ad ad

ब्लग


मेरी आमाले महिला दिवसको छुट्टी लिएको दिन कस्तो हुँदो हो?

मेरी आमाले महिला दिवसको छुट्टी लिएको दिन कस्तो हुँदो हो?

मीना खड्का
फागुन २४, २०७८ मंगलबार १७:५९, काठमाडौँ

हरेक दिन जब घामको किरण झ्यालबाट भित्र पस्थ्यो, आमा कराउनुहुन्थ्यो, ‘छिटो उठ्। स्कुल जान ढिला हुन्छ।’ खाना पकाउने, आफू खाने र भाइबहिनीलाई खुवाएर स्कुल जाने मेरो नियमित दैनिकी थियो। 

सल्यान सदरमुकामबाट टाढाको बस्ती। त्यतिबेला गाँउमा एउटा निजी स्कुल खोलिएको थियो। श्री साइनिङ पाथ एकेडेमी बोर्डिङ स्कुल। निकै जान्ने भनेर मलाई यूकेजीपछि कक्षा १ नपढाई २ मा भर्ना गरियो। त्यो कक्षामा केटी म मात्रै थिएँ। 

मसँगका सबै साथीहरु सरकारी स्कुल पढ्थे। भाइ पनि सरकारी स्कुलमा पढ्थ्यो। बुबाआमाले मलाई चाहिँ किन निजी स्कुलमा पढाउनुभयो, मलाई त्यतिबेला थाहा भएन।

निकै समयपछि मैले सोधेकी थिएँ।

‘मैले पढ्न पाइनँ। नपढेका छोरी मान्छे आफ्नै घरमा, आफ्नै गाउँमा हेपिन्छन्,’ आमाले भन्नुभयो, ‘पढेपछि आर्थिक अवस्था बलियो बनाउन सकिन्छ। त्यसो भए कसैले हेप्न सक्दैन।’

हाम्रो समाजिक संरचनाको केही प्रभाव र रुढीवादी धारणा मेरी आमामा पनि नभएको होइन। तर, महिला कसरी हेपिएका छन्, त्यो किन गलत छ र त्यसलाई कसरी बदल्न सकिन्छ, आमालाई थाहा थियो। 

जब म कुनै समर्थ महिलाको परिकल्पना गर्छु, तब आमाकै चित्र आँखामा आउँछ।

घरको काम, परिवारप्रति जिम्मेवारी महिला एक्लैले बेहोर्न सहज थिएन। छैन। आमा र हजुरआमाका संघर्ष उस्तै थिए, बालखैमा बिहे, आफ्नो इच्छाभन्दा बढी छोराछोरीको इच्छामा बितिरहेको जीवन।  

मेरी आमाको जस्तो संघर्ष गरेका महिला मैले विरलै भेटेकी छु। उहाँहरुको संघर्ष र प्रगतिका अगाडि म आफूलाई असफल र बहाना खोजिरहेको व्यक्तिजस्तो महसुस गर्छु। आफ्नो छुट्टै रहर र सपना कहिल्यै सजाउनु भएन आमाले। उहाँले बाँचेको व्यक्तिगत जीवन कुन हो? म सम्झना खोज्छु तर सक्दिनँ।  

महिलाले हलो जोत्नु हुँदैन भन्ने मान्यता गाउँमा थियो। मेरी आमाले श्रम विभाजनको त्यो परम्परालाई तोड्नुभयो। उहाँपछि अहिले गाउँका धेरै महिलाले जोत्छन्। 

अझै पनि आमाको दैनिकीमा कुनै परिर्वतन आएको छैन। उहाँ उसैगरी काम गर्नुहुन्छ। मेहनत गर्नुहुन्छ। त्यो सम्झिँदा मेरो पनि उर्जा थपिन्छ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै गर्दा म मेरी आमालाई सम्झिरहेकी छु। 

मार्च ८ मनाउँदै गर्दा सोच्नु आवश्यक छ– हाम्रो महिला दिवसको उत्सव र अभियान सहरकेन्द्रित छ। अझै पनि गाउँसम्म समानताको आवाज, हक अधिकारको चेत पुगिसकेको छैन। दुरदराजमा रहेका नेपाली महिलाहरु आफ्नो र छोराछोरीको मुखमा माड लगाउन मात्र रातदिन पसिना बगाउँछन्। उनीहरुलाई आफ्नो अधिकारको बारेमा सोच्ने फुर्सद समेत हुँदैन।

थुप्रै ठाउँमा महिलाले चरम उत्पीडन भोगिरहेका छन्। दाइजोको निहुँमा बुहारीलाइ पिटने, जलाउने, घरबाट निकाल्ने जस्ता अमानवीय घटना रोकिएका छैनन्। बोक्सी भनेर हिंसा गर्ने क्रम बन्द भएको छैन। छोरीहरुले छाउगोठमा ज्यान गुमाइरहेकै छन्। 

र, बिडम्बनाको कुरा उनीहरुले आफूले भोगिरहेको कुरा हिंसा हो भन्ने पनि बुझेका छैनन्। त्यसको प्रतिरोध कसरी गर्ने भन्ने त परको कुरा। महिला विकास, महिला पुरुष समविकास, लैङ्गिक समानता, महिला सशक्तीकरणका कार्यक्रम उनीहरुसम्म पुग्न सकेको छैन।

यो खाडललाई शिक्षित, महिलावादी आन्दोलनको नेतृत्व गरिरहेकाहरुले सम्बोधन गर्न आवश्यक छ। ग्रामीण र गरिब श्रमिक महिलालाई पनि आफूसँगै हिँडाउने प्रयास गर्न जरुरी छ। अन्याथा महिलावादी आन्दोलनको नारा र कार्यक्रमले गरिब र दिनभरि श्रम गरेर पेट पाल्ने महिलाहरुलाई समेट्न सक्दैन। उनीहरु पछाडि छुट्न सक्छन्।

मार्च ८ आउन केही दिन बाँकी रहँदा एक जना दिदीले भन्नुभयो– ‘मंगलबार त नारी दिवस, बिदा होला।’ 

मैले झट्ट आमा सम्झिएँ। आमाले आराम गरेको कहिल्यै देखिनँ। उहाँले केही काम नगरी बसेको दिन कस्तो हुँदो हो? उहाँले मार्च ८ आफ्नो लागि पनि हो भन्ने कहिले लाग्दो हो?

यहीँनेर मलाई मेरी आमाप्रति गर्व महसुस हुन्छ– त्यस्तो पिछडिएको समाजमा रहेर पनि उहाँले छोरीलाई आत्मनिर्भरता आवश्यक छ भन्ने महसुस गर्नुभयो र मलाई पढाउन जोडबल लगाउनुभयो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .