ad ad

ब्लग


माल्दिभ्सको माफुसी टापुबाट कपिलको सन्देश

माल्दिभ्सको माफुसी टापुबाट कपिलको सन्देश

श्रवण खनाल
चैत १०, २०८० शनिबार १५:२,

यात्राको दौरान धेरै ठाँउ कुदियो, धेरै हन्डर खाइयो, अनुभव बटुलियो, धेरै पात्र ठोक्किए, कोही विलीन भए, कोही भने धड्कनसँगै हरपल चलिरहन्छन्।

यो पटकको यात्रा माल्दिभ्सको माफुसी नामको टापुमा रोकिएको छ। अरु मुलुक त घुम्दै गरौँला, तर तापमानको चापमा विलीन हुनसक्ने देश भनेर प्रचार गरिएकोले यहाँ छिट्टै आउन मन लाग्यो। पोहोरको साल पनि यस्तै आकलन गरिएको इटलीको भेनिस सहरको यात्रा गर्ने अवसर जुटेको थियो। 

भारतको मुम्व्र्यबाट अढाई घण्टा एकोहोरो हिन्द महासागरमाथि उडेपछि राजधानी माले आइपुगियो। जम्मा ५ लाख २० हजार जनसंख्या रहेको यो मुलुक टापु नै टापुले भरिएको छ। सानो  भए पनि मालदिभ्स दक्षिण एसियामा सबैभन्दा विकसित मुलुकमा पर्दछ।

राजधानी मालेमा अन्य मुलुकजस्तै अग्ला महल, भीडभाड बजार भएकोले खासै मेरो रोजाइमा परेन त्यसैले यो देश फरक तरिकाले बुझ्न पर्छ भनेर पानीजहाजमा सीधै माफुसी टापु हानिएँ। सार्वजनिक डुंगामा १ डलरमा डेढ घण्टामा पुगिने यो टापु द्रुत गतिका डुंगामा भने २५ डलर लिने र आधा घण्टामा पुगिने रहेछ। मुख्य आम्दानीको स्रोत पर्यटन नै भएकोले पर्यटकका लागि त्यो सस्तो खाले यातायात सेवाबारे खासै जानकारी नहुने रहेछ। अरु पर्यटकसँगै २५ डलर तिरेर यो टापु आइपुगियो। मार्च महिनामा पनि ३४ डिग्री तापक्रम, डुंगाबाट झर्ने ठाउँमा होटलका कर्मचारी स्वागत गर्न आइपुगेका थिए, केहीबेरमै होटेल पुगियो। यहाँ पुग्नासाथ साँच्चै नै पग्लिदै गरेको हाम्रा हिमालले झन्डै एक दुई हात मात्र उचाइमा रहेका यी मानव बस्ती डुबाउँछ होला नै भन्ने भान भयो।

होटेलका स्टाफले स्वागत पेय भनेर यहाँको स्पेसल फलफूल केवराको जुस पिलाउँदै यो टापु अनि होटेलबाट गरिने व्यवस्थाबारे जानकारी गराए। उनी बोलिरहँदा आफूलाई भने नेपालको चिउरी, थाकल, भलायोजस्ता बिरलै पाइने फलफूलको याद आयो। देश चिनाउन राज्य मात्र हैन, व्यापारीको पनि महत्व हुनेरहेछ। नेपालमा मोटो रकम तिरेको तारे होटेलमा समेत स्वागत पेयमा कोक, फ्यान्टा दिएका अनुभवले मन कटक्क खायो। 

त्यसो त यो देशको नीति नै गज्जब। संसारका सबै मुलुकका नागरिक यो देशमा बिना कुनै भिसा शुल्क एक महिनासम्म पर्यटकका रुपमा बस्न सक्छन। हाम्रो नेपालतिर भने अस्ति भर्खर आफैले फकाएर फिनल्यान्डबाट एउटा पर्यटक टोली लगेको ४७ दिनको १२५ डलर शुल्क तिर्नु पर्‍यो। गुनासो गर्दै थिए, नजिकैको विशाल भारत जाँदा ४० डलरमा ९० दिनको बहुप्रवेशआज्ञा पाइयो, तिमीहरूको देशमा एकचोटि मात्र छिर्ने प्रवेशाज्ञा यति महँगो?

हुन त पर्यटक भनेकै पैसा खर्च गर्न आउने हुन् भन्ने लागेर यिनीहरूसँग सकेको झार्नु पर्छ भनेर प्रवेशद्वारमै झ्याम्मै उठाउन खोजेको होला नेपालले। तर त्यति सानो चित्तले पर्यटक बढ्दैन, उल्टै प्रथम दृष्टिमै खोट लाग्ने गर्दछ। देशमा निर्धक्क आइसकेपछि खर्च त गर्न थालिहाल्छन् नि। हेर्नुस् त १ डलरमा जान पाउने डुंगा छोडेर २५ डलर तिर्दा नि कुनै गुनासो छैन। यहाँ एउटा पर्यटकले दिनमा घटीमा पनि ५० डलर खर्च गर्ने रहेछ। त्यसरी पो आम्दानी बढाउने हो त देशको। आफ्नो अनि आफूले सिफारिस गरिएका पर्यटकको गुनासो धेरै ठाउँमा पुर्‍याइदिएको नि छु, तर एउटा सामान्य व्यक्तिको गुनासो सम्बोधन हुने दिन कहिले आउला र? 

युरोप, अमेरिकाका विकसित मुलुकका नागरिकलाई थाइल्यान्ड, भियतनाम, सिंगापुर जान एक डलर नि तिर्नु पर्दैन तर छिरिसकेपछि उनीहरूले ठूलो खर्च गर्छन्। नेपालले पनि यो कुरा सिक्नुपर्छ। बरु दुइटा चिउरी, दुइटा भलायो राखेर यो हाम्रो देशमा मात्रै पाइने फल हो भनेर ५० डलर चार्ज गरे पनि कुनै गुनासो गर्दैनन्। टाइसुट लाएर गोष्ठी गरेर पर्यटक बढाऊँ भनेर मात्रै हुँदैन। सामान्य लाग्ने कुराले पनि ठूलो अर्थ लाग्छ।

आइपुगेको दिन आफ्नो सुरले विभिन्न रङका पानी हेर्दै टहलिँदै दिन बिताइयो, भोलिपल्ट भने बिहानी खाजापछि सार्कसँगको स्विमिङ प्याकेजमा निस्कियौँ। घरी हरिया, घरी खैरो त एकैछिनमा नीलो पानीमाथि होटलकै द्रुत डुंगामा ४५ मिनेट हुइँकिएपछि सार्कहरू जम्मा हुने ठाउँ पुगियो। त्यहा सुरक्षा पहिरन लगाएर डुंगाबाट झार्दा रहेछन्, पौडी खेल्न जान्नेहरू निर्धक्क सार्कसँग पौडी खेल्न थाले भने पौडी नजान्ने हरूलाई माछा जस्तै नडुब्ने बनाएर दुइटा गाइडले दुईतिरबाट घेरेर निर्धक्क पौडाउने रहेछन्। विशेष खालको चस्मा लगाएर पानीमुनि हेर्दा, पानीको तल्लो सतह हातले छुन्छु जस्तो लाग्ने अनी रंगीविरंगी सानाठूला माछा देख्दा हुने अनुभूति शब्दमा बयान गर्न सकिँदैन। सार्क पनि ज्ञानी हुँदा रहेछन्, उनीहरूलाई समाउन नहुने रहेछ। बरु उनीहरू नै बेलाबेला आएर नाक हाम्रो जिउमा ठोस्दा रहेछन्।

झन्डै २ घण्टा सार्क सँग बिताएपछी हाम्रो जहाज फुलिदो नामको अर्को टापु हुइँकियो जहाँ हामीलाई बालुवामै छाता गाडेर खाना खुवाइयो। लन्चपछि स्टिङ्रग्रे प्रजातिको माछासँग अर्को एक घण्टा बिताइयो, यो माछा पनि अचम्मको हुने रहेछ, पानीमा हुँदा पिपलको पात जस्तो देखिने तर खानेकुरा दिँदै फकाएर बालुवामा ल्याएपछि भने पुक्क फुल्दा रहेछन्। खानेकुरा छर्देपछि मान्छेको जिउ वरिपरि घेरा हाल्ने रहेछन्। यिनीहरूलाई टेक्न भने नहुने रहेछ, अन्यथा कुनै हानि नगर्ने रहेछन्। यो नौलो अनुभवपछि अपरेटरले हामीलाई सेतोबालुवाले चिनिने स्यान्ड ब्यांकतिर लगे, जुन अनुभूति पनि शब्दमा लेख्नै नसकिने। त्यस्तो महासागरको बीचमा एक बित्ताजतिको उचाइमा गोरेटो कुँदेको जस्तो कसरी टिकेको होला बुझ्न गाह्रो।

५५ डलर तिरेको हाम्रो प्याकेज पानीमै ७ घण्टा बिताएपछि ४ बजे होटेल आएर समाप्त भयो। कति अनुशासित मुलुक भने यस्तरी पर्यटक थुप्रिने देशमा अल्कोहल पूरै बन्द गरिएको छ। त्यसैगरी सरिया नियम मान्ने मुस्लिम मुलुक भएकोले अन्य परिधि पनि छन्। जस्तैः सार्वजनिक ठाउँमा चुम्बन गर्ने, अङगालो मार्ने, सुम्सुम्याउने आदि वर्जित गरिएको छ। ३५–४० डिग्रीको तापमा बिकिनीमा सजिएका प्रायः हनिमुन जोडीहरू अन्य ठाँउमा हुन्थे भन्ने कस्ता हर्कत देखिन्थ्यो होला। नियम उल्लंघन गर्दा सजाय पाइने हुनाले सबै अनुशासित छन्, कुनै गुनासो छैन, पर्यटकको खचाखचले खुट्टा हाल्ने ठाउँ छैन। झट्ट याद आयो, अत्यधिक मदिरा सेवनले पीडित भयौँ भनेर गृहणीहरू महानगर प्रमुख बालेनसँग काठमाडौँलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न माग गर्न पुगेको समाचार।

राजधानी मालेदेखि २७ किलोमिटर दुरी रहेको यो टापु माल्दिभ्स्कै ठूलो र प्रख्यात टापुमध्ये पर्ने रहेछ। यसको चौडाइ २६५ मिटर र लम्बाइ १२७० मिटर छ। दिनभरिको थकाइपछि यहाँको विशेष खाना, फलफूल खोज्दै हिँडेका थियौँ। नेपाली भाइबहिनी भेटिँदै गए। हामी नेपाली बोलेको सुनेर उनीहरू नि नेपालीमै बोल्न थाले, जुन मैले छेकछन्दै पाएको थिइनँ। 

नेपाली नपुगेको ठाउँ छैन भन्ने त लाग्थ्यो तर यो अनकन्टार टापुमा? डिपार्टमेन्टमा छिरेको, आठनौ महिनाअघि क्यासियरका रुपमा आएकी बहिनीले सोधिन्, हजुरहरू नेपालबाट घुम्न आउनु भाको? जुस खानु पर्‍यो भनेर क्याफे छिरेको, बुटवलका सन्दीप भाइ ठोक्किए। भन्छन्, दाइ! दुबै बस्दा खासै जोगाउन सकिएन, यता भने ४०–५० हजार जोगिन्छ। झन्डै अढाई लाख खर्च गरेर दुई वर्षे श्रम सम्झौतामा आएका रहेछन्। ५ महिना त आएको खर्च तिर्न ठीक हुन्छ बाँकी १९ महिनामा १० लाख जति कमाइएला। परिवारमा आमाबाहेक सबै वैदेशिक रोजगारमै रहेछन्। दिदी नि माल्दिभ्सकै अर्कै टापुतिर छिन् रे। 

फ्री भिसा भनेर के गर्नु, आफ्नै भाइ पर्नेले २ लाख लिए, तर केही छैन दाइ म

पनि त्यही गर्छु। साहुलाइ भनेर कसैको भिसा लगाइदिन्छु, २–३ लाख लिन्छु, नो गुनासो। भर्खरै एक बीस पार गरेको कपिल भाइको योजना।

दाल भात खान नपाएको धेरै दिन भएको थियो। मेनु हेर्दै जाँदा समुद्रको किनारमै पाइयो। घाम अस्ताउने बेला नारायणी नदी किनारमा बसेर डिनर खाएको झझल्को दिने यो रेस्टुराँमा ठोक्किए निजगढका भाइ कपिल। ७ जना त नेपाली नै रहेको उक्त रेस्टुराँमा उनी नेपालीमध्येको सिनियर रहेछन्, अनुभवले गर्दा होला उनको फूर्तिफार्ति झल्किन्थ्यो। अरु नयाँलाई आदेश दिन्थे। झट्ट हेर्दा यहीँको स्थानीयजस्ता देखिने उनको हाउभाउप्रति उनी आफैँ गर्व गर्थे। दाइ, मलाई बाल छैन, यहाँको भाषा प्रस्ट बोल्छु साहुले नि माया गर्छ। २५ नकाटेका कपिलकी श्रीमती गल्फतिर रोजगारीमै रहिछिन्। भेट नभएको ५ वर्ष भैसकेछ।

अरुले वाहीवाही गरेर पुग्ने टापु भनेर के गर्नी त्यहीँ बस्नेलाई त जेल नै लाग्ने रहेछ। उनी भन्छन्– ‘के गर्नु दाइ, न खाने कुरा गतिलो पाइन्छ, न केही गर्न पाइन्छ। माछा उसिनेर नुन छर्केर खान मात्रै जानेका स्थानीयहरूले यस्तो राज गरेका छन्, हामी त्यस्तो स्वर्गजस्तो ठाउँबाट यसरी पिल्सिएर कैदी जस्तै हुनु परेको छ। काम छैन दाइ, ४०–५० हजार कमाएर नेपाल लगेर के हुन्छ? घर कहिले बनाउनु? जहानबच्चा कसरी पाल्नु? यहाँ खान आएकी पोलिस नागरिक फकाएको छु, भिसा पठाउँछु भनेकी छ, छिर्ने दाइ अब युरोप।’

उनी थप्दै गए, ‘नेता खत्तम, खाली आफ्नै भुँडी भर्ने, हेर्नुस् त दाइ, जाबो पोल्यान्डको एउटा दूतावास नि छैन, भिसा लाउन दिल्ली जानु पर्ने रे! ६ दिन ९ घण्टाको दरले काम गर्छु अनि अर्को टापुमा लोकल कुखुरा, परेवा हालेको छु, ड्युटी सकिएपछि उता हेर्छु।’

सुत्ने कतिखेर त भाइ? 

‘यो उमेरमा सुत्ने हो त दाइ? सकेसम्म काम गर्ने हो, कमाउने हो। जहानबच्चा सोच्न पर्यो नि दाइ, एक ठाउँको कमाइले के नै हुन्छ र?’

यी भाइको कुराले मन धेरै दुखायो, यस्ता मेहनती युवा स्वदेशमा किन अडिन सक्दैनन्? खाडीका मरुभूमि हराभरा बनाउने हाम्रा युवा, डुब्न लागेका बालुवालाई मालामाल बनाइदिने यी युवालाई किन नेपाल आमाले आफ्नो छातीमा अड्याउन सकेन? खानाको स्वादको सट्टा मन यस्तैमा डुबिरह्यो।

नेपालीकै चमकधमकले चलेको रेस्टुराँ भएकोले होला स्पिकरमा ठूलो आवाजमा ‘मुसेको छोरा हातभरि ट्याटु, गँजडीको जस्तो कपडा मेरो चाक पनि सुकेको’ बोलको गीत घन्किरहेको थियो। शब्द बुझ्ने भएको भए सरिया कानुन मान्ने यस्तो ठाँउमा कारबाही नै हुन्थ्यो होला तर संगीत भने गजबै थियो, सबै पाहुनाहरू म्युजिकको तालमा झुम्दै थिए। 

छेउको टेबलमा ब्रिटेनतिर बसोबास गर्ने अफ्रिकी मुलुकका परिवार थिए, ती भाइले हामीसँग गफ गरेको देखेर उनीहरू पनि कपिलसँग गफ गर्न थाले। अलि अघिसम्म नेपाल नामै लिन नचाहने कपिलले ती पाहुनालाई नेपालको तारिफ गर्दै यो पानीमा के मज्जा छ र एकचोटि नेपाल जाऊ त, तिमीले कस्ता कस्ता अनुभव गर्छौ– हाम्रा भेषभुषा, मन्दिर, गुम्बा, हिमाल, पहाड, भाषा, संस्कृति, आदिआदि। 

मेरो मन भक्कानियो– यही हो नेपालीको पहिचान, सन्तानको घाँटी नै निमोठे पनि आमा आमा नै हुन्। जुन देशमा भविष्य नदेखिएर भासिएका छन्, हेर्नुस् त त्यो देशप्रतिको लगाव! मलाई असह्य भयो। उनी छेउमा आएर भने, है दाइ! यिनीहरू हाम्रो पोखरा, जानकी मन्दिर, खप्तड गये भने के भन्लान्?

दिनभरी केही गर्न मन लागेन। होटलको स्विमिङ पुलछेउ कम्प्युटर लिएर बसेँ र अठोट गरेँ, कपिलको सन्देश नपठाई केही गर्दिनँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .