सुन प्रकरणको जाँचबुझ गर्न गठित न्यायिक आयोगको प्रतिवेदनका विवरण सार्वजनिक हुन थालेपछि माओवादी नेता कृष्णबहादुर महरा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘राडार’मा होलान् भन्ने अनुमान थियो।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ गरेपछि त ‘ठूला माछा’ जालमा पर्न सक्ने अनुमान झन् बलियो बनेको थियो।
नभन्दै सोमबार बिहान उनी पक्राउ परेको खबरसँगै अफिसबाट यही घटना पछ्याउन मलाई ‘असाइनमेन्ट’ प्राप्त भयो।
बिहान ११ बजे। हतारहतार म सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा पुगेँ। निकै हतारमा हिँडिएकाले फुलेको सास सामान्य भइसकेको थिएन।
क्यामरा मिलाउनतिर लागियो।
क्यामरा मिलाइसक्न पाएको थिइनँ, त्यहाँ रहेका केही फोटो पत्रकार साथीहरूमा हलचल भयो। बागमती प्रदेश ०१–०२८ च ६९६५ नम्बरको सेतो स्कोर्पियो भित्र पस्यो।
‘यही हो, यही हो,’ साथीहरूले भने।
गाडीमा थिए, कृष्णबहादुर महरा। सुन तस्करी प्रकरणमा कपिलवस्तुमा पक्राउ परेका उनलाई भैरहवा हुँदै त्रिभुवन विमानस्थलबाट सीआईबी ल्याइएको थियो।
महरा कुनै बेला देशका प्रमुख ५ पदमध्ये पर्ने सभामुखको कुर्सीमा पुगिसकेका र अहिले पनि सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका व्यक्ति थिए। देशका प्रधानमन्त्रीसँग उनी सोझै टेलिफोनमा कुरा गर्न सक्थे।
तर, उनी सोमबार प्रहरीको नियन्त्रणमा थिए। गृहमन्त्री समेत भइसकेका महरालाई कुनै बेला प्रहरीले देख्नेबित्तिकै सलाम गर्थे। प्रहरीले जे भन्यो, त्यही गर्नुपर्ने, जता हिँडायो, त्यतै हिँड्नुपर्ने।
गाडीबाट महरा बिस्तारै काँप्दै ओर्लिए। उमेर ६५ मात्र पुगे पनि उनी निकै कमजोर देखिन्थे। कपाल जिङ्ग्रिङ्ग थियो। सीआईबीका अधिकृतले भर दिएर उनलाई माथिको कोठामा लगे। जहाँ उनीसँग सोधपुछ हुनेवाला थियो।
मैले हतारहतार उनको केही स्न्याप लिएँ।
उसो त सीआईबीका अधिकारीहरूले पत्रकारलाई कार्यालय परिसरबाहिरै राख्न खोजेका थिए। तर, हामी पहिले नै भित्र छिरिसकेकाले केही फोटो पत्रकार सीआईबीमा महराको तस्बिर लिन सफल भयौँ।
करिब साढे एक बजेतिर म सरकारी वकिल कार्यालय पुगेँ। किनकि महरालाई सीआईबीपछि सरकारी वकिल कार्यालय लैजाने तयारी थियो।
सरकारी वकिल कार्यालयमा करिब २ घण्टा २० मिनेटको प्रतीक्षापछि नीलो रङको गाडीमा महरालाई ल्याइयो। उनी गाडीबाट ओर्लिनेबित्तिकै सञ्चारकर्मीहरूले घेरा हालिहाले।
म पनि अघि बढेर उनको तस्बिर लिन थालेँ। सुरक्षाकर्मीहरूले उनलाई लैजाँदै गर्दा म पछ्याउँदै सुरक्षाकर्मीले नरोकुन्जेल भित्रसम्म पुगेँ। तैपनि मैले चित्तबुझ्दो तस्बिर लिन पाइनँ।
सरकारी वकिल कार्यालयपछि महरालाई अदालत लगिने थियो। उनको तस्बिर लिन सबै बाहिर प्रांगणमा पर्खेर बसेका थिए। तर, मलाई लागेन, उनलाई त्यही बाटो ल्याइन्छ।
त्यसपछि म सुरक्षाकर्मीले उनलाई कताबाट बाहिर लैजाला भनेर सोच्न थालेँ। सबैभन्दा सहज बाटो भूमिगत पार्किङ थियो। म क्यामरा लिएर त्यतै दौडिएँ।
नभन्दै महरालाई त्यहीँबाट निकालियो। म एकदम तयार थिएँ। सामुन्ने आउनासाथ मैले फटाफट स्न्याप लिएँ। धेरैवटा फोटो खिचेको देखेर महराले मलाई भने– भयो, भयो, आजलाई पुग्यो।
त्यसपछि प्रहरीले उनलाई गाडीमा चढाएर अदालततिर हुइँक्यायो। नजिकबाट धेरै पोजहरू क्यामेरामा कैद गर्न पाएपछि मलाई पनि आजका लागि पुगेजस्तै लाग्यो।
तर पत्रकार न परियो, यतिले कहाँ पुग्थ्यो र? काठमाडौँ जिल्ला अदालतसम्मै पछ्याइयो।
Shares
प्रतिक्रिया