ब्लग


‘कसैसँग जोडिएकी छैनौ? बिहे कहिले गर्ने?’

‘कसैसँग जोडिएकी छैनौ? बिहे कहिले गर्ने?’

‘बिहे कहिले गर्ने? बिहे गर्ने बेला भएन? सधैं यहि रूप-रङ रहने होइन, अब पनि नगरे बूढी भइन्छ। कसैसँग जोडिएकी छैनौ?’

‘बिहे भएको पनि यत्रो वर्ष भयो, बच्चा कहिले त? महिलाले समयमा बच्चा नपाएपछि दुःख पाउँदा बल्ल थाहा हुन्छ।’

‘बल्ल ब्याचलर पो पढ्दै! अनि पहिल्यै पो सक्नुपर्छ त पढाइ, हरेक कुरा समयमा गर्नुपर्छ– पढाइ, बिहे अनि बच्चा।’ 

यी र यस्ता प्रश्नको घेरामा सधैं परें/परिरहेको छु। विशेषगरी मेरा शुभचिन्तकबाट यस्तै प्रश्न आउँछन्। 

अचम्म त के लाग्छ भने हामी सबैलाई आफूले के गर्नुपर्छ भन्दा पनि अरूले के गर्नुपर्छ भन्ने कुरा बडो गज्जबसँग थाहा छ। अरूका बारेमा एकदमै चासो र सरोकार राख्ने कुरा त मानौं, हाम्रो ठूलो जिम्मेवारी नै हो। एक प्रकारले हामीलाई अरूको चिन्ताले यतिसम्म पिरोल्छ, हामी नहुने हो भने उसको जिन्दगी नै चल्दैन। 

यी प्रश्न, मलाई मात्र होइन, हरेक महिलालाई सोधिने प्रश्न हुन्। जब कुनै बालिका किशोरी हुन्छे, तब उसले बिस्तारै बिस्तारै समाजबाट उमेरअनुसारका प्रश्नको सामाना गर्नुपर्ने हुन्छ।

मानिस चेतनशील प्राणी हो; सृष्टिकै सर्वश्रेष्ठ प्राणी। त्यसैले त हामी हात्ती, सिंहजस्ता आफूभन्दा कैयौं गुणा ठूला भीमकाय जनावरहरू पनि खोरमा थुनेर आफ्नो इशारामा नचाउन सफल भएका छौं। हामी सबैको आआफ्ना काम र कर्तव्य छन्। सबै आआफ्ना जिन्दगी बाँचिरहेका छौं। तर हामीले आफ्नोभन्दा पनि अरूका बारेमा चाहिनेभन्दा बढी चासो र  टिप्पणी गरिरहेका हुन्छौं। हामी आफूलाई मानौं, न्यायाधीश नै ठानेर यो गरे ठीक, यो गरे बेठीक भनेर फैसला सुनाइरहेका हुन्छौं। 

उदाहरणका लागि अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान् अभिनेता आयुष्मान देशराज जोशीलाई लिन सकिन्छ। उनीहरूले जसरी आफू अभिभावक बन्न लागेकामा खुसी बाँडिरहेका छन्, विभिन्न कार्यक्रम गरी रमाइलो गरिरहेका छन्, जुन उनीहरूको निजी मामिला हो। हुन त कलाकार सार्वजनिक व्यक्ति हो, उसका निजी जीवनको चासो हुनु अनौठो होइन। तर पनि जसरी उनीहरूप्रति प्रश्न उठाइएका छन्, आलोचना गरिएका छन्, ती मलाई वाहियात लाग्छन्।

सबै चासो र आलोचना नराम्रा पनि हुँदैनन्। कुनै टिप्पणी यस्ता पनि हुन्छन्, जसले आफूमा के कस्ता कमजोरी छन् भन्ने शिक्षा दिन्छन्। दरिलो उदाहरण हुन् : अभिनेत्री करिश्मा मानन्धर। 

केही समयअगाडि अभिनेत्री मानन्धरले टेलिभिजन अन्तर्वार्तामा तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध हुँदा सार्वजनिक अभिव्यक्ति र भाषणका क्रममा खप्की खाएका कारण आफूमा भाषाको कमी भएको, शुद्धसँग बोल्न/पढ्न जान्नै पर्नेरहेछ भनेर महसुस भएकाले उमेरले ४ दशक पार गरे पनि स्कुल पढ्न थालेको बताएकी थिइन्। 

त्यसैले सबै आलोचनालाई नकारात्मक रूपमा लिन हुँदैन, त्याे रचनात्मक छ कि छैन भनेर छुट्याउन सक्नुपर्छ र शिक्षा लिनुपर्छ।  

केही समयअगाडि कुराकानीका क्रममा मलाई एक जना शुभचिन्तकले अनौठो प्रश्न गरिन्, ‘अझै बच्चा नपाएको! बिहे गरेको त धेरै नै भयो त!’

बडो चिन्ताका साथका अगाडि भनिन्, ‘चाँडै बच्चा पाएँ– हेर्नु त मेरा छोरीहरू कति छिटो हुर्किसके, आफूलाई पनि सजिलो भएको छ। साथीजस्तै भएका छौं। अब त पाए हुन्छ, महिलाको शरीर हो, सधैं एकनासको हुँदैन।’

लामै सल्लाह दिइन्। उनी मात्र होइन, मैले प्राय: सबैबाट यस्तै सल्लाह/सुझाव पाइरहेकी हुन्छु।

‘अब त अबेला भइसक्यो है!’ यो सबै विवाहित महिलालाई भनिने कुरा हाे। 

यसलाई कसरी लिने भन्ने कुरामा पनि भरपर्छ। अरूलाई कस्तो लाग्छ, तर मलाई यी कुरा एकदमै निजी लाग्छन्। हरेकलाई आफ्नो जिन्दगीको निर्णय गर्ने  अधिकार हुन्छ। हरेक व्यक्तिका आफ्नै जीवन, योजना, सपना, उद्देश्य, लक्ष्य हुन्छन्। अपवादलाई छाड्दा परिवारको योजना नभएको कोही हुन्छ होला त? निःसन्तान हुन कसलाई पो मन हुन्छ होला र! फरक यत्ति हो– कसैको शरीरले साथ दिँदैन, कसैको सही समय आउन ढिला हुन्छ। 

सन्तानको योजना कसैलाई खुसी बनाउनभन्दा पनि आफूलाई अब त मातृत्व सुख लिनुपर्छ र आफू त्यो जिम्मेवारी वहन गर्न सक्छु भन्ने भएपछि मात्र अगाडि बढ्नुपर्छ। किनकि जबर्जस्ती अरूका लागि गरिएको निर्णयले आफूलाई कहिले आत्मसन्तुष्टि दिँदैन। र, गर्भको बच्चासँग आत्मीयता खुलेर हुँदैन पनि। यो लेख पढिरहँदा पाठकलाई लाग्नसक्छ– आमा र बच्चाको सम्बन्ध त्यस्तो हुँदैन। 

लेखक, कवि आहुतिले लेखेको ‘जात वार्ता’ किताबको यो पंक्ति यहाँ राख्न चाहें– ‘कोही मानिस विचारका कारणले त कोही मानिस परिस्थितिका कारण बदलिन्छ, बदलिन बाध्य हुन्छ।’

त्यसैले यो लेख मेरो निजी विचार हो। 

२०७७ चैतको कुरा हो। कोरोना महामारी सुरु भएका कारण सरकारले लकडाउन गरेकाे थियाे। जसका कारण लामो समयदेखि घर जान नपाएका र नगएकाहरू पनि घर गए। यसै क्रममा एक जना दिदीले भनेको सम्झन्छु– ‘१० वर्षभन्दा बढी भयो, काठमाडौं बस्न लागेको, न त पढाइ पूरा भयो न कुनै सीप व्यवहारमा उतार्न सकियो। आफ्ना लागि सोच्ने समय नै भएन, बिहेपछि बालबच्चा घर भन्दाभन्दै काम गर्न सकिनँ। श्रीमानले पनि मेरो कमाइले पुगिहालेको छ, लोग्ने हुँदाहुँदै स्वास्नीले कमाउने भनेर दाजुभाइले के भन्लान् भन्ने कुराले म रोकिएँ। अरूका लागि समर्पित हुँदाहुँदै आफू त रित्तो भएँ।’

दिदीले भोगेको यो जिन्दगी हजारौं महिलाको हो। बिहेपछिको जिम्मेवारीले महिलालाई कतिसम्म थिच्छ भन्ने कुराको केही अनुभूति मैले पनि गरेकी छु। दिदीको गुनासो आफ्नो ठाँउमा होला, तर आफ्ना लागि त आफैंले गर्ने हो। 

जिन्दगी कसैको उपकारको आशा र अरूले के भन्छ भन्ने डरमा हाेइन, स्वाभिमानका साथ बाँच्नुपर्छ। विशेषगरी हामी महिला पछि पर्नुमा आशे बानीले पनि धेरै भूमिका खेलेको छ भन्ने लाग्छ। कतिपय अरूका बन्देजले पनि काम गरेका छन्। हरेकका आआफ्ना  कथा–व्यथा हुन्छन्। सबैलाई एकै हिसाबले हेर्न मिल्दैन। तर पनि हार खाएर पछि हट्ने हाेइन, हिम्मत र साहसका साथ अगाडि बढियो भने अवश्य सफल भइन्छ। 

मलाई कतिले भन्छन्– ‘मास्टर सकेर बस्ने बेला बल्ल ब्याचलर पो!’ 

पढाइका लागि उमेरको हदबन्दी त हुँदैन तर पनि समयमै सकेको भए यो उमेरमा अरू नै केही गर्न सकिन्थ्यो भन्ने पनि टन्नै छन्।

हो, सबै काम समयमै गर्न सके/पाए अति उत्तम। तर सबैले सही समयमा गर्न नपाएको/नसकेको पनि हुन सक्छ। यसतर्फ पनि विचार पुर्याउनुपर्छ। 

म पढाइमा मध्यम स्तरको विद्यार्थी हुँ। एसएसली र प्लस टु पास गरेपछि ब्याचलर पनि पढेँ। तर खै किन हाे, मलाई पढ्न मन लागेन। अध्ययन यात्रा बीचमै रोकेँ। काम गर्न थालेँ। पढाइको महत्त्व थाहा नभएको पनि हैन। अहिले आएर सम्झिँदा लाग्छ– पढेको विषयमा त मेरो रुचि नै नभएर पो रहेछ। झन्डै ७ वर्षको अन्तरमा मैले बिहेपछि पुनः अध्ययन अगाडि बढाएँ। आफूलाई धेरै नियालेर चिन्ने कोसिस गर्दा बल्ल यो कुराको बोध भयो। यसबीच मैले बाहिरी किताब पढेँ। साँच्चै, किताबले त जिन्दगीको रिक्तता भरिदिँदोरहेछ। हुन त मेरै अनुभव सबैका लागि उपयोगी हुन्छ नै भन्ने होइन। सबैले आफूलाई बुझ्न र चिन्न समय लाग्छ। कसैले छिटो आफूलाई चिन्छन् त कसैल अलि ढिला। 

मैले पनि आफ्नो रुचि–क्षमता चिन्न धेरै समय लगाएँ। विशेषगरी हामी केही काम गर्न सकेनौं भने अनेक बहाना बनाउने गर्छाैं। त्यो भएर, यो भएर मैले गर्न सकिनँ भन्दै। तर जिन्दगीमा यस्ता घटना पनि हुन्छन्, जसले आफूले गरेको गल्तीको महसुस गराउँछन्। मलाइ पढाइमा फर्किने बनाउनमा पनि केही यस्ता व्यक्तिको हात छ, जसले भनेका कुराले मलाई आफैंप्रति प्रश्न गर्न सिकायो। आफ्नो अधुरो पढाइ र सबै मान्छे एउटै हुन्छन् भन्ने सोचका कारण मैले धेरै ठाउँमा ठक्कर खाएकी छु। हुन त ठक्कर खाएर नै अक्कल आउने हो। सबैलाई हामीले एकैनासको व्यवहार पनि गर्नु हुँदोरहनेछ। हामी सबैलाई आफ्नो सोचेर जसरी व्यवहार गर्छाैं, त्यसले सधैं सकारात्मक नजिता नै ल्याउँछ भन्ने छैन। त्यसैले आफ्नो वरिपरि सधैं सकारात्मक सोच भएका व्यक्तिहरूलाई मात्र राखौं। 

म भन्छु– विवाहपछि पनि पढाइ सम्भव छ। आफ्नो रुचि र क्षमता केमा छ भनेर आफूलाई चिन्ने कोसिस गर्नुपर्छ। कस्ता मानिसको संगतमा छौं भन्ने कुराले पनि ठूलो अर्थ राख्छ। हरेक मानिसमा कुनै न कुनै विशेष क्षमता हुन्छ। फरक यत्ति हो– कतिले त्यसलाई चिनेर जीवन सार्थक बनाउँछन् त कतिले एकबारको जुनी त्यसै खेर फाल्छन्।

मलाई पनि पढाइमा कहिले राम्रो भइनँ, मैले जीवनमा केही गर्न सक्दिनँ भन्ने सोचले हरेक क्षण सताउने गथ्र्याे। लाग्थ्यो– अब्बल विद्यार्थी मात्र जीवनमा सफल हुन्छन्। तर म गलत रहेछु। विभिन्न किसिमका श्रेणी त फगत पो रहेछ। हाम्रो शिक्षा प्रणालीले प्रतिस्पर्धाको जन्म गराएको छ। वास्तवमा न कोही अगाडि छ न पछाडि। न कोही कसैभन्दा माथि छ न तल। हरेक व्यक्ति त्यही हो, जो ऊ हो।

ओशो रजनिशको किताब ‘शिक्षामा क्रान्ति’ ले पनि मलाई ७ वर्षपछि अध्ययनमा फर्किन मानसिक रूपमा सहयोग गर्यो। 

त्यसैले अरूका बारेमा सरोकार राख्नभन्दा पनि आफूले के गर्नुपर्छ भनेर विचार गर्नुपर्छ। फुर्सदका बेला आफैंलाई नियाल्नुमा धेरै फाइदा छ। हामीले पढेका विषय हाम्रो रुचिको नभएर पनि हामी असफल भएका हौं। हामी सबै विशेष छौं। यसको अनुभूति गर्न नसकेर मात्र हो। समय कहिले सकिएको हुँदैन। उमेर त एउटा नम्बर मात्र हो। यसले हाम्रो सपनालाई रोक्न सक्दैन। त्यसैले कसैले केही भन्छ कि भनेर डराउनुको साटो जीवनमा गर्न बाँकी कुरा आजैबाट सुरु गरौं। प्लस टु पढ्दाताका हाम्रो सरले पढाउँदा सधै भन्ने गर्नुहुन्थ्यो– ‘१२ कक्षा पनि पास भएनाै भने त भोलि आफ्नै श्रीमान् र  छोराछोरीले पनि हेप्नेछन्। अनि बल्ल थाहा पाउनेछौ।’

यस्तै विषयवस्तु समेटेर बनाइएको चलचित्र ‘इङ्लिस् भिङलिस्’ हेरेँ। साह्रै मन छोयो। वास्तवमा पढ्न र बोल्न पनि जान्नुपर्दोरहेछ। चलचित्रमा अभिनेत्री श्रीदेवीले असम्भव भन्ने केही छैन भन्ने मनैबाट ठानियो र मिहिनेत गरियो भने सफल भइन्छ भन्ने प्रेरणा दिएकी छन्। लड्डु व्यवसाय गरेर आर्थिक रूपमा आत्मनिर्भर भए पनि अंग्रेजी बोल्न नजान्दा श्रीमान र छोरीले समेत तिमी त लड्डु बनाउन जन्मिएकी हौ भनेर हेपेको देख्दा नरमाइलो लागेको थियो। तर अन्तिममा उनले अंग्रेजी सिकीवरी परिवारका अगाडि बोलेर देखाइछाड्छिन्। त्यसरी नै हामी महिला पनि बिहेपछि पनि अधुरो पढाइलाई पुनः निरन्तरता दिऔं। 

आफ्ना कुरा परिवारका सामुन्ने खुलेर व्यक्त गरौं। आफूभित्रको ऊर्जालाई मर्न नदिऊँ। हरेक बिहान एक घण्टा आफ्ना लागि छुट्याऊँ। रचनात्मक आलोचनालाई स्वीकारौं, नकारात्मकलाई सुन्दै नसुनौं। अरूका लागि होइन, आफ्ना लागि बाँचौं।अरूलाई सधैं हिम्मत र हौसला बाँडौं। किनकि जीवन सुन्दर छ। 

अन्त्यमा, एउटा गीतले भनेझैं हिँड्ने मान्छे लड्छ। लडे पनि फेरि उठेर हिँड्न सुरु गरौं। आजैबाट आफ्ना सपनालाई जतनका साथ फेरि लिएर अगाडि बढौं। सफलता तपाईंको हातमा हुनेछ। 

यो पनिः
यस्ता धेरै श्रीमान् देखेकी छु

भदौ ७, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .