ad ad

ब्लग


जनता र कार्यकर्ताका गाली सम्झिँदा नेताप्रति दया जाग्छ

कसले बिगार्दैछ हाम्रा नेता?
जनता र कार्यकर्ताका गाली सम्झिँदा नेताप्रति दया जाग्छ

जयशंकर सिंह
साउन ३, २०८१ बिहिबार १०:५३, सर्लाही

‘एउटा संगठन सञ्चालन गरेर हेर्नुस् त, सञ्चालन खर्च कति आउँछ?’

दुई वर्षअघि नगरपालिकाको चुनाव लड्दै गरेका एकजना प्रत्याशीले त्यतिबेला मसँग भनेका थिए, ‘मैले केही खर्च गरेको छैन, तर पनि दिनको २५ हजार रुपैयाँ त पानीमा मात्रै खर्च भइरहेको छ।’

निर्वाचन जिताउन सबै शक्ति लगाइरहेका कार्यकर्तालाई दिउँसो खाना र पानी मात्रै होइन, साँझ परेपछि रक्सीमासुको व्यवस्था नगरे चुनाव जित्न गाह्रो पर्ने दुखेसो उनले गरे।

विभिन्न राजनीतिक पार्टी र तिनका विभिन्न भातृ संगठनको अधिवेशन, देशभरि गरिने विभिन्न कार्यक्रम, विभिन्न ठाउँको र्‍याली, कार्यकर्ता परिचालन आदिको लागि खर्च व्यवस्थापन कसरी हुन्छ होला? के त्यो खर्च नेताहरूले आफ्नो पुर्ख्यौली सम्पत्तिबाट गलान् त? अवश्य नै गर्दैनन्। विभिन्न ढंगका आर्थिक अनियमितता र भ्रष्टाचारका स्रोतबाटै त्यो रकम जुट्ने हो। 

केही दिनअघि एकजना नेताजीको घर काठमाडौँ पुगेको थिएँ। घरमा कार्यकर्ताको निकै घुइँचो थियो। उहाँले बिहानैदेखि कार्यकर्ताको भिड हुने भएकाले बेलुका शान्त भएको बेला मात्रै मसँग कुरा गर्न चाहनु भयो।

साँझ म पुगेँ। हामीबीच कुराकानी सुरु भयो। 

‘मकहाँ खाना पकाउने व्यक्ति एक महिनाभन्दा बढी टिक्दैनन्,’ उनले भने, ‘यहाँ सधैँ कार्यकर्ताहरूको भिडभाड हुन्छ। चिया, खाजा र खाना पकाउँदा हैरान हुन्छन् क्यारे। त्यसैले किचनमा काम गर्ने मान्छे मकहाँ टिक्दैनन्। यहाँ सधैँ नयाँ मान्छे हुन्छन् किचनमा। एक महिना जति भएपछि पुरानो जान्छ, नयाँ आउँछ।’

हामी गफिँदै थियौँ। त्यत्तिकैमा उहाँको मोबाइलमा फोन आयो। स्पिकर अन थियो। वहाँहरूबीच चलेको संवाद म पनि सुनिरहेको थिएँ। उताबाट रक्सीले मातेर लटपटिएको स्वरमा कुनै कार्यकर्ता बोलिरहेका थिए।

‘म अहिले फलानो होटेलमा खाजा खाँदैछु। तपाईं छिटो यहाँ आउनु पर्‍याे!’ उताबाट निर्देशनात्मक शैलीमा कोही भन्दै थियो। त्यत्तिकैमा फोन कट्यो। नेताजीले ती कार्यकर्ताको शैलीको कुनै प्रतिवाद गरेनन्।

उहाँले मेरो मुखमा हेर्दै भन्नुभयो, ‘यिनले होटेलमा कुनै व्यक्तिसँग बाजी राख्या होलान्, म एक कलमा नेतालाई यहाँ बोलाउन सक्छु भनेका होलान् सायद। यदि म गइँन भने उसले बाजी हार्छ। र, भोलिदेखि ऊ मेरो विरोधी हुन्छ। त्यसैले जसरी पनि अब त्यहाँ पुग्नै पर्छ सर!’ 

रातिको दस बज्नै लागेको थियो। ‘तपाईँ खाना खाँदै गर्नुस्, म गएर तुरुन्तै फर्किहाल्छु,’ भन्दै उनी हिँडे। मैले एक्लै खाना खाएँ।

केही दिनअघि हरिवनमा एकजना नेताजी स्कर्पियो आफैँ ड्राइभ गरेर पश्चिमबाट पूर्वतिर आउँदै हुनुहुँदो रहेछ। जनकपुर जानको लागि म पनि सार्वजनिक बस पर्खेर सडक छेउमा उभिएको थिएँ। नेताजीको गाडी मेरै अगाडि आएर रोकियो। 

नेताजीले झ्यालको सिसा तल झार्नुभयो। भित्रबाट आवाज आयो ‘बस्नुस्’। नमस्कार गर्दै म यन्त्रवत् रुपमा गाडीको बीचको सिटमा गएर बसेँ। गाड‍ी केही अघि बढेको मात्रै थियो। एकैछिनमा फेरि गाडी रोकियो। सडक छेउमा अर्का कार्यकर्ता भेटिए। नेताजीको विचार उनलाई मसँगैको सिटमा बसाउने थियो होला। तर, ती कार्यकर्ता नेताजीसँगै ढेसिएर अगाडिकै सिटमा बसे। 

त्यहाँबाट गाडी अघि बढेको एक मिनेट पनि भएको थिएन। अर्का कार्यकर्ता सडक छेउमै उभिइरहेका रहेछन्। ती पछिल्ला कार्यकर्ता अगाडिको सिटमा बसेको व्यक्तिलाई कर्के आँखाले हेर्दै मसँगको सिटमा आएर बसे। हामी एउटै गाडी चढेर जनकपुर गयौँ।

यो घटनाक्रम मैले बिर्सिसकेको थिएँ। तर एकदिन कुनै कामविशेषले म तिनै नेताजीको घरमा पुग्दा उहाँले त्यो दिन स्कर्पिओमा जनकपुर जाँदाको घटनाक्रम सम्झाउन थाल्नु भयो।

‘त्यो दिन मेरो छेउमा अर्को कार्यकर्ता बसेकै कारणले तपाईंसँगैको सिटमा बसेको कार्यकर्ताले मेरो साथ छोडयो। ऊ अब मेरो विरोधी बनेको छ। मसँगको सिटमा अर्को मान्छेलाई राखेकोमा ऊ मसँगै रिसाएकाले यस्तो भयो।’

उहाँको कुरा सुनेपछि मलाई लाग्यो, ‘ओहो! नेताहरूलाई कार्यकर्ता पाल्न, संगठन चलाउन कति गाह्रो छ है! बिचरा!

चिया पसल, चोक चौराहा र सामाजिक सञ्जालमा नेताजीका विरुद्धमा कार्यकर्ताले विष बमन गरिरहेका भेटिन्छन्। कार्यकर्ताहरूले विभिन्न माध्यमबाट सरकार र नेतालाई गाली गरिरहेका पनि हुन्छन्। ती सबै गाली सम्बन्धित नेताले हेर्न, पढ्न वा सुन्न पाउँछन् होला त? यदि पाउँछन् भने नेताहरूले आफूलाई कसरी स्थिर राख्न सकिरहेका होलान्? 

जनता र कार्यकर्ताका गाली सुन्दा उनीहरूलाई मानसिक सन्तुलन कायम राख्न कति गाह्रो पर्दो होला? यो सम्झिँदा मलाई कताकता नेताहरूप्रति दया जागेर आउँछ!

स्वार्थमा लिप्त कार्यकर्ताको झुण्ड सरकार परिवर्तन हुनासाथ रुप फेर्छन्। एउटा पार्टीको कार्यकर्ता अर्को पार्टीको उर्जामा स्थानान्तरण भएर जान्छ। केही दिनमै उनीहरूको लवाइ, खुवाइ र चालढालमा आमुल परिवर्तन देखिन थान्छ। आवश्यकता बढ्नेबित्तिकै अपेक्षा बढ्छ। उनीहरू आफ्ना आवश्यकता पूरा गर्न नेताजीहरूलाई बाध्य पार्छन्। अनि सुरु हुन्छ भ्रष्टाचारको खेल!

ए कार्यकर्ताज्यूहरू! मेरो सल्लाह मान्नुहुन्छ भने वर्तमान व्यवस्थाबाटै पनि देश तीव्र गतिमा विकास गर्न सकिन्छ। त्यसको लागि सबैभन्दा पहिला तपाईंहरूले आफूलाई सुधार गर्नु जरुरी छ।

तपाईं अब्बल नेताको कार्यकर्ता बन्नुस् र भोट पनि दिनुस्। तपाईँमा त्यो खाले चेतनाको विकास भयो भने पार्टीहरू राम्रो नेता अगाडि सार्न बाध्य हुनेछन्। तपाईँ देश विकासको अपेक्षा मात्रै राख्नुस्, व्यक्तिगत फाइदाको पछि लाग्ने कार्य छोड्नुस्।

नेताहरूलाई बेकारका कार्यक्रममा बोलाएर समय बर्बाद नगराउनुस्। उहाँलाई मात्र विकासको कुरा सोच्न र गर्न दिनुस्। नेताहरूले गरेका राम्रो र नराम्रो कामको लेखा राख्नुस्। गलत मान्छेलाई ल्याएर नेताबाट गलत काम गराएर खाने खुवाउने काम बन्द गर्नुस्। 

व्यक्तिगत स्वार्थ र लोभको आधारमा पार्टी परिवर्तन गर्ने र र्‍यालीमा जाने काम छाड्नुस्। आफ्नो नेताले गरेको राम्रा कामलाई मात्र ठिक भन्नुस्। पार्टी र नेताको अन्धभक्त नबन्नुस्। के तपाईँहरू त्यसो गर्न सक्नुहुन्छ? 

(जयशंकर सिंह महादेव जनता नमुना मावि हरिवन, सर्लाहीका पूर्वप्रअ हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .