ad ad

ब्लग


राष्ट्रिय खेलकुद खेलाडीको भविष्यसँग जोडिएको हुन्छ : उपराष्ट्रपति पुन

‘कुनै समय म राष्ट्रिय खेलकुदमा छनोट भएर पनि सहभागी हुन पाएको थिइनँ’
राष्ट्रिय खेलकुद खेलाडीको भविष्यसँग जोडिएको हुन्छ : उपराष्ट्रपति पुन

नन्दबहादुर पुन
असोज २८, २०७९ शुक्रबार २१:३९, काठमाडौँ

राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकहरुका लागि यो ठूलो महोत्सव हो। हामी हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुगेका छौँ। आजभन्दा ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरु पार गरेको छ। यहाँ थुप्रै कीर्तिमान बनेका छन्। अवसरहरु सिर्जना भएका छन्। चुनौतीहरु पन्छिँदै गएका छन्। सम्भावनाहरु देखिएका छन्। भौतिक पूर्वाधार निर्माण हुँदै गएका छन्। राष्ट्रिय खेलकुद आयोजना हुने सहरहरुले आफूलाई फेर्ने अवसर पाएका छन् र समृद्धिको मार्गमा अग्रसर भइरहेका छन्। खेलकुद आम नेपालीहरुको लागि चासो र प्राथमिकताको विषय बनेको छ। खेलकुदप्रतिको सोचमा निकै सकारात्मक परिवर्तन आएको छ।
 

राष्ट्रिय खेलकुदले विविध चुनौती पनि भोगिरहेको छ। तथापि, यसले हरेक संस्करणमा केही नयाँ गर्दै आएको छ। २०३८ भदौ २७ देखि असोज ४ सम्म भएको प्रथम संस्करणमा १६ वटा खेल समावेश थिए। जम्मा २६६ पदकका लागि भएको राष्ट्रिय खेलकुदमा १४ सय ४३ जना खेलाडी सहभागी थिए। यो पोखरालाई देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न र यसको मुहार फेर्न कोशेढुंगा सावित भएको २०४० साल चैत्र १२ देखि २० गतेसम्म यसै भूमिमा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २१ खेलमा प्रतिस्पर्धा गराइएको थियो। जम्मा ३७० पदकका लागि भएको प्रतिस्पर्धामा २ हजार ५७ जना खेलाडी सहभागी थिए। ती खेलकुदमा सबै भूगोलबाट र महिला सहभागिता न्यून मात्रामा थियो।

पोखेरेली सहरले ३९ वर्षपछि दोस्रो पटक स्वागत गरेको यो नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेलमा प्रतिस्पर्धा चलिरहेको छ। पदक संख्या १३ सय ८६ पुगेको छ। प्रतिस्पर्धामा करिब आठ हजार खेलाडी सहभागी हुने विश्वास गरिएको छ। यो खेलकुदमा सहभागी खेलाडीमध्ये करिब ४७ प्रतिशत महिला हुनुहुन्छ। यसबाट हामी भन्न सक्छौँ –राष्ट्रिय खेलकुद विस्तार भइरहेको छ। महिला सहभागिता उल्लेख्य मात्रामा वृद्धि भएको छ। विदेशमा रहनुभएका नेपाली खेलाडीहरुसहित, विभागीय र सबै भूगोलका खेलाडीहरुको सहभागीता छ। म यस अवसरमा राष्ट्रिय खेलकुदको सुरुवात गर्दै नवौं संस्करणसम्म ल्याइपुर्याउन योगदान पुर्याउनु हुने सबैमा सम्मान व्यक्त गर्दछु। 

राष्ट्रिय खेलकुद हजारौँ खेलाडीको खेल जीवनको भविष्यसँग जोडिएको हुन्छ। दुरदराजमा हुर्किएर खेलकुदमा अघि बढ्दै गरेका खेलाडीहरुको लागि त यो सपना जस्तै हो। किनकि यो खेलाडी र सम्बद्ध सबैका लागि आफ्नो क्षमता र प्रतिभा राष्ट्रसामु प्रदर्शन गर्ने, राष्ट्रले नयाँ प्रतिभाहरु जन्माउने र कीर्तिमानहरु सिर्जना हुने प्रमुख अवसर हो। यो प्रतियोगिताबाट थुप्रै विधामा नयाँ राष्ट्रिय कीर्तिमानहरु बन्ने मैले अपेक्षा लिएको छु। विधिवत उद्घाटन अगावै सम्पन्न विविध विधाका प्रतियोगिताहरुमा पदक विजेता टिम र खेलाडी मित्रहरुलाई बधाई दिँदै तपाईं उत्कृष्ट खेलाडीहरुलाई नयाँ राष्ट्रिय कीर्तिमानका लागि शुभकामना व्यक्त गर्दछु।

राष्ट्रिय खेलकुदको आयोजनाले भौतिक पूर्वाधारको विकास हुन्छ। सहरका मुहार फेरिन्छन्। यसबाट राष्ट्रको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुग्छ। यस्ता अवसरमा हुने छलफल र भलाकुसारीबाट खेलकुद क्षेत्रका विकासका लागि नीतिगत रुपमा महत्वपूर्ण सुधार हुन्छन्। खेलकुद क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना बन्छन्। आज यहाँ उपस्थित हुँदै गर्दा पछिल्ला तीन संस्करणका राष्ट्रिय खेलकुदमा जनाएको सहभागिता, त्यस अवसरमा गरिएको छलफल र अहिले भइरहेका कार्यप्रगति स्मरण गरिरहेको छु। 

सातौं राष्ट्रिय खेलकुदको समापन समारोहमा तत्कालीन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिवसहित हामीले खेलकुदको विकासका लागि स्पोर्टस् युनिभर्सिटी स्थापना गर्नुपर्नेमा छलफल गरेका थियौँ। खुसीको कुरा आज यो कार्यान्वयन प्रक्रियामा अगाडि बढिसकेको छ। त्यसै समारोहको छलफलबाट कम उमेरका बालबालिकाबाट क्षमतावान खेलाडी पहिचान गर्ने उद्देश्यले राखेपले उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरुवात गर्यो। जेष्ठ नागरिक खेलकुद प्रतियोगिताको प्रक्रियामा अगाडि बढेको छ। नेपालका सबै क्षेत्रमा खेलिने भलिबल राष्ट्रिय खेल बन्यो। गणतन्त्र प्राप्तिपछिको सरकारले खेलकुदलाई प्राथमिकता दिंदै युवा तथा खेलकुद मन्त्रालय बनायो। 

हामीले भनेका थियौँ –सातौं राष्ट्रिय खेलकुदले धरानको मुहार फेर्नेछ। बाँसले बारिएको धरानको रंगशाला अहिले भव्य बनेको छ। आठौं राष्ट्रिय खेलकुदका लागि लुम्बिनीलाई झण्डा हस्तान्तरण गर्दा मैले भनेको थिएँ– लुम्बिनीले खेल पूर्वाधारमा छलाङ मार्नेछ। अहिले त्यसै भएको छ। नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीलाई झण्डा हस्तान्तरण गर्दा मैले नै भनेको थिएँ –गण्डकीले खेलकुद पूर्वाधारमा फड्को मार्नेछ। दोस्रो राष्ट्रिय खेलकुदले स्थापित गरेको पोखरालाई यो प्रतियोगिताले थप अगाडि बढाएको छ। गण्डकी प्रदेशको खेलकुद पूर्वाधार विकास भएको छ। म यो आयोजना र खेल क्षेत्रको विकासका लागि पोखरेली र गण्डकीबासीमा बधाई दिन चाहन्छु।

आजको विश्वमा भातृत्व, शान्ति र समझदारी विकासका लागि खेलकुद महत्वपूर्ण कडी हो। व्यक्तिगत विषयभन्दा पनि सिंगो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचान हो। मानवीय मूल्य मान्यता, सामाजिक सद्भाव र भाइचारा विकास गर्न तथा शारीरिक र मानसिक रुपले स्वस्थ नागरिक तयार गरी खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति र अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान र राष्ट्रिय चिनारी उँचो बनाउन खेलकुदको व्यापक विकास आवश्यक छ। त्यसैले त स्वास्थ्यको लागि खेल, पहिचानका लागि खेल, राष्ट्रका लागि खेल, अनुशासन र समृद्धिका लागि खेल, राष्ट्रिय एकताका लागि खेल भनिएको छ। 

खेलकुद विकासको पहिलो सर्त भने पूर्वाधारको विकास नै हो। यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नु नै हो। तर, पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति देखिरहेको छैन। वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन्। खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ। सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन। सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौँ –खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौं , राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ। किनकी साझा प्रयासविना यसको विकास कठिन हुन्छ।

पदक जित्नुमात्र विजयी हुनु होइन। जिल्ला र प्रदेश तथा विभागबाट प्रतिस्पर्धा गर्दै राष्ट्रिय खेलकुदसम्म आइपुग्नु आफैँमा ठूलो विजय हो। कुनै समय म राष्ट्रिय खेलकुदका लागि छनौट भए तापनि विविध कारणले सहभागी हुन नपाएको मैले आज स्मरण गरिरहेको छु। यस्तो परिस्थिति यहाँहरु थुप्रैले भोग्नु भएको होला। म यस अवसरमा विभिन्न छनौट चरण पार गर्दै राष्ट्रिय खेलकुदमा आएर प्रतिस्पर्धा गर्नुहुने सम्पूर्ण खेलाडीहरुमा बधाई ज्ञापन गर्दछुु। गहिरो आत्मविश्वास र उच्च मनोबलका साथ प्रतियोगितामा भाग लिन आग्रह गर्दछु।

निश्चय नै, हाम्रा खेलाडी मित्रहरुले स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइ भोगिरहनु भएको छ। तर पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय छ। खेलकुदको माध्यामबाट नेपालको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउनु हुने सबै खेलाडी र सम्बद्ध पदाधिकारीहरुमा यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु।

विगतको तुलनामा खेलाडी मित्रहरुको सेवा सुविधामा भने वृद्धि भएको मैले जानकारी पाएको छु। खेलाडी मित्रहरुले यस क्षेत्रमा लामो समय व्यथित गर्नुभएको छ। खेलकुदबाट प्राप्त प्राविधिक शिक्षाको प्रमाण पत्रलाई औपचारिक शिक्षा सरह मानिनुपर्ने आवाज उठिरहेका छन्। यस विषयलाई गहिरोगरी मनन् गर्न, अध्ययन गर्न र निचोडमा पुग्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। खेल क्षेत्रका कर्मचारीहरुको लामो समयदेखि बढुवा हुन नसकेको र संघीय कानून बमोजिम समायोजन हुन नसकेका गुनासा पनि छन्। यसतर्फ पनि ध्यान दिन म ध्यानाकर्षण गराउन चाहन्छु।

( नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार पोखरामा भएको उद्घाटनको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले दिएको मन्तव्यको सम्पादित अंश ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .