्मकैद गरेको कैदीलाई राष्ट्रपतिको एकै हस्ताक्षरमा माफी मिनाहा दिन मिल्छ। सरकार दाहिना भएको बेला के मिल्दैन यहाँ? सब कुरा मिल्छ।
छोटै सही, सिंहदरबार बसाइको अनुभवले भन्छ, मन्त्रालय धाउने ८० प्रतिशत मान्छे मिलाइदिन पर्यो भनेर आउने हुन्छन्। आउने सबैको विषय मिल्छ-मिल्दैन, त्यो मन्त्रीको पावरमा भर पर्ने कुरा भयो। कति मन्त्रीले मिलाउलान्, कति सचिवले मिलाउलान्, मन्त्रीका स्वकीयले कति मिलाइदिन सक्लान्, कति विषय त चालक र कार्यालय सहयोगीले पनि मिलाइदिन सक्छन्।
‘म फलानो मन्त्रीको सचिवालयबाट बोलेको, फलानोको यति काम मिलाइदिन पर्यो,’ फोन जान्छ उनीहरूको। सिंहदरबारमा मन्त्रीको पावरको मात्रै होइन, सवारी चालक र कार्यालय सहयोगीको शक्तिको पनि अभ्यास हुन्छ। कुन मन्त्रालयका हुन्? त्यही अनुसारको पावर लाग्छ।
यो देश कानुन अनुसार चल्थ्यो भने, सांसद र मन्त्रीको भनसुनका लागि किन मान्छे यसरी सिंहदरबार धाउँछ? किन ‘मिलाइदिन पर्यो’ भन्दै आउँछ? आउँदैन नि। यो मिलाइदिने रोग सहरदेखि गाउँसम्मै छ। हिजोआज गाउँगाउँमा सिंहदरबार जो छ।
***
दशक अघिसम्म नेपाल छोडेर हिँड्ने मान्छेहरू देखेर दिक्क लाग्थ्यो मलाई। कार्यालय आउनेजाने बाटोमै पर्थ्यो, पुल्चोक इन्जिनियरिङ कलेज। हरेक बिहान कार्यालय जाँदा र दिउँसो फर्किंदा म विद्यार्थीहरूको गफ सुन्दै हिँड्थेँ। उनीहरूले एक आपसमा कस्तो गफ गर्छन् होला? भन्ने जिज्ञासा हुन्थ्यो। आयल्ट्समा कुन साथीको कति नम्बर आयो, फलानोको दाइ कुन देशमा छ, फलानोको दिदी कुन देशमा छ, कति नम्बर आयो भने कुन देश जान सजिलो हुन्छ? अधिकांश विद्यार्थीको कुरा यस्तै हुन्थ्यो।
राम्रो पढेका विद्यार्थीहरू सबै विदेश जाने योजनामा रहेछन् भन्ने कुराले खुब पीर पथ्र्यो मलाई। म आफ्ना साथीहरूमाझ यो पीर सेयर गर्थें। किन देश छोडेर हिँड्न लागेका होलान् भन्ने लाग्थ्यो। दशकपछि मेरो पीर ठ्याक्कै उल्टिएको छ। हिजोआज मलाई कसैले नेपालै बस्छु भन्यो भने खुब पीर पर्छ। उनीहरूको भविष्य सम्झेर। आजकल भेट भएका अधिकांशलाई विदेश जान सुझाव दिन्छु म। अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत। त्यो नसके अलि कम खर्च लाग्ने देशहरू, जहाँ भए पनि जान चाहिँ गए हुन्छ भन्छु।
यसो सोच्दा दशकअघि अलि अपरिपक्व रहेछु क्यारे! त्यही भएर देश छोड्ने मान्छेहरू देखेर पीर पथ्र्यो मलाई। अलि भावनात्मक पनि रहेछु सायद, देशको उल्कै माया लाग्थ्यो। अझ हाँसो लाग्ने कुरा त, यो देश बन्छ भन्ने विश्वास लाग्थ्यो मलाई। अहिले अलि परिपक्व भएँ सायद। दैनिकी चलाउन मुस्किल भएका मान्छेहरूको दुःख दुख्छ। देशमै बस्छु, केही गर्छु भन्नेहरूले भोगेको सास्तीले मन कुँडिन्छ। एउटा कामको लागि हजारपटक यता र उता धाउँदाधाउँदै आजित भएकाहरूको माया लाग्छ। अनि, दशकौंदेखि राज्य सञ्चालनको बागडोर समातेर आज पनि देश विकास हुन नसक्नुको दोष अरूतिरै थोपरिरहेकाहरूलाई देखेपछि भन्न मन लाग्छ– धिक्कार होस्।
दशकौँसम्म देशको डाडुपन्यु आफैँले चलाएर पनि नागरिकको जीवनस्तर उकास्न नसकेको मान्छे अझै पनि देश विकास गर्छु भन्दै कुन मुखले हिँड्न सकेको? तीन दशकभन्दा बढी ‘राष्ट्रसेवा’ गरेर यो देशलाई यति तन्नम बनाएको व्यक्ति रिटायर्ड भएको भोलिपल्टै विज्ञ बनेर ङिच्च हाँस्दै फेरि कसरी नियुक्ति खान जान सकेको? बलात्कारीलाई छुटाउन प्रहरीको हाकिमलाई फोन गरेको मन्त्रीले कुन मुखले सुशासनको भाषण छाँट्न सकेको? आफ्ना छोराछोरी विकसित मुलुकमा सेटल गराएर ‘युवाले देश छोडे’ भन्दै तीनै सांसद कुन मुखले चिन्ता व्यक्त गर्दै हिँड्न सक्छन्?
थोरै लाज, थोरै इमानदारी, अलिकति भए पनि नैतिकता हुनुपर्दैन? वर्षौंवर्ष खाईपाई आएको यो देशप्रति, यो माटोप्रति जवाफ दिनुपर्दैन? विकास र परिवर्तनको सपना देखाएर दशकौं ढाँटेका सोझा जनतासँग माफी माग्नुपर्दैन?
***
आफ्नै मनसँग एकपटक फेरि सोधेँ, के यो देश साँच्चै कहिल्यै बन्दैन?
मनले जवाफ दियो, बन्छ। त्यही दिनबाट, जुन दिनबाट यो देशमा पनि मिलाउन मिल्दैन। अपराधी छुटाउन मन्त्रीको फोन जाँदैन। आफ्नो पार्टीको हुनेबित्तिकै जस्तोसुकै कसुर गरेकालाई पनि सफाइ दिन मिल्दैन। २० रूपैयाँ बोतलको पानी २२० मा बेच्न मिल्दैन। ९ सिट क्षमताको माइक्रोमा १९ जना चढाउन मिल्दैन। हप्ता दिनमै जहाजको भाडा दोब्बर बनाउन मिल्दैन। विद्युत्को महसुल नतिरी लाइन जोड्न मिल्दैन। आजै हुने कामलाई आज हुँदैन भनेर टार्न मिल्दैन। मेरो पार्टीको मान्छे आएको छ, उसको काम तुरुन्तै गरिदिहाल्नु त भनेर भन्न मिल्दैन। आफ्नो काम हुनको लागि कसैलाई चिनेको हुनु पर्दैन। देश त्यही दिनबाट बन्न थाल्छ।
हो, देश त्यही दिनबाट बन्न थाल्छ।
Shares

प्रतिक्रिया