ad ad

ब्लग


नेपालमा सुरु होला त माओ यात्राको तेस्रो लहर?

नेपालमा सुरु होला त माओ यात्राको तेस्रो लहर?

‘कम्प्युटर मोन्टाज’ गरिएको माओको तस्बिर


सङ्गीत
पुस ११, २०७८ आइतबार २१:८, काठमाडौँ

शीर्षक देखेर नेपाली बौद्धिक जगतको एउटा पंक्तिलाई दिक्क लागिसक्यो होला। त्यो पंक्ति सानो र कमजोर छैन भन्नलाई यहाँ अहिले नै लामो व्याख्या गरिरहनु पर्दैन (परिआए पछि गरौँला पनि)। त्यो पंक्ति कति प्रतिबद्ध पूर्वाग्रही छ भने उसले शीर्षक देखेरै लेखभित्र प्रवेश नगर्ने निर्णय पनि तुरुन्तै गर्न सक्छ। उसलाई त्यति प्रतिबद्ध आग्रही बनाउनमा इतिहासमा माओको होइन, माओको नाम लिएर राजनीति गरेको अन्तर्राष्ट्रिय पंक्तिको पनि खास होइन, बरु नेपालमा वर्तमानमा माओकै नाम भजाउँदै पुँजीवादी संसदीय राजनीतिको मूलबाटोमा बाजा बजाउँदै गरेको पंक्ति नै मुख्य जिम्मेवारको भूमिकामा छ। तर, कसैले कुनै चिन्तक/दार्शनिकको नाम बदनाम गर्यो भन्दैमा दर्शन नै गलत कसरी हुन सक्छ र? अझ सम्पूर्ण दुनियाँले हदैसम्म नकारिरहेको पात्र छ भने पनि त्यसलाई आफ्नै अध्ययन–विवेकले छ्यानबिछ्यान गर्नु सच्चा बौद्धिकको दायित्व हुन आउँछ।

धेरैलाई लाग्छ, राजनीतिक तथा दार्शनिक क्षेत्रमा माओले पुर्याएको योगदान नेपालको बौद्धिक र प्राज्ञिक जगतले थाहा पाएको माओवादी आन्दोलन वा पचासको दशकमा चलेको जनयुद्धपछि हो। यो कुरा अर्धसत्य मात्रै हो। माओसँग उनकै जीवनकालमा सम्बन्ध स्थापित गर्न तत्कालीन राजा महेन्द्रले खेलेका भूमिकाबारे धेरै सन्दर्भहरुले बताउँछन्। खगेन्द्रजंग गुरुङका फुटकर संस्मरणहरुसम्म पुग्दा पनि यो कुरा पुष्टि भइहाल्छ। बीपी–माओका सम्बन्ध र संवाद पनि एकथरीले दोहोर्याइरहन्छन्। पहिलो पुस्ताको कम्युनिस्ट वृत्तमा नौलो जनवादी क्रान्ति र सर्वहारा सांस्कृतिक क्रान्तिको रापताप तात्तातै आइपुगेको थियो। गोविन्द भट्टले प्रतिनिधिमण्डलसहित माओलाई भेटेका र उनले माओसँग सम्बन्धित भएर लेखे–बोलेका सामग्रीबारे वामवृत्त अनभिज्ञ छैन। भट्टसहितको टोली सरकारी निम्तामा सरकारी प्रतिनिधिमण्डलकै रुपमा चीन पुगेको थियो। माओसँग महेन्द्रकालीन सम्बन्धको यो एक साक्ष्य मात्रै हो। हुन त, माओ र महेन्द्रको तुलना गर्दै रवीन्द्र मिश्रले ‘माओको नाम लिन हुने, महेन्द्रको किन नहुने?’ भन्ने आशयको भाषण गरेको एक महिना पनि बितेको छैन। एकथरी दरबारमार्गी कम्युनिस्टहरु कुनै बेला माओ र महेन्द्रलाई तुलना गरेर आत्मरति लिन्थे, आज अर्कोथरी नवदरबारमार्गी गैरकम्युनिस्टहरु ‘माओ भर्सेस महेन्द्र’को राजनीति पो नेपालमा चल्दो हो कि भन्ठान्दै छन् (यो प्रसंगलाई पनि अहिले नतन्काऊँ)। 

महेन्द्र र माओको सम्बन्ध कस्तो थियो, त्यतातिर पनि अहिले नजाऊँ! पञ्चायती व्यवस्थाले माओको योगदानबारे सरकारी प्राज्ञिक निकायबाटै अनुसन्धान गराउँथ्यो। यसले नै धेरै कुरा बोलिहाल्छ। माओले नेतृत्व गरेको राजनीति, माओकालीन चीन र माओको विदेशनीति सम्बन्धमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सिनासले पञ्चायतकालमै ‘माओ एन्ड चाइनाज फरेन पोलिसी पर्स्पेक्टिभ्स’ अनुसन्धान प्रकाशित गरेको थियो। ध्रुवकुमारको यो अनुसन्धान सामग्री नेपालमा माओवादी जनयुद्ध सुरु हुनुभन्दा सात वर्षअघि पुस्तकाकारमा बजारमा पुगिसकेको थियो। यसरी २००६ सालमा नेकपा गठन भएदेखि पञ्चायतावधिसम्मको कालखण्डलाई नेपालमा माओ–आगमनको पहिलो लहर मान्न सकिन्छ। 

अघि माथि मैले भनेको थिएँ, माओलाई जनयुद्धले मात्रै नेपालमा ल्याएको होइन। यस्तो मान्नु अर्धसत्य हुन्छ। अर्धसत्य किनभने जनयुद्ध र माओवादी पार्टी बन्नुअघि नै माओ किताबका पानाहरुमा चढेर अनि खबरका हेडलाइनहरुमा सयर गर्दै सीमित बौद्धिकहरुका घरदैलामा आइसकेका थिए। तर, माओको नामलाई गाउँगाउँ र टोलटोलमा पुर्याएको परिघटनाले मात्रै त्यो अघिल्लो अंशसत्यलाई पूर्णता दिन्छ। त्यो परिघटना जनयुद्ध हो। र, त्यही युद्धावधि नेपालमा माओ–प्रसारको दोस्रो लहर बनेर आयो। जनयुद्ध नै त्यस्तो वेगवान् आँधी हो, जसले गालामा कालो कोठी भएका शान्त अनुहारका भद्र मान्छेलाई गरिखाने वर्गका मुक्तिदाताका रुपमा नेपालभर फैलायो। अनि मात्रै माओ सरकारी अड्डाका अनुसन्धानहरुबाट बाहिर निस्के। सीमित संख्याका एलिट कम्युनिस्टहरुका निजी लाइब्रेरीबाट माओ अनकन्टार ग्रामीण बस्तीमा पुगे। हजारौँले लगाउने जुलुसहरुका ओठओठमा ‘जिन्दावाद!!’ भएर गुन्जिए। महेन्द्रका पालामा माओ दरबार हुनेहरुका पहुँचमा जस्तो थिए, जनयुद्धकालमा माओ घरबार नहुनेहरुका पैतालामा कदम मिलाउन आइपुगे। कुनैबेला बौद्धिकहरुका शब्दमा मात्रै प्रकट हुने माओ, अर्को कुनै बेला जनसामान्यका आवाजहरुमा ध्वनिमय बने। त्यो बनाउने काम त्यही जनयुद्धले गरेको हो, त्यही माओवादी आन्दोलनले गरेको हो। म स्वयम् पनि सायदै माओसँग परिचित हुने थिएँ, हुन्थेन यदि त्यही माओवादी झञ्झावात् भने! 

यहाँ ‘त्यही’ भन्ने शब्दमा विशेष जोड दिनुपर्ने दरकार परेको छ। यो ‘त्यही जनयुद्ध’ र ‘त्यही माओवादी’ भनेको पचासको दशकको उथलपुथलमय समयको माओवादी हो। हुन त, अहिले पनि माओवादी नामका पार्टीहरु देशमा एकभन्दा बढी छन्। युद्धको लिगेसी हाम्रै काँधमा छ पनि भन्छन्। तर, उनीहरु आज भित्तामा माओको तस्बिर र नारामा ‘माओवाद– जिन्दावाद!’ भन्नुबाहेक माओको दार्शनिक अवदानलाई व्यवहारमा निरन्तरता दिने पहलकदमीमा भेटिँदैनन्, अन्तकतै चाहिँ दगुरिरहेकै छन्। मुख्य माओवादी मै हुँ भन्ने माओवादी केन्द्रले माओ दिवसकै दिन राष्ट्रिय महाधिवेशन उद्घाटन त गर्यो। तर, उसको दुःखको दैनिकी बेहिसाब छ। हरदिन पुँजीवादी संसदीय राजनीतिको जोडघटाउमा हारथाक भइरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले केपी ओलीसँग मौकावादी एकता गर्छन् र त्यसैलाई ‘महान्’ र ‘क्रान्तिकारी’ भन्छन्। कहिले एकता भंग भएपछि ‘महान् विद्रोह’ गरेको हास्यास्पद तर्क गर्छन्। पार्टीलाई माओवादी भन्न र माओ दिवसकै दिन महाधिवेशन गर्न उनी सायद अभिशप्त छन्। यस्तो आलोचनात्मक वाक्य पढ्नुपर्दा हाम्रा दर्जनौँ मन–मिल्ने साथीहरुको कटक्क मन खान सक्छ, किनभने उनीहरु अहिले पनि ‘अरु के पो विकल्प छ र?’ भन्दै दाहालतिरै आशालु आँखा ओछ्याइरहेका छन्। त्यस दलमा माओको दार्शनिक विरासतको अब कुनै ठाउँ छैन, त्यो यथार्थ हाम्रा मन–मिल्ने (तर विचार नमिल्ने) साथीहरुले नबुझेका होइनन्। तर त्यस्तो ठाउँ ‘अन्त पनि त छैन’ भन्दै त्यतै रहनु मेरा सयौँ पूर्वकामरेडहरुको राजनीतिक परिणति भएको छ। 

मेरा साथीहरु मात्रै किन हुन्थे र? त्यो दलभित्र इतिहासदेखि अविच्छिन्न काम गरिरहेका हजारौँ इमानदार र क्रान्तिकारी नेता–कार्यकर्ताहरु अझै निकास नभेटेर छटपटिइरहेका छन्। संघर्षका कठिन दिनहरुमा पटक्कै नडगी लडेका जुधारुहरु पनि त्यहीँ छन्। हजारौँ सहिद र बेपत्ता योद्धाका परिवार र सन्तानहरुको भावनात्मक लगाव पनि धेरै हदसम्म त्यतैतिर जोडिएको छ। तर, माथि भनियो– दाहालका दुःखको दैनिकी बेहिसाब नै छ। अनि सम्पूर्ण नेता–कार्यकर्ताको पंक्ति केवल उनकै मुख ताकेर बस्छ। क्रान्तिका सबै दुःख एकदिन अवश्य प्रचण्ड–सरले नै हरण गर्नेछन् भनी उनीप्रति अतिविश्वास (यसलाई दैवीविश्वास वा अन्धविश्वास नै भन्न सकिन्छ) गर्नेहरुको ठूलो जमात त्यहाँ छ। कार्यकर्ताबाट र आफू वरिपरिका नेताहरुको घेराबाट पाइरहेको यही विश्वासको बुई चढेर प्रचण्डले हरघडी भनिरहेका हुन्छन्– ‘मेरो पार्टी’, ‘मैले गरेको जनयुद्ध’, ‘मैले चलाएको आन्दोलन’, ‘मेरा कार्यकर्ता’, ‘मैले गरेको शान्तिसम्झौता’...!! अब माक्र्स, लेनिन र माओलाई ‘मेरा माक्र्स’, ‘मेरा लेनिन’ र ‘मेरा माओ’ भन्न मात्रै उनले बाँकी छ।

यस्तो आत्मकेन्द्रित व्यक्तिवादको बिउ ‘माओवादी पार्टी’भित्र आज होइन, युद्धकालमै रोपिएको थियो। त्यसको एकसरो प्रतिवाद डा. बाबुराम भट्टराईले उतिबेलै गरेका थिए। हाल आएर ‘त्यतिबेला गल्ती नै गरिएछ’ भनेर मोहन वैद्य किरणले पनि स्वीकारिसकेका छन्। तर अहिले यी दुई बौद्धिक आलोचकहरु र प्रचण्ड सँगसँगै छैनन्। प्रचण्ड एक्लो पर्दैपर्दै गएका छन् तथापि आफूलाई माओसँग तुलना गर्न छाडेका छैनन्। त्यसो त प्रचण्ड यत्तिकै र आफ्नै बुतामा मपाइँत्वको बारदलीमा उक्लेका पक्कै होइनन्, व्यक्तिका थाप्लामाथि इतिहासका सबै जस–अपजसहरु थोपर्ने गलत दृष्टिकोणको अभ्यासले नै उनलाई त्यहाँ पुर्याएको हो। त्यही कारण उनले संगठन, पार्टी र क्रान्तिका जसहरुलाई समेत निजी योग्यताको परिणामका रुपमा व्याख्या गरिरहेका हुन्छन्, बेलाबेला। 

भन्न त उहिल्यै एंगेल्सले भनेका थिए, ‘क्रान्तिको विस्फोटको कारणहरु वा पराजयका कारणहरुको अध्ययन गर्दा तिनलाई केही नेताका आकस्मिक प्रयत्न, प्रतिभा, त्रुटि, गल्ती वा गद्दारीमा खोज्ने होइन, बरु उथलपुथलग्रस्त राष्ट्रका आम सामाजिक स्थिति र तिनको अस्तित्वको अवस्थाहरुमा पर्गेल्ने हो’ (जर्मनीमा क्रान्ति र प्रतिक्रान्ति)। तर, इतिहासलाई त्यसरी पर्गेल्ने पहलकदमी लिनका लागि संगठित ढंगले नयाँ पंक्ति नआएसम्म यस्तै गलत तरिकाको आडमा गलत राजनीतिले शासन गरिरहन्छ, अनि गलत उद्देश्यका लागि ‘माओको खेती’ पनि भइरहन्छ। अहिले माओवादी केन्द्र नामको पार्टीले माओ र माओवादको नाममा त्यसको मर्मको ठीक उल्टो लहर चलाइरहेको छ। यो उल्टो लहरलाई सुल्टो पार्ने कार्यभार माओवादी धाराकै नयाँ आन्दोलनले मात्रै पुरा गर्न सक्छ। विगतको माओवादी आन्दोलन र जनयुद्धको सम्यक मूल्याङ्कन गर्न, त्यसको समीक्षा गर्न, त्यसका शिक्षालाई रेखाङ्कित गर्न माओवादी आन्दोलनबाटै विकसित भएका आलोचनात्मक दिमागहरु अघि सर्नुपर्ने छ। माओवादी यदि ‘सहिद भइसकेको आन्दोलन’ हो भने त्यसको पोस्टमार्टम गर्न माओवादी धाराकै शल्यचिकित्सकहरुको टिम तयार हुनुपर्छ। अनि मात्रै नेपालमा माओयात्राले नयाँ युगको नयाँ परिभाषा पाउने छ। नत्र संसदीय भासमा चाकाचुली खेलिरहेका समूहले नै माओ–नाम बदनाम गरिरहने छन्।

इतिहासले खाँचो महसुस गरिरहेको यस्तो मूल्याङ्कन–पुनर्मूल्याङ्कन वा पोस्टमार्टमका लागि विद्यमान माओवादी धाराका अनेक समूह तयार भइसकेको देखिन्न। राष्ट्रिय सम्मेलन गरिरहेको माओवादी केन्द्र त पार्टीको मात्रै आत्मसमीक्षाका लागि पनि तयार छैन, आन्दोलनको के कुरा? न त्यसका सुप्रिमो प्रचण्डलाई आफैँले नेतृत्व गरेको विगततिर सोच्ने–सम्झने फुर्सद छ। उनी त मौका परे माओलाई अलपत्र छाडेर ‘जनताको जनवाद’ पनि भनिहाल्छन्, मौका नपरे फर्केर फेरि ‘मालेमावाद जिन्दावाद’ भन्न आइपुग्छन्। जगजाहेरै छ, केही वर्षअघि उनले माओको नाम चटक्कै छाडिदिएका थिए। केपी ओलीसँग मिलेर नेकपा नामको एउटै पार्टी बनाएर, सँगै चुनाव लडेर, माओवाद भन्न छाडेर, तीन वर्ष सँगै बसेर अनि नेतृत्वको होडबाजीमा पार्टी विभाजनसम्म पुगेका उनी परिबन्दले फेरि माओवाद भन्ने ठाउँमा धकेलिएका हुन्। 

संसदीय प्रतिस्पर्धामा कसरी टिकिखाने भनेर प्रचण्ड फेरि छटपट–छटपट गरिरहेका छन्। आउने निर्वाचनको छेकसम्म उनले आज लगाइरहेको ‘माओवाद’को नारा कता पोको पारेर थन्काउने हो, कुनै ठेगान छैन (त्यसो त, चुनावसम्म अरु कुन–कुन समूहका क्रान्तिकारिता कहाँ–कहाँ पुगेर पछारिने हुन् भन्न सकिने अवस्था छैन)। माओको ब्यानरमा खुलेका सबै समूहलाई आफ्नै चुनाव चिन्हभित्र ल्याउन दाहालले सबै किसिमको कलाशैली र खुबिलिटीहरु प्रयोग गर्ने नै छन्। 

तर, दाहालका यी सबै तामझाम, सभासम्मेलन, एकता–विभाजन आदिले माओको नाम बदनाम मात्रै गरिरहेको छ। र, त्यही बदनामीबाट प्रभावित पंक्ति नेपालमा माओको नामलाई नकारात्मक ढंगले बुझिरहेको छ। माओको नाम लिनासाथ उनको छविलाई धेरै ठूल्ठुला विद्वान्, नेता वा विश्लेषकहरुले पनि अहिलेको माओवादी केन्द्रको चरित्रसँग दाँजेर बुझेका पाइन्छन्। त्यसैले त, रवीन्द्र मिश्र ‘माओ भन्न हुने, महेन्द्र किन नहुने?’ भन्दै चिच्याएका हुन्। राजधानी सहरमा मिश्रले माओवादीलाई लल्कारिरहेका छन्, तर राजधानीबाहिर माओप्रेमी युवाहरुसँग ‘मिश्रवादी’ युवाहरु टिकिखान सजिलो पक्कै छैन।

‘मिश्रवादी’ युवाका कुरा यतै थाँती छाडेर फेरि गुरु माओकै नामतिर फर्कौं! के नेपालमा माओ नाम बदनाम मात्रै भइरहेको छ त? यो पनि अंश सत्य हो। अर्थात् नेपालमा माओको नाम बदनाम त भएकै छ, तर बदनाम मात्रै पक्कै भएको छैन! क्रान्तिको नयाँ बिम्बका रुपमा माओलाई आत्मसात् गर्न चाहने युवापंक्ति विस्तारविस्तार सहरबजारमा खुसुरफुसुर–खुसुरफुसुर गर्दैछ। जनयुद्ध र त्यसयताको माओवादी आन्दोलनले देशव्यापी क्रान्तिकारी ब्याड निर्माण गरेर आदर्श गुरुका रुपमा माओको नाम रोपेको थियो। त्यही ब्याडको उपज हुनुपर्छ, जनयुद्धको बैठानपछि हुर्केको नवयुवाले क्रान्तिकारी बिम्बका रुपमा माओकै नाम लिनुलाई गर्वको विषय ठान्दैछ। 

आजको पुँजीवादी दुनियाँले माओलाई कहीँकतै ब्रान्डिङ गरेको छैन। अन्तर्राष्ट्रिय दुनियाँमा आजको चीन र आजका सत्तासीन चिनियाँ नेताहरुको जतिधेरै चासो र जिज्ञासा छ, झन्डै आधा शताब्दीअघि सेख भइसकेका माओको त्यति छैन। हुने कुरा पनि भएन, किनभने माओलाई ‘चिनियाँ विशेषतासहितको समाजवाद’को प्रवद्र्धन गरिरहेको माओकै देशले आज महत्त्व दिँदैन, नदिने बाटोमा ऊ छ। चीनबाहिरको पुँजीवादी दुनियाँले त माओलाई नकारात्मक चित्रण गर्न सम्पूर्ण शक्ति इतिहासदेखि खर्चिरहेकै छ। यस्तो कठिन बेलामा पनि नेपालमा भने माओका बारेमा चासो राख्ने जिज्ञासुहरु र सैद्धान्तिक अनुयायीहरु मासिएका छैनन्। दुई/चार वर्षयता सङ्गठित ढंगले काम गर्न खोजिरहेका नयाँ छिमलका किशोरकिशोरीहरु आफूलाई ‘वी आर माओइस्टस्’ भन्दै सार्वजनिक बहसमा अघि सरिरहेका भेटिन थालेका छन्। 

नयाँ छिमलका माओवादी युवाहरु भेट्नुभयो भने तपाईंहरुले भेउ पाइहाल्नु हुन्छ, उनीहरु बाउआमा माओवादी नामको कुनै पार्टीमा भएका कारण स्वतः माओवादी भएका वंशानुगत अनुयायीहरु होइनन्। २००७ सालको क्रान्ति, २०३६ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, ०५२ सालमा सुरु भएको जनयुद्ध, ०६२/०६३ को जनआन्दोलन, ०६३ सालको मधेस आन्दोलनः यी सबै घटना उनीहरुका लागि इतिहास हुन्, जो किताबमा पढिन्छ वा भोक्ताहरुबाट सुनिन्छ। तसर्थ, नयाँ छिमलका माओवादी युवाहरु इतिहास पढ्दा वा इतिहासको मूल्यांकन गर्दा आफ्नो संलग्नताको आग्रहमा बाँधिदैनन्, क्रान्तिको विस्फोटदेखि पराजयको कारणसम्म खोज्दा वस्तुगत हुन कोसिस गर्छन्। त्यसकारण नै उनीहरु माओलाई चिन्न सुरुमा माओकै मौलिक रचनाहरुसम्म पुग्न प्रयत्न गरिरहेका पाइन्छन्। 

जनयुद्धको पारिवारिक विरासत सिधै जोडिएको नवयुवाहरुको पंक्ति पनि ठूलो छ। उनीहरुले आफ्ना अभिभावकहरुको आजको राजनीतिक अवस्थितिबाट आफूलाई विच्छिन्न गराइसकेका छन्। सहिद–बेपत्ता परिवारका सन्तानहरु पनि माओलाई सम्झने नयाँ बाटो र नयाँ उत्सव खोजिरहेका जस्ता देखिन्छन्। यी युवाहरु ‘जनयुद्धबाट आएको’ दाबीलाई ‘पहिलो दर्जाका कामरेडहरु’ ठान्ने र त्यसैलाई ‘क्रान्तिकारिताको स्थायी–कार्ड’ मान्ने मनोविज्ञानबाट बाहिर निस्किसकेका छन्। अघिल्लो महिना दाङमा भएको एउटा छलफलमा जनयुद्धकै पारिवारिक पृष्ठभूमिबाट विकसित एकजना युवा भन्दै थिए, ‘हामी जनयुद्धको धारालाई मात्रै ‘हाइलाइट’ गरेर नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालको पहल र निर्मल लामाहरुको निरन्तरतालाई कम आकिरहेका त छैनौँ? नयाँ युवाहरुले यतातिर पनि तुरुन्तै आफ्नो अध्ययनलाई सोझ्याउनु पर्ने भएको छ।’

यो छिमलका युवाहरु कुनै नेताको भाषण सुनेर त्यसैमा माओ बुझेर हिँड्ने खालका छैनन्। उनीहरु माओ बुझ्न माओकै मौलिक रचनाहरु, देश–विदेशका माओवादी विद्वानका अध्ययन र विश्लेषणहरुलाई आफ्नो ज्ञानको आधार बनाउन तयार छन्। एकजना युवा लेखकले यसै साता मसँग सोधेका थिए, ‘माओका सम्पूर्ण ठेलीहरु एकै सेटमा नेपाली भाषामा उपलब्ध छैनन्? त्यो सबै मसिनो गरी पढ्नुपर्ने भएको छ।’ अहिले त यो प्रश्नको नकारात्मक जवाफ मात्रै आउँछ। तर, यही प्रश्नले छिटै सकारात्मक जवाफको खोजीका लागि यत्नहरु हुने सङ्केत गर्छ। कुनै बेला माओका पुस्तक र माओका नाममा निस्केका किताबको लहरै चलेको बेला थियो। अहिले अर्को लहरको पूर्वसन्ध्या सायद छ, पूर्वसन्ध्यामा सम्भावना र उत्साहको उज्यालो अनि प्रश्न, जिज्ञासा र आशंकाहरुको अँध्यारो सँगसँगै हुन्छ। 

काठमाडौँमा युवाहरुको सक्रियतामा सञ्चालित माक्र्सिस्ट आउटलुक, माक्र्सवाद अध्ययन समूह, अक्टोबर वेभ, मालेमा अध्ययन मञ्च, डायलेक्टिकल सोसाइटी, पुष्पलाल ज्ञानशाला, समाजवादी विद्यार्थी आन्दोलन जस्ता अध्ययन सर्कल र राजनीतिक समूहमा मालेमा (माक्र्सवाद–लेनिनवाद–माओवाद)लाई आफ्नो समूहको दार्शनिक पीठिका मान्ने युवाहरुको बाहुल्यता देखिन्छ। यी समूहमा विद्यमान पार्टीलाई नै विकल्प देख्ने वा त्यसैभित्र आफ्नो भविष्य खोज्ने युवाहरु मूलतः छैनन्। उनीहरु दैनिक भेटघाट र चियागफमा ‘माओको मास लाइन’, ‘सर्वहारा सांस्कृतिक क्रान्ति’जस्ता विषयमा अन्तक्र्रिया गरिरहेका भेटिन्छन्। नेपाल ल क्याम्पसमा स्नातक पढ्दै गरेकी एकजना युवा साथीसँग चार दिनअघि भएको पहिलो भेटमा उनले मलाई प्रश्न गरेकी थिइन्, ‘के तपाईं राजनीतिक रुपान्तरणका लागि मालेमाको दर्शन मान्नुहुन्छ?’ उनको प्रश्नको सन्दर्भमा हामीबीच नेपालमा ‘मालेमा’ पदावली मन्त्रझैं उच्चारण गर्नेहरुका अनेक प्रवृत्तिबारे लामो चर्चा भएको थियो।

आजको राज्य संयन्त्र कम्युनिस्ट ढंगले बदल्ने हो भने माओको दार्शनिकीलाई पथप्रदर्शक सिद्धान्त बनाउनु अनिवार्य सर्त हुन्छ भनिमान्ने युवाहरु नागरिक आन्दोलन र सार्वजनिक विमर्शहरुमा पनि आफ्नो स्पेस विस्तार गर्दै छन्। नागरिक आन्दोलनमा सक्रिय र हाल डायलेक्टिकल समाजमा खटिइरहेका युवा कार्यकर्ता हिमांशुले अनुवाद गरेको भाकपा (माओवादी) का शीर्ष नेता अजीतको माओवादी पार्टीको सङ्गठन ढाँचासम्बन्धी आलोचनात्मक लेख हालै मात्र ‘चेतलुङ’ले प्रकाशित गर्यो, जुन अनुवादले युवा राजनीतिक कार्यकर्ताबीच समीक्षात्मक चर्चा बटुलेको थियो। हिमांशुले नै नेपालीमा अनुवाद गरेको भारतीय माओवादी नेता अनुराधा गान्धीको नारीवादको आलोचनासम्बन्धी चर्चित पुस्तक प्रकाशनको मुखैमा छ। माओवादी धाराका यसप्रकारका बौद्धिक खुराकहरुले युवा क्रान्तिकारीहरुबीच आलोचनात्मक चेतना निर्माणमा पक्कै सकारात्मक भूमिका खेल्ने छन्।

पछिल्ला केही वर्षमा माओ र माओवादसम्बन्धी बहस–विमर्श झन्डै शून्यजस्तो हालतमा पुगेको थियो। अपितु, विस्तारै माओका मौलिक लेखरचना खोज्नेहरु बढ्न थाल्दै छन्। काठमाडौँमा बिहीबार मात्रै खुलेको दोबिल्ला किताबघरको शुभारम्भकै दिन सबैभन्दा बढी पाठकको आकर्षण हुने पुस्तकमा खगेन्द्र संग्रौलाले अनुवाद गरेको माओका संकलित रचनाको चौथो भाग, संग्रौलाकै अनुवादको माओका पाँच प्रसिद्ध निबन्धहरुको संकलन, राहुल फाउन्डेसनले प्रकाशन गरेको पुस्तक माओको कलासाहित्यसम्बन्धी येनान सम्भाषण (हिन्दी), राहुल सांकृत्यायनले लेखेको माओको जीवनी (हिन्दी) परेका छन्। यी सबै पुस्तक ३० वर्षमुनिका पाठकले खरिद गरेको दोबिल्ला किताबघरका सञ्चालक शैलजले पंक्तिकारलाई सुनाए। 

काठमाडौँमा वामपन्थी पुस्तक बेच्ने प्रगति पुस्तक पसल र जागरण बुक हाउसका सञ्चालक पनि माओका संकलित रचना खोज्न आउने युवा पाठकहरु बढेको सुनाउँछन्। माओका संकलित रचनाको पहिलो भाग प्रकाशन गर्ने विविध पुस्तक भण्डारका सञ्चालकको अनुभवमा केही वर्षदेखि कम्युनिस्ट किताब पढ्नेको संख्या पुरै घटेको तर एक वर्षयता त्यस्ता किताब खोज्ने युवाहरु पसलमा आउन थालेका छन्। विविधले ‘माओका संकलित रचना, भाग एक’को नयाँ संस्करण प्रकाशनको तयारी गरिरहेको छ। प्रकाशन संस्था इन्डिगो इङ्कले हालै माओको सांस्कृतिक क्रान्तिकालका दस्तावेजहरुको सम्पादित पुस्तक (सम्पादक– रेमन्ड लोट्टा) को नेपाली अनुवाद प्रकाशित गर्यो। 

तीस वर्षमुनिका युवाहरुमा बढ्दै गरेको माओप्रतिको यो आकर्षण र चासोले नेपालमा नयाँ क्रमभङ्गसहित माओ–प्रभावको तेस्रो लहर ल्याउला त? 

त्यसबारे अहिले नै भविष्यवाणी गर्नु हतारो हुन्छ। एंगेल्सले क्रान्तिको विस्फोट वा पराजयमा आम सामाजिक स्थितिको भूमिका हुन्छ भनेजस्तै माओ–दर्शनको आलोकमा नयाँ क्रान्तिकारी तरंग फेरि उठ्ने/नउठ्ने भन्ने प्रश्नले पनि वस्तुगत सामाजिक स्थितिका आधारमा जवाफको अपेक्षा राख्छ। माओ–प्रभावको पहिलो लहर बीपी–महेन्द्रकालको सरकारी पहुँचदेखि सरकारबाहिरको झापा विद्रोह हुँदै अघि बढेको थियो। दोस्रो लहर पचासको दशकमा चलेको जनयुद्धको उथलपुथलले नै ल्याएको हो। अघिल्ला यी दुवै लहर नेपाली कम्युनिस्ट इतिहासको जनवादी कालमा आइपुगे। नेपाली कम्युनिस्टहरुले नयाँ जनवादी क्रान्तिका प्रणेताका रुपमा माओलाई यही कालमा ग्रहण गरे। (सात दशक लामो कम्युनिस्ट इतिहासको जनवादी काललाई पुष्पलालकालका रुपमा परिभाषित गर्नुपर्ने थुप्रै सैद्धान्तिक आधारहरु छन्, त्यो अर्कै सन्दर्भमा विवेचना गरौँला)। तर, अब नेपाल क्रान्तिको परम्परागत ‘नयाँ जनवादी चरण’मा भने छैन।

हाम्रो समाज परम्परागत ‘नयाँ जनवादी चरण’मा छैन भने माओको सान्दर्भिकता नेपालमा के हो त? यस्तो प्रश्नलाई स्वाभाविक ढंगले उठाउने गरिन्छ। तर, स्वाभाविक ढंगले नबुझिएको सत्य के छ भने माओ नयाँ जनवादी क्रान्तिका प्रवर्तक मात्रै होइनन्, उनी सर्वहारा सांस्कृतिक क्रान्तिका पहलकर्ता र नेतृत्वकर्ता पनि हुन्, जुन क्रान्तिले सदैव क्रान्तिकारी जनदिशा लागू गर्न, जनसमुदायसँग निरन्तर जोडिइरहन, जनालोचनाको बीचबाट गुज्रिरहन, जनतालाई शिक्षा दिनुअघि जनताबाटै सिक्न आवश्यक छ भन्ने मान्यता स्थापित गर्यो। सर्वहारा सांस्कृतिक क्रान्तिले कम्युनिस्ट पार्टीभित्रै, समाजवादी सत्ताभित्रै र क्रान्तिकारी आन्दोलनभित्रै कसरी पुँजीवादी पथगामीहरु जन्मन्छन् र किन निरन्तर क्रान्ति जरुरी छ भन्ने आवश्यकतालाई दार्शनिक तहमा संश्लेषण गरेको थियो। माओ र माओले विकसित गरेको दर्शनप्रति आकर्षित नवयुवाहरुले उनको नेतृत्वमा सञ्चालित सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा र जनदिशाको नीतिलाई आजको विश्वव्यवस्थाका जटिलतासँग जुध्ने हतियारका रुपमा आत्मसात् गर्नु आवश्यक छ। आवश्यक छ किनभने माओ आफैँ भन्थे, ‘कुनै पनि दर्शन आफ्नो समकालीन युगका कार्यभार पुरा गर्न तल्लीन हुन्छ।’ 

राज्यसत्तामा हालीमुहाली गरिरहेका संसदीय पार्टीहरुको अधिवेशनादिको ‘हुलहुज्जत’ चलिरहेकै छ। त्यसमा पनि माओकै नाम धारण गरेको पार्टीले उनकै जन्मदिनमा महाधिवेशन सुरु गरेको छ। यस्तो बेला माओले सिकाएको जनदिशाको शिक्षा र सर्वहारा सांस्कृतिक क्रान्तिको अवदानबारे ध्यान दिने समय कोसँग छ? तिनीहरुसँगै छ, जो सही दार्शनिक आधारमा आफ्नो समकालीन युगका जटिलताहरुको सम्बोधन गर्ने कार्यभार लिन एकताबद्ध आँट गर्छन्। त्यस्तो आँट के ती युवाहरुमा छ, जो आज अनेक अध्ययन समूह, राजनीतिक क्लब, सांस्कृतिक सर्कल र सङ्गठित पहलमा आबद्ध छन्? त्यस्तो आँट के ती राजनीतिक समूह/शक्तिहरुसँग छ, जो नयाँ युगको क्रान्ति गर्ने अभिभारा लिन्छौँ भनेर कम्मर कसिरहेका छन्? र, जडीकुरा के भने झन्डामा ‘माओवाद जिन्दावाद’ लेख्ने व्यक्ति वा शक्तिहरु के फेरि एकपटक माओवाद भनेकै के हो भन्ने बहसमा निस्कन तयार छन्?

छन् भने नेपालमा माओ–दर्शनको अर्को लहर फेरि उठ्ने छ! त्यो लहर पक्कै पुरानो बाटो हिँड्ने छैन, त्यसले पुराना खराबी दोहो¥याउने छैन। त्यसले पुराना अगुवाहरुबाट आशा गरेर बस्ने छैन, बरु उनीहरुलाई इतिहासको सही भूमिकाका लागि धन्यवाद भन्दै अघि बढ्ने छ र नयाँ समाजवादी क्रान्तिको मूलबाटो आफै खन्ने छ! गुरु माओ– जिन्दावाद!! 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .