समाज


महराले काठमाडौं छाडेपछि बर्दघाटबाट पछ्याएको थियो प्रहरीले

महराले काठमाडौं छाडेपछि बर्दघाटबाट पछ्याएको थियो प्रहरीले

तस्बिर : सरोज बैजु


नेपालखबर
चैत ५, २०८० सोमबार १३:१०, काठमाडौँ

पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रहरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरी निगरानी थिए।

यसबीचमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उच्च सुरक्षाअधिकारीहरूलाई आइतबार निर्देशन दिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई गृहमन्त्रालयमै राखेर उनले उक्त प्रतिवेदन कार्यान्वयन अघि बढाउन भनेका थिए।

गृहमन्त्री लामिछानेको निर्देशनसँगै सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले पनि उक्त आयोगको प्रतिवेदन बुझिसकेका थिए।

जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरसँग एक्ला एक्लै लामो छलफल पनि गरे। आईजीपी कुँवरसँगको करिब ३ घण्टा लामो छलफलपछि जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीको जिम्मा लगाइयो।

प्रतिवेदन हात परेसँगै सीआईबीले महरालाई निगरानीमा राखेको थियो। गृहमन्त्री लामिछानेले मा‌ओवादी उपाध्यक्ष महरासहित जाँचबुझ आयोगको प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएसँगै निगरानी बढाइएको थियो।

प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिए। उनी स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको थियो।

प्रहरीका एक उच्च अधिकारीका अनुसार महरा भारततिर भाग्ने योजनासहित काठमाडौंबाट बाहिरिएका थिए। यद्यपि महराले कपिलवस्तुबाट पक्राउ गरिँदा आफू रोल्पामा हुन लागेको कार्यक्रममा जान हिँडेको जवाफ दिएका थिए।

बर्दघाबाट पछ्याएको प्रहरीले उनलाई आइतबार साँझ नै बुटवल आसपासबाट पक्राउ तयारी गरेको थियो। तर उनी त्यहाँबाट अघि बढेका महरालाई सोमबार बिहान खाना खान तयारी अवस्थामा रहेको अवस्थमा प्रहरीले पक्राउ गर्‍यो।

स्रोतका अनुसार अचानक काठमाडौं छाडेका महराले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए। सोमबार बिहान पक्राउ गरिसकेपछि पनि उनले भैरहवाबाट प्रचण्डलाई फोन गरे। 

उनले प्रहरी र प्रधानमन्त्री दुवैसँग आफू भागेर कहीँ नजाने भन्दै यसरी पक्राउ नगरेको भए पनि हुने गुनासो राखे।

‘मलाई किन त्यस्तो गर्नु, म आइहाल्थेँ नि’, उनले प्रहरी र प्रधानमन्त्री दुवैलाई एकै कुरा भनेको स्रोतले जनाएको छ।

महराको गुनासोपछि प्रधानमन्त्रीले अब काठमाडौं आउनुस् भन्ने जवाफ दिएका थिए। 

सुन तस्करी प्रकरणबारे गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। 

त्यसैगरी इलेक्ट्रिक चुरोट (भेप) मा हालेर ल्याएको १४ किलो सुन तस्करी प्रकणमा पनि माओवादीका उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .