बैंक/वित्त


बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन्: गभर्नर अधिकारी

बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन्: गभर्नर अधिकारी

नेपालखबर
पुस ४, २०८१ बिहिबार १२:१०, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ ।

बुधबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले ऋणको ब्याज उठ्न नसक्दा बैंकहरू समस्यामा रहेको उल्लेख गरेका हुन्।

बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको धारणा पनि उनले राखे। राष्ट्र बैंकको नीति भने वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको उनको भनाइ थियो।

उनले भने, ‘हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौँ। बैंकर साथीहरूले सघाउनुभएको छ। जुनसुकै कठघरामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ। कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको छ।’

बैंकिङ क्षेत्र झन् चुनौतीमा रहेको र यसका संवेदनशीलता बुझेर चल्न पनि उनले बैंकरहरूलाई आग्रह गरे।

‘हामीले विश्वव्यापीकरणको लाभ लिइरहेका छौँ तर विश्वव्यापी रूपमा स्वकेन्द्रित हुन थालिएको छ,’ उनले भने, ‘यसमा अनिश्चितता मात्र निश्चित देखिन्छ। हामीले काम गर्दा प्रशस्त चुनौती छन्। बैंकिङ क्षेत्र झन् चुनौतीमा छ। संवेदनशीलता तपाईंहरूलाई थाहै होला। हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन्। बैंकिङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ। बैंकिङ अभ्यास निकै पारदर्शी छ। पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको हो। पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ। तर प्रोभिजनले बलियो बनाएको छ। प्रोभिजनले बैंकलाई बचाउँछ। ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं। तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ।’

उनले बैंकको लाभांश राष्ट्र बैंकको कारणले नभएर बैंक आफ्नै कारणले दिन नसकेको तर्क पनि गरे।

‘जुन बैंक इफिसियन्ट भयो, त्यही बैंकले धेरै लाभांश बाँडेको भन्दै प्रोभिजनका कारण बैंकहरूको लाभांश क्षमता घटेको भन्न नमिल्दैन,’ उनले भने, ‘कुनै बैंकले २६ प्रतिशतसम्म लाभांश बाँडे भने कसैले शून्य।’

बैंकिङ क्षेत्रलाई बाह्य क्षेत्रबाट दबाब आउँदा समस्या परेको उनको भनाइ थियो। ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरूबाट काम हुन नसकेको उनले बताए। उनका अनुसार, बैंकको नाफामाथि प्रश्न उठ्दा पनि असहज अवस्थामा बैंकहरू पुगेका हुन्। बैंकहरू नाफाबिना चल्न नसक्ने भन्दै पुँजी लगानी गरेपछि प्रतिफल आवश्यकता पर्ने उनको भनको प्रस्टीकरण थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad