ब्लग


यस्ता धेरै श्रीमान् देखेकी छु

यस्ता धेरै श्रीमान् देखेकी छु

सम्झना विक
साउन २३

करिब २ वर्षअघिको कुरा हो। लुम्बिनी घुम्ने अवसर जुरेको थियो। जहाँ धेरै गुम्बा छन्। सोही क्रममा एक जोडीमा मेरो नजर पुग्यो। श्रीमानले श्रीमतीलाई बेस्सरी गाली गरिरहेका थिए। एकछिन रोकिएर ध्यान दिएर सुनेँ। कुरा सामान्य रहेछ– श्रीमानले जुत्ता लगाउँदै रहेछन्, श्रीमतीले आफ्नो पनि जुत्ता ल्याइदिन आग्रह गरिछन्। यसपछि ‘मान्छेहरूका अगाडि मलाई जुत्ता ल्याइदे भनेर अह्राउने’ भनेर  श्रीमान आक्रोशित भएका रहेछन्। ती महिला खिन्न भएर आँसु लुकाउने कोसिस गरिरहेकी थिइन्। मान्छेहरू सबैले त्यसमा ध्यान नदिए पनि मेरो ध्यान भने गहिरोसँग गयो, कस्तो नमज्जा लाग्यो।

कति सानो कुरा थियो– तर श्रीमानका लागि त्यो ‘इज्जत’ र अहंको विषय बन्यो। अनि गाली बर्सियो। ती महिलाले यस्तो सोचिन् कि सोचिनन्, मेरो दिमाग भने अशान्त भयो; मनमा कुरा खेल्न थाले– श्रीमानका सर्ट–पेन्ट, जुत्ता-मोजादेखि अन्डरवेयरसम्म तिनै श्रीमतीले धोइदिएकी हुन्, अफिस वा व्यापार जे गर्लान्, सहज वातावरण उनैले बनाइदिएकी होलिन्। समयमा खाना, नास्तादेखि जुत्ता पोलिसम्म तिनै पत्नीले व्यवस्था गरिरहेकी होलिन्। घरका कामदेखि श्रीमानको छवि राम्रो बनाउनसम्म कति मेहनत गरिरहेकी होलिन्। विडम्बना! तिनै श्रीमतीले सानो सहयोग माग्दा ठूलै मूल्य चुकाउनुपर्यो।  

यसो भनिरहँदा श्रीमानले कमाइदिएको छ, बसीबसी खान पाएको छ, कमाउन जान दुःख गर्नपरेको छैन, मीठो खान, राम्रा लुगा, महँगा गरगहना लगाउन पाएकै छ जस्ता कुराले महत्त्व पाउने गरेका छन्, हाम्रो समाजमा।

मानव सभ्यता विकासका क्रममा महिला–पुरुष सहकार्यले नै आज हामी आधुनिक युगसम्म आइपुगेका हौं। केवल जिम्मेवारी र कर्तव्य फरक–फरक थिए र छन्। आधुनिक युगमा प्रवेश गर्दै गर्दा जनसंख्या वृद्धिसँगै विश्वका सबै क्षेत्रमा महिला र पुरुषका जिम्मेवारी, श्रम, व्यहवहार भिन्न–भिन्न हुँदै गए। महिला र पुरुषबीच शारीरिक बनावट प्रकृतिले नै फरक बनाइदिए पनि अन्य सबै असमान भूमिका र कर्तव्य, रहनसहन, लैंगिक विभेद हामी मानिसले नै सिर्जना गरेका हौं। समाज विकास हुँदै जाने क्रममा केही राम्रा कुरासँगै नराम्रा संस्कार पनि विकास भए/गरिए। जसले समाजमा यसरी जरा गाडे कि तिनलाई उखेलेर फाल्न निकै मुस्किल परिरहेको छ। 

पितृसत्तात्मक सोच/व्यवहार समाजमा बढ्दै गयो। विशेषगरी दक्षिण एसियाली देशमा बढी रहेको यस्तो सोच/दृष्टिकोण हटाउन महिला–पुरुष मिलेर जसरी अगाडि बढ्नुपर्ने हो, त्यो राम्रोसँग हुन सकरिहेको छैन। 

हामीकहाँ महिलाका मुद्दालाई महिलाको मात्रै सरोकारको विषय ठान्ने गलत मानसिकता छ। यसैले पितृसत्ताविरुद्धका विषयमा पुरुषहरू बोल्नै चाहँदैनन्। यसको तात्पर्य सबै पुरुष एकै खालका हुन्छन् भन्न खोजिएको होइन। समाजमा यस्ता पुरुष पनि छन्, जो महिलाविरुद्ध हुने हिंसाविरुद्ध सक्रिय छन्, तर निकै न्यून संख्यामा। कति पुरुष त लेख्न त के बोल्नसमेत रुचाउँदैनन्, महिला मुद्दामा।

मैले यस्ता धेरै पुरुष देखेकी छु, जो परिवारका सामुन्ने श्रीमती सँगै बसेर पनि खाँदैनन्, जुठो खाने त परको कुरा। काममा सहयोग नगर्ने, सँगै नहिँड्ने गर्छन्; यसो गर्दा सानो भइन्छ भन्ने सोचले गर्दा होला। तर सबै पुरुष यस्ता हुँदैनन्; कोही कोही फरक पनि छन्, औंलामा गन्न सकिने जति होलान्। सबैको अगाडि बोलाउने तथा कुनै काम सहयोग गरिदिन आग्रह गर्दा पनि पत्नीले पतिको नराम्रोसँग गाली खानुपरेको घटना पनि मैले देखेको छु।  

विशेष गरेर मलाई महिलाप्रति असमान र भेदभावपूर्ण व्यवहार दक्षिण एसियाली देशमा मात्र हुन्छ होला जस्तो लाग्थ्यो। तर जब साहना प्रधानको ‘स्मृतिका आँखीझ्यालबाट’ पुस्तक पढेँ, तब मेरो बुझाइ बदलियो। असमान व्यवहार, पितृसत्तात्मक सोच त विश्वभरि पो रहेछ! स्वतन्त्र भएर जब महिला अघि बढ्न खोज्छन्, तब दुई जनाबीच कुरा बाझिन थाल्छन्, असमझदारी उत्पन्न हुन थाल्छन्। अनि सँगै बस्न नसक्ने हुँदारहेछन् र अन्याय सहेर किन बस्ने भन्ने सोचले महिलाले सम्बन्ध–विच्छेद गर्दारहेछन्। यस्ता थुप्रै घटना लेखक प्रधानले पुस्तकमा समेट्नुभएको छ। जुन उहाँले सरकारको प्रतिनिधित्व गरेर विदेश भ्रमण गर्दा देख्नुभएको थियो। 

लेख्दै जाँदा सम्झना आयो– हामी साथीहरू महिला र पुरुष समानताको कुरा गर्दै थियौं, कुरामा कुरा निस्किँदा एक जना पुरुष साथीले आफ्नो विचार राख्नुभयो– ‘तिमी महिलाहरू जुन बराबरीको कुरा गर्छौ नि त्यो मलाई सबैभन्दा हास्यास्पद लाग्छ!’

मैले प्रश्न उठाएँ, ‘किन?’

उहाँले भन्नुभयो, ‘बराबरी कहिले पनि हुँदैन। पचास–पचास खोजेर कहिल्यै पाइँदैन। कि माथि उक्लिनुपर्छ कि तल झर्नुपर्छ। जति पनि समानताको कुरा छ, सब पश्चिमा समाजको हो, हाम्रो पूर्वीय समाजमा त्यस्तो छैन, हाम्रोे धर्ममा पनि भगवान् नारायणको पाउमा नै लक्ष्मी बस्नुहुन्छ। त्यस्तै पार्वतीले पनि दिनरात शिवको पूजा र आराधना गर्नुहुन्छ। धर्म त सत्य हो।’ 

यो कुराले दिनभर मेरो मन​ पिरोलिरह्यो। पढेलेखेका शिक्षित भनिएका युवाको सोच त यस्तो छ भनेपछि समाजमा पुरुषप्रधान सोच कति गहिरोसँग गाडिएको होला! जुन एक पुस्ताबाट अर्को पुस्ता हुँदै हस्तान्तरण भइरहेको छ। हाम्रा बा, हजुरबाहरू त शिक्षित हुनुभएन ल ठीकै छ, तर आजका पुरुष त शिक्षित छन्, तर खै परिवर्तन! उदेक लागेर आउँछ। 

हुन त यसमा हामी स्वयं महिलाको पनि केही भूमिका नभएको होइन। हामीले घरमा गर्ने व्यवहार र संस्कारले पनि यसमा गहिरो अर्थ राख्छ। छोराछोरीको हुर्काइमै ठूलो अन्तर छ। व्यवहारदेखि कामको बाडफाँट र खेलसम्म भेदभाव हुने गर्छ। बालबालिकाको दिमाग १२ वर्षको उमेरसम्म दायाँ चल्छ, त्यसपछि बायाँ भाग सक्रिय हुन थाल्छ। 

जिज्ञासु, चकचके, मिहेनती, निस्फिक्री, निर्दोषपना जति पनि आनीबानी र व्यवहार बालबालिकामा हुन्छन्, त्यो दायाँ मस्तिष्कको कमाल हो। त्यसबेला जब हामी घरमा असमान बोली–व्यवहार गर्छाैं तब त्यही कुरा उनीहरूले सिक्छन् र दिमाग गडेर बस्छ। अनि उमेर वृद्धिसँगै ती कुरा प्रकट हुँदै जान्छन्। त्यसैले त्यही बालक पछि कसैका दाइ, काका, श्रीमान, बुवा अनि हजुरबुवा बन्छ र जसरी हुर्किएको थियो, त्यसरी नै उसले आफ्ना कर्म गर्दै जान्छ। 

‘म्यारिज एन्ड फेमली : इन्डिभ्युजअल्स् एन्ड लाइफ साइकल्स्’ की लेखक हेमिल्टन आई मक्युबिनले आफ्नो पुस्तकमा धेरै प्रमाण दिएकी छन्– महिला र पुरुषको भिन्नता केवल शारीरिक हो। जति पनि फरक व्यवहार, बानी, स्वभाव र दृष्टिकोण छन्, ती हाम्रो समाजका मूल्य–मान्यता, संस्कार/चालचलनले गर्दा विकास भएका हुन्। लेखकले विभिन्न समुदायका महिला र पुरुषबीच अनुसन्धान गरेकी थिइन्। त्यसकारण हामीले आफ्ना बालबच्चालाई कस्तो संस्कार दिएका छौं? कस्तो वातावरणमा हुर्काएका छौं? यसले उनीहरूको दृष्टिकोण बनाउँछ। 

यसतर्फ आजैदेखि ध्यान दिने कि? यही प्रसंगमा एउटा चिनियाँ भनाइ राख्न मन लाग्यो– विरुवा रोप्ने सबैभन्दा राम्रो समय २० वर्ष पहिले हुन्थ्यो, तर दोस्रो ठीक समय आज हो।  

एक वर्षअगाडि एक कार्यक्रममा महिला अधिकारकर्मी, लेखक तथा कवि कमला भसिनले भन्नुभएको थियो– महिलाले समानता खोज्दा पुरुषको अस्तित्व मेटिँदैन, यसले महिलाको मात्र संसारको कल्पना गर्दैन। यसले त पितृसत्ताको विरोध मात्र गर्छ। उहाँले थप्नुभएको थियो– पितृसत्ताले महिलालाई मात्र होइन, पुरुषलाई पनि पिरोलेको छ। उनीहरूले खुलेर आफ्ना भावना व्यक्त गर्न सक्दैनन् र रुन पनि। समाजले नै उनीहरूलाई एउटा बन्धनमा राखिदिएको छ।

आउनुस्, हामी महिला–पुरुष मिलेर पितृसत्ताको जरै उखेलौं। अधिकारसँगै मिलेर जिम्मेवारी र कर्तव्य पूरा गरौं। समानता र समतामूलक समाज निर्माण गरौैं। यो मुद्दालाई फैसलामा पुर्याउँ, भनेर होइन- गरेर देखाऊँ, प्रतिस्पर्धी होइन, सहकर्मी बनौं। साथीमा जीवनसाथी सबैभन्दा महत्त्वपूर्ण हो। त्यसैले दुवैले आआफ्ना भूमिका मिलेर निर्वाह गरौं।

अन्त्यमा, ‘आफैंलाई चिन्ने कोसिस’ पुस्तकमा पढेका कुरा राख्न चाहेँ– एक्लो रूख जति बलियो र ठूलो भए पनि हुरीको सामना गर्न नसकेर ढल्छ, तर त्यही ठाँउमा ससाना रूखहरूको झुण्ड छ भने ठूलो हुरीबतासले पनि एउटालाई पनि लडाउन सक्दैन।

साउन २३, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .