ad ad

ब्लग


नेपाल प्रहरी सधैँ किन नक्कल गर्छ?

नेपाल प्रहरी सधैँ किन नक्कल गर्छ?

अमर बहादुर विक
साउन १८, २०७८ सोमबार १६:२, काठमाडौँ

हाल नेपाल प्रहरीको नियमावली संशोधनको हल्ला उत्कर्षमा छ। 

गजबको कुरा त के सुन्यौँ भन्दा सशस्त्र प्रहरी बलमा भएका सहायक हवल्दार, हवल्दार, वरिष्ठ हवल्दार, वरिष्ठ नायब निरीक्षक (सुबेदार मेजर) र  परिचरका तहहरुलाई हुबहु नेपाल प्रहरीमा राख्न खोजिएको रहेछ। त्यो राख्नुपर्ने आधार के?

सशस्त्र प्रहरी बल अर्धसैनिक प्रकृतिको संगठन भएको हुँदा फर्मेसनमा दर्जागत कामको विभाजन गरिएको हुन्छ। जस्तै एक सेक्सनमा सहायक हवल्दारको व्यक्तिगत हतियार लाइट मेसिन गन हुन्छ। 

यस हतियारले एक किलोमिटरसम्म प्रभावकारी तरिकाले मार्न सक्छ। यो हतियार र टिमको कमाण्डर सहायक हवल्दार हुन्छ।

हवल्दार सेक्सनमा सहायक कमान्डर र प्लाटुनमा हुँदा ५१ मिलिमिटर वा २ इन्च मोर्टार (तोपखान) हतियारको कमान्डर हुन्छ।

वरिष्ठ हवल्दार सेक्सन कमान्डर र युनिट वा सव युनिटहरुमा सिनियारिटी (वरिष्ठता)अनुसार हवल्दार मेजरको भूमिका निर्वाह गर्दछ। 

त्यसैगरी वरिष्ठ नायब निरीक्षक जसलाई सुबेदार मेजर पनि भनिन्छ। यो दर्जा बटालियनमा एउटा मात्रै हुन्छ। जसको काम सुबेदार मेजरको भूमिका निर्वाह गर्ने हो। 

यो दर्जा बटालियन परिचालन नभएसम्म कदापि बाह्य ड्युटीमा खटन हुँदैन। सशस्त्र प्रहरी बलमा हवल्दार मेजर र सुबेदार मेजरका कामहरु प्रशस्त छन्।

तर नेपाल प्रहरीमा यसको भूमिका के हुने हो जब कि नेपाल प्रहरी अर्धसैनिक बलको संरचनामा छँदै छैन। 

सामान्य खटन गरेको ड्युटीमा सहीछाप गरी सूचनापाटीमा टाँस गर्नेबाहेक यी थप हुने दर्जाको के काम हुन्छ? सैनिक प्याटर्नमा पनि हरेक दर्जा सोहीअनुसार निर्धारण गरेको हुन्छ।

नेपाल प्रहरीमा थप हुने यी दर्जाहरुको हैसियत के हुन्छ? प्रहरी प्रहरी नै हुने हो, अर्धसैनिक हुन खोज्ने होइन। 

अर्धसैनिक बल सैनिक बन्ने होइन र सेना जंगलमा हात्ती गैँडा हेर्ने होइन तर हामीकहाँ यस्तै भएको छ। 

अझै गजबको कुरा के भन्दा प्रहरीले इन्सास राइफल सेनाबाट पाएको छ। उसको काम हाइ क्यालिबर हतियार बोक्ने हैन। 

सक्छ भने हरेक प्रहरी जवानहरुलाई अटोमेटिक पेस्तोलहरूलगायतका अन्य पुलिस इक्विपमेन्ट उपलब्ध गराउनुपर्छ। लामो लङ्ग रेन्जको हतियार बोकाउनुहुँदैन। छोटो दूरीका अटोमेटिक हतियार भएमा अपराधीहरुलाई एक्लै पनि नियन्त्रणमा लिन पक्राउ गर्न सजिलो हुन्छ।

हालसम्म पनि प्रहरीमा असई भन्दा तलको दर्जाले पेस्तोल चलाउन पाउँदैन जुन एकदमै गलत हो। 

फिल्डमा खटिने दर्जा सिपाहीले नै यो हतियार नबोक्नु कसरी राम्रो मान्ने? छिमेकी देशको प्रान्तीय तथा संघीय प्रहरीहरूमा पनि अर्धसैनिक प्रकृतिको दर्जा छैनन्। जुन नेपाल प्रहरीले राख्ने प्रयास गर्दै छ, यो सरासर गलत हो।

आखिर किन त कुनै सुरक्षा विशेषज्ञहरु केही बोल्दैनन। अरूको जे देखे त्यति नक्कल गरेर हेर्ने हो?  

प्रहरीलाई चाहिने कामसँग सम्बन्धित सबै पाओस् तर विना मतलबको अर्को संगठनको दर्जाले प्रहरीलाई कदापि आफ्नो मिसनमा सहायक सिद्ध हुनेवाला छैन। 

सुरक्षा विशेषज्ञहरूले पनि समयमै राय सल्लाह दिऊन् र गृह तथा अर्थमन्त्रीज्यूले पनि यो दर्जा थपको लागि आवश्यक छ÷छैन राय÷सल्लाह लिनुपर्छ। 

प्रहरी के हो कामको प्रकृतिअनुसार कतिपय सेवा सुविधा बरु फरक र पर्याप्त दिइयोस्!

यस्तै अरुको नक्कल गर्दै जाने हो भने एक दिन सेनाको दर्जा माग होला। के गृहमन्त्रीज्यू त्यो पनि पूरा हुन्छ? 

प्रहरीको काम कानुन कार्यान्वयन गराउने शान्ति सुरक्षा बहाल राख्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्नेलगायतका अन्य म्यान्डेटहरू गर्ने हो, त्यतातिर कहिल्यै जोड नदिने सधैँ सशस्त्रको प्याटर्नमा नक्कल गर्नु कदापि सान्दर्भिक नहोला।

(लेखक सशस्त्र प्रहरी बलका पूर्वडीएसपी हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .