बैंक/वित्त


कर्जाको माग नबढेपछि बैंकहरू न्यून ब्याजमै केन्द्रीय बैंकमा जम्मा गर्दै, थुप्रियो ३ खर्ब ५६ अर्ब

कर्जाको माग नबढेपछि बैंकहरू न्यून ब्याजमै केन्द्रीय बैंकमा जम्मा गर्दै, थुप्रियो ३ खर्ब ५६ अर्ब

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १८:३५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरूसँग तरलता बढ्दै गएपछि केन्द्रीय बैंकमा पैसा थुप्रिन थालेको छ। मंसिर १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ५६ अर्ब ३० करोड रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह अपेक्षित रूपमा गर्न नसक्दा अहिले लगानीयोग्य रकम (तरलता) अधिक हुने अवस्थामा छ।

निक्षेपको ब्याजदर औसतमा ६ प्रतिशतमा आइसकेको छ भने कर्जाको ब्याजदर पनि एकल अंकमा झरेको छ। ब्याजदर घटिसक्दा पनि निजी क्षेत्रमा जाने कर्जा बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले न्यून ब्याजदरमै केन्द्रीय बैंकमा पैसा जम्मा गरेका हुन्।

बोलकबोल प्रणालीमार्फत राष्ट्र बैंकले मंगलबारसम्म निक्षेपमा २८ पटक गरेर २ खर्ब ९ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट संकलन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्न नसकेपछि आफूसँग भएको निक्षेपलाई २.८ प्रतिशतकै दरमा राष्ट्र बैंकमा निक्षेपमा राखेका छन्।

यस्तै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा शीर्षकमा १ खर्ब ४७ अर्ब रुपैयाँ प्रशोचन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनसँगै कर्जा प्रवाहलाई बढाउन नसक्दा राष्ट्र बैंकले पछिल्लो समय दिन बिराएरै निक्षेप बजारबाट उठाउँदै आएको छ। बोलकबोल माध्यमबाट निक्षेप संकलन गर्दै आए पनि बैंक तथा वित्तीय संस्थाहरूमा तरलता व्यवस्थापनमा कठिनाइ देखिएको हो।

मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूसँग ६६ खर्ब रुपैयाँ बराबरको निक्षेपबापतको रकम छ भने उनीहरूले कुल ५३ खर्ब बराबरको कर्जा लगानी गरेका छन्।

यतिबेला बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७८.५९ प्रतिशतमा छ। यस्तो अनुपात ९० प्रतिशतसम्मलाई राम्रो मानिन्छ भने त्यसमाथि नाघेको खण्डमा तरलता अभावको अवस्था सृजना भएको भनिन्छ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग पर्याप्त तरलता रहेको छ। यसलाई व्यवस्थापनका खातिर पनि केन्द्रीय बैंकले निक्षेप संकलनलाई बढाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad