ad ad

ब्लग


साझा बसमा भेटिएकी उनी

साझा बसमा भेटिएकी उनी

असिम खनाल
असोज ४, २०७९ मंगलबार १४:२०, काठमाडौँ

वैशाख महिनाको टन्टलापुर घाममा धापाखेलदेखि आधा घण्टा हिँडेर लगनखेलको साझा बस बिसौनीसम्म आइपुग्दा म मुर्झाएको गुर्धौली फूलजस्तो भइसकेको थिएँ। एक बोतल पानीले प्यास मेटाइदिउँ भन्ने हेतुले गोजी टकटक्याउने विचार गर्दागर्दै फ्याट्ट सम्झेँ– जाने र फर्कने भाडाबाहेक एक सुको पनि बढी पैसा गोजीमा छैन।

यो प्यास पहिलोपटक लागेको भए उसले यो मध्यमवर्गीय जीवनलाई धिक्कार्थ्याे होला, तर अब त प्यासले पनि आफ्नो मालिकको अवस्था बुझिसकेको छ। मालिकले पनि सहरको अवस्था बुझिसकेको छ। बिनापैसा एक थोपा पानी पनि नसिब छैन यो कान्तिपुरी नगरीमा।

काम विशेषले दिदीको घर सामाखुसी हिँडेको म अब दिदीको घरमै पुगेर पेट पटाउँला भन्ने सोचका साथ बस चढेँ। बस चढ्नेबित्तिकै सिट फेला पार्न सकियो, आश्चर्यजस्तै भयो। सधैँ त ठेलमठेल गर्दै हिँड्नुपर्ने हुन्थ्यो। अझै साझा बस आकारमा ठूलो भएकाले स्पिडमा कुदाउँदा सानो घुम्तीमा पनि सही सलामत अडिन अरू सानातिना गाडीमा भन्दा ‘एक्स्ट्रा’ बल लगाउनुपर्ने हुन्छ।

तर आज भने तिर्खाएको शरीरलाई दुःख दिन नपर्ने भयो। यही खुसियालीमा जाबो एक बोतल पानी किन्न नसकेको तिक्तता भुलेर झ्यालतिरको सिटमा गमक्क पर्दै बसेँ।

गाडी हुइँकियो। झ्यालबाट छिरेको चिसो हावाले कपाल फुरुर्र उडायो, पसिना सुक्दै गयो। म आँखा चिम्लिएर फोक्सोभरि सास लिँदै हलुंगो हुँदै गएँ। सारा थकान मेटिएजस्तो भयो र शरीर त्यही मुर्झाएको गुर्धौली फूलको पत्रजस्तै हलुका भयो। म फूलको पत्र नै बनेँ र थुँगाबाट छुट्टिएर हावासँग उड्दै उड्दै धारेखोल्साको पानी पँधेरोमा पुगेँ। ऐनाजस्तै सङ्लो पानीमा आफ्नै प्रतिबिम्ब हेर्दै प्रफुल्ल भएर रंगीचंगी पुतलीहरूसँग नाच्न थालेँ।

सालको जरा–जराबाट एक–एक थोपा जम्मा भएर बनेको यो सानो पोखरीको पानी धानको बिटा बोकेर पसिना चुहाउँदै बेँसीबाट गाउँतिर उकालो चढिरहेका बेला सारा गाउँलेलाई अमृत समान लाग्थ्यो। मेरो शरीरको विकासमा पनि यहाँको पानीको ठूलो योगदान छ। बाल्यकालदेखि पिएको धारेखोल्साको पानीको अंश अझै पनि मभित्र होला।

पुतलीहरूसँग उड्दै नाच्दै थिएँ, कसैले झक्झक्यायो। आँखा खोली हेर्दा कन्डक्टरले भाडा माग्न उठाएको रहेछ। पसिनाको तापले लल्याकलुलुक भएको एउटा नोट थमाइदिएँ। बसभित्र थामिनसक्नुको भीड भइसकेको रहेछ। यो भीडको होहल्ला र ठेलमठेल हेर्न लायकको हुन्छ। मानिसहरू आआफ्ना दिग्दारी एकअर्कालाई ठेलिरहेजस्तो भान हुन्छ। एकपटक मुन्टो घुमाएर सबैलाई हेरेँ। सबैको अनुहारमा कहीँ पुग्ने हतारो थियो, केही प्राप्त गर्ने उत्कण्ठा थियो। तर कसैको अनुहारमा कान्ति थिएन। मानिसहरूको व्यस्तता यस्तो देखिन्थ्यो; कसैलाई मुस्कुराउने फुर्सद पनि छैन। 

बसले घ्याच्च ब्रेक हान्यो। उभिएका केही मानिस अगाडि हुत्तिए। हुत्तिएकाहरूमध्ये केहीले नहुत्तिएकाहरूको ज्यानको सहारामा आफूलाई सम्हाले। नहुत्तिएकाहरूमध्ये केहिले हुत्तिएकाहरूलाई कर्के नजर लगाए। केही मानिसहरूले ड्राइभरको क्षमतामाथि नै प्रश्न ठड्याए। बाहिर आकाशे पुल चढ्न अल्छी मानी पुलमुनि सडकबाटै बाटो काट्ने बटुवालाई ड्राइभरले हप्कायो। बटुवा भने ड्राइभरलाई माझी औँलाको सलाम ठोकेर सडक छेउमा ग्राहक पर्खेर बसिरहेको ज्योतिषसँग आफ्नो भविष्य देखाउन बस्यो।

लैनचौरको बस स्ट्यान्डमा एकछिन गाडी रोकियो। एक हुल ओल्र्यो, अर्को हुल उक्लियो। मेरो ध्यान भने उक्लनेहरूमध्ये एउटा उज्यालो अनुहारमा अडियो। मेरा आँखा एकदम टाठा भए र बारम्बार त्यही उज्यालोतिर तानिइरहे।

यो हप्हपाउँदो गर्मीमा देउरालीको शीतल छहारी उज्यालो अनुहारमा लिएर ऊ बसभित्र छिरी। गुराँसजस्ता उसका आँखा चञ्चल थिए। त्योभन्दा लाखौँ गुना मेरो मन चञ्चलाउन थाल्यो। बसभित्रका थुप्रै आँखाले उसलाई पछ्याए सायद, ऊ नर्भस भई र आफ्नो तल्लो ओठ टोकी।

मभित्र उत्पन्न भइरहेको ज्वारभाटा देखेर म आफैँ अचम्ममा परिरहेको थिएँ। चञ्चलाइरहेको मेरो मनमा अनेकौं प्रश्न उब्जिन थाले। कहिलेकाहीँ किन कसैलाई पहिलोपटक देख्दैमा यस्तो अनुभव हुन्छ? कस्तो अनुभव भनेर म बताउन पनि सक्दिनँ, किनकि सायद त्यो अनुभव अनुभूत मात्र गर्न सकिन्छ, बताउन सकिँदैन। 

शारीरिक हिसाबमा भने त्यो अनुभूतिले पार्ने प्रभाव व्याख्या गर्न सकिन्छ। जस्तै : श्वासप्रश्वास र ढुकढुकी तेज हुनु, शरीरको तापक्रम बढ्नु, अनुहारमा लाली चढ्नु आदि। मेरो शरीरमा पनि यस्ता प्रभाव देखापरे होलान् तर मेरो ध्यान शारीरिकभन्दा मानसिक प्रभावतिर तानियो। त्यो कोचाकोच मानिसहरूको भीडको बीचमा उसको उपस्थितिले फेरि मलाई गुर्धौली फूलको पत्रजस्तै हलुका बनाइदियो। उसलाई लिएर म उड्दै पुगेँ– धारेखोल्सा। रंगीचंगी पुतलीको एक जोडीले हाम्रो स्वागत गरे र सङ्लो पानीलाई फिस्स छुँदै माथि माथि उड्न सिकाए। हामी माथि पुग्दै बादललाई छुँदै फेरि तल पानीलाई फिस्स छुँदै उडिरह्यौँ। सालको रुखमाथिबाट एक जोडी कोइलीले मीठो गीत सुनाए। एक जोडी माछाले हाम्रो उपस्थितिको खुसियालीमा पानीभित्र नृत्य गरिरहे। 

कन्डक्टरले ऊसँग भाडा माग्यो। भाडा दिँदै उसले भनी– ‘बसुन्धरामा ओर्लने’। उसको स्वर हरिप्रसाद चौरासियाको बाँसुरीको धूनजस्तै सुमधुर थियो। यो बसुन्धरा भन्ने ठाउँ जीवनमा दुई/चारपटक मात्र पुगेको हुँला अथवा गाडीमा हिँड्दा मात्र देखेको हुँला। आजसम्म कुनै महत्त्व दिएको ठाउँ होइन बसुन्धरा। तर एक निमेषमै मानिसको धारणा बदलिन सक्दोरहेछ। 

आहा ! ‘बसुन्धरा’, कति सुन्दर शब्द। सायद उसका ओठबाट उच्चारण हुन पाए मजस्तो मुर्झाएको व्यक्तिले पनि जीवन पाउँथ्यो।
बसले फेरि घ्याच्च ब्रेक हान्यो। उभिएका केही मानिस अगाडि हुत्तिए। केही मानिसले फेरि ड्राइभरको क्षमतामाथि प्रश्न ठड्याए। केही मानिस ओर्लिए। उसले सिट पाई। अब पछाडिबाट केवल उसको कपाल देख्न सक्ने भएँ। म थकान र प्यासले रन्थनिएर उकालो चढ्न नसक्ने यात्रीजस्तै एउटा झ्यालछेउको सिटमा फालिएको थिएँ। 

जीवनमै पहिलोपटक अनौठो किसिमको हिम्मत मभित्र पैदा भयो। उसको अगाडि उभिएर उसकै सुन्दरताको एउटा गीत गाउने अठोटले म सिटबाट उठेँ। हृदयको गतिमा तीव्रता थपियो। सिटबाट उठेर भीड छिचोल्दै अगाडि बढेँ। उसकै सिट नजिक पुग्दा बसले फेरि घ्याच्च ब्रेक लगायो। खलासी चिच्यायो, ‘बसुन्धरा’। हतार हतार डन्डी समाउन खोज्दाखोज्दै हुित्तएर म उसैसँग ठोकिन पुगेँ। उसले मलाई सम्हालिन आग्रह गर्दै बसबाट ओर्लिई। म कसरी सम्हालिन सक्थेँ? जीवनमा पहिलोपटक यस्तो अनुभूत हुँदै थियो।  पहिलोपटक मभित्र एउटा आँट पलाएको थियो। कुनै शक्तिले तानेजस्तै स्वतःस्फूर्त म सिटबाट उठेर आएको थिएँ।

ऊ उठेर गएको सिटमा थ्याच्च बसेँ। उसको न्यानोपन सिटमा अझै बाँकी थियो।

बस हुँइकियो, मैले झ्यालबाट बाहिर हेर्ने कोसिस गरेँ। अहँ ! ऊ देखिइन। सबै उत्साह खिन्नतामा परिणत भयो। जीवनबाट केही हराएजस्तो, ठूलो बाजी हारेजस्तो। शून्य!

मैले कोसिस नगरेको त होइन तर कोसिसलाई सफल तुल्याउने पनि केही तत्व हुन्छ होला। अथवा समयले सबै कुरा घुमाइरहेको होला। सायद मेरो चाहना यो समयका लागि उचित नहोला। समय कति कठोर छ, कसैका लागि एक मिनेट तलमाथि गर्न सक्दैन। यही बसका प्यासेन्जरहरूलाई जस्तै समयलाई पनि कहीँ पुग्ने हतारो छ। केही प्राप्त गर्ने उत्कण्ठा छ। तर समयको चेहेरामा हामी मानिसहरूमा जस्तो नैराश्यता भने छैन।

अब जति नै कुरा खेलाए पनि सत्य त्यही थियो, ऊ बसबाट ओर्लेर गइसकेकी थिई। तर जाँदाजाँदैको आकृति मेरो मनको क्यानभासमा पोतिदिएर गएकी थिई। मुर्झाएको मलाई सजीव तुल्याएर गएकी थिई। त्यो पेन्टिङ म विशेष फ्रेममा झुण्ड्याएर राख्नेछु र कैलेकाहीँ सपनामा नियाल्नेछु। कुनै अर्को दिन साझा बसको कोलाहलमा ऊ भेटिई भने समय नघर्किंदै उसका सामु मेरा सपनाका रङ पोखिदिनेछु।

चेहरामा मुस्कानसहित म प्रतीक्षा गरिरहने छु त्यो दिनको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .