माध्यमिक शिक्षा परीक्षा (एसईई) मा केही वर्षयता देशभरकै विद्यार्थीको नतिजा निरन्तर कमजोर बन्दै गएको छ। मकवानपुरमा पनि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर आइरहेको तथ्यांक छ। गत वर्षको एसईई परीक्षामा जिल्लाबाट जम्मा ४६.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए।
शैक्षिक गुणस्तर, शिक्षक अभाव, विद्यार्थीको नियमित उपस्थितिको कमी र अभिभावकको कमजोर संलग्नताका कारण सामुदायिक विद्यालयको नतिजा चुनौतीपूर्ण बन्दै गएको अनुभव छ।
विशेषगरी गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थी कमजोर देखिएपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले विद्यार्थीका लागि ‘दोब्बर पढाइ’ कार्यक्रम सुरु गरेको छ। विद्यालयले नियमित कक्षासँगै बिहान र बेलुकी अतिरिक्त कक्षा सञ्चालन गर्दै कमजोर विद्यार्थीलाई लक्षित गरेर विशेष शिक्षण व्यवस्था मिलाएको हो।

पहिलो त्रैमासिक परीक्षामा गणित, विज्ञान, अंग्रेजी र अर्थशास्त्र विषयमा फेल भएको बताउँदै उनले भनिन्, ‘पढाई धेरै नै कमजोर थियो। अघिल्लो परीक्षामा धेरैवटा विषय लाग्यो। अहिले बिहान बेलुका नै पढ्न थालेदेखि दोस्रो त्रैमासिक परीक्षामा हामी सबैको राम्रो नम्बर आएको छ। म पनि सबै विषयमा पास भएको छु।’
घरमा हुँदा घरको काम यताउतामा व्यस्त भएर पढ्न अलमल हुने गरेकोमा अहिले पढाई भन्दा अन्त ध्यान नगएको उनको भनाइ छ। यता, शुशी गोलेको पनि उस्तै अनुभव छ। १० बजेदेखि ४ बजेसम्म पढेपछि उनीहरूको लागि एक घण्टाको ब्रेक हुन्छ । साँझ ५ बजेदेखि ८ बजेसम्म पुनः पढाउन सुरु गरिन्छ। ८ बजे खाना खाएपछि १० बजेसम्म गृहकार्य गर्ने समय छुट्याइएको छ।

भोलिपल्ट बिहान ४ः४५ मै आर्लम बज्छ। विद्यार्थी र शिक्षकहरू सँगै उठेर ५ बजेबाट पुनः बिहानीको कक्षा सुरु गरिन्छ। ९ बजेसम्म पढेपछि एक घण्टाको समय खाना खाने, विद्यालय पोशाक लगाउने र कक्षामा हाजिर गर्न पुग्न छुट्याइन्छ। यसरी विद्यालयमै बस्नेगरी मिलाइएको तालिकामा विद्यार्थीहरू पनि दंग परेर पढिरहेका छन्। एसईई परीक्षा कसरी पास गरौँला भन्ने चिन्ता हट्दै गएको शुशी बताउँछिन्।
‘कहाँ यस्तो पढ्न आउँथ्यो र? अहिले त धेरै सुधार भैसकेको छ,’ उनले भनिन्, ‘पढ्ने भन्दा केही काम छैन। गाह्रो लागेको विषय त दिनमा ३ पटकसम्म पढाउनुहुन्छ। एक महिना भयो हामी स्कुलमै बसेर पढ्न थालेको। धेरै राम्रो भएको छ।’
गतवर्ष यस विद्यालयबाट एसईई परीक्षामा सहभागी १६ जना विद्यार्थीमध्ये जम्मा २ जना मात्रै उत्तीर्ण भएका थिए। सोही कमजोर नतिजालाई मध्यनजर गर्दै विद्यालय, स्थानीय जनप्रतिनिधि र अभिभावकको समन्वयमा विद्यार्थीलाई विद्यालयमै राखेर दोब्बर पढाइ सुरु गरिएको हो।

विद्यालयमा छात्रावासको सुविधा नभएकाले शिशु कक्षा खाली भएपछि सोही कक्षालाई अस्थायी बसोबासका लागि प्रयोग गरिएको छ। विद्यालयमै खाना पकाएर खुवाउने, पढाउने र सुत्ने व्यवस्था मिलाइएपछि विद्यार्थीको ध्यान पढाइबाहेक अन्यत्र जान नपाएको र कठिन विषयमा समेत उल्लेख्य सुधार देखिन थालेको विद्यालयका प्रधानाध्यापक प्रेम थापा मगर बताउँछन्।
इन्द्रसरोवर २ नम्बर वडामा रहेको एक मात्रै माध्यमिक विद्यालयको शिक्षा गुणस्तर सुधार्न विद्यालय प्रशासनले मात्रै होइन, जनप्रतिनिधि र होटल व्यवसायीहरूले समेत तदारुकता देखाएका छन्। आफ्ना वडाका विद्यार्थीलाई एसईई परीक्षामा शतप्रतिशत उत्तिर्ण गराउने उदेश्यले यस वडामा वडाध्यक्ष सुमन श्रेष्ठले दोब्बर पढाईको अवधारण बनाएका हुन्।
विद्यार्थीको लागि खाना, बास र शिक्षणमा खटिने शिक्षकहरूको सुविधाका लागि वडा कार्यालयबाट बजेट विनियोजन गरिएको छ। पढाई सुधार भए नभएको हेर्न बेला बखत आफूहरू विद्यालय अनुगमनमा समेत पुग्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ।
‘भविष्यमा कर्णधारहरूको जग नै बलियो भएन भने एसईई भन्दा माथि पुग्न सक्दैनन् भन्ने लागेर शतप्रतिशत नतिजा ल्याउने प्रयासमा जुटिरहेका छौं,’ उनले भने, ‘प्रयास गरियो भने नहुने भन्ने केही रहनेछ। थोरै समयमै विद्यार्थीको पढाई मात्रै होइन। उनीहरूको क्षमता, आत्माविश्वास पनि बढेको पाएका छौं। यसका लागि वडाबाट २ लाख रुपैँया बजेट विनियोजन गरिएको छ।’

यता, एसईई परीक्षा सेन्टर टाढा पर्ने गरेका कारण त्यसको सहजताका लागि यस वडामा पर्ने होटल व्यवसायीहरूले रकम संकलन गरिरहेका छन्। होटलको काउन्टरमा राखिएको चन्दा बाकसमा होटल सञ्चालकले हरेक दिन ३० रुपैँयाको दरले जम्मा गर्छन्। ग्राहकहरूले इच्छा अनुसार रकम राखिदिन्छन्।
सो बाकस वडाध्यक्ष श्रेष्ठको रोहबरमा मात्रै खोल्ने गरिन्छ। उक्त रकम वडाबाट एसईई परीक्षा दिन जाने क्रममा विद्यार्थीहरूको खाना, आवास लगाएतमा खर्च गर्ने लक्ष्य रहेको होटल व्यवसायी धिरज बलामी बताउँछन्।
इन्द्रसरोवर गाउँपालिकामा पाँच वटा माध्यमिक विद्यालय रहे पनि सम्बन्धित वडामा पञ्चकन्या माध्यमिक विद्यालय मात्रै छ। यही विद्यालयका १२ जना विद्यार्थी एसईई परीक्षाको तयारीमा जुटेका छन्। उनीहरूलाई उत्तिर्ण गराउन शिक्षक, अभिभावक, जनप्रतिनिधि देखि व्यवसायीहरू समेत एकजुट भएको पाइन्छ। विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर गरिएको यो प्रयासले यसवर्षको एसईई नतिजामा उल्लेख्य सुधार आउने सरोकारवाला निकायहरूको अपेक्षा छ।
Shares

प्रतिक्रिया