बागमती


२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरी नै मिलेको आरोप

२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरी नै मिलेको आरोप

नेपालखबर
फागुन ५, २०८१ सोमबार १३:०, काठमाडौँ

जिल्ला पशु कार्यालय, मकवानपुरले २५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा लिएको छ।

आइतबार राति पशु सेवा कार्यालय मकवानपुरका २५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए।

आइतबार साँझ गोरु बोकेको बा प्र-०३-००१ ख १४२४ नम्बरको ट्रक हेटौंडा हुँदै झापा लगिँदै छ भन्ने सूचना प्राप्त भएपछि कार्यालय प्रमुख डा. ठाकुर प्रहरीको चेक पोस्ट रहेको हेटौंडाको रातोमाटे पुगेका थिए। 

दिउँसो नै तस्करीबारे जानकारी पाएपछि उनी फिल्डमा निस्किएको उनी बताउँछन्।

‘प्रहरी अधिकारीहरूले चेकजाँच गर्दै थिए तर तस्करी भइरहेको ट्रक प्रहरीकै मिलेमतोमा पास गराउने तयारी भइरहेको देखियो,’ डा. ठाकुरले सोमबार (आज) घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने।

उनले प्रहरीलाई उक्त गाडी अवैध रूपमा जाँदैछ भनेर जानकारी गराउँदा पनि प्रहरीले ट्रक त्यहाँबाट पथलैयातर्फ पठाइदिएको आरोप लगाए। 

नेपाल प्रहरीले आफूलाई साथ नदिएपछि सशस्त्र प्रहरी बलमार्फत अवैध गोरु नियन्त्रणमा लिइएको ठाकुरको भनाइ छ।

‘प्रहरीलाई भनेँ तर ट्रक नियन्त्रणमा लिनेतर्फ ध्यान नै दिइएन,' उनले भने, ‘सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख सन्तोष विक्रम शाहलाई अनुरोध गरेपछि बल्ल पथलैयाबाट उक्त ट्रक नियन्त्रणमा लिन सकियो। तर चालक, सहचालक सबै भागे। ट्रक अहिले पशु सेवा कार्यालय परिसरमा छ।’

राति ११ बजे गाडी नियन्त्रणमा लिएर मकवानपुर ल्याइएको थियो। छानबिन गर्दा गाडीमा २५ वटा जर्सीक्रस गोरु भेटिएका थिए। ती गोरुका लागि लक्ष्मी चौपाया सप्लायर्स, हेटौंडा–१६, को नाममा बिल जारी गरिएको पाइएको छ भन् प्रतिगोरु ५ हजार रुपैयाँको बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको छ। यता, भेटेरीनरी प्रमाणपत्रमा आबुँखैरेनी, तनहुँका भीम राईको नाम उल्लेख छ। जसमा डा. टीकाराम न्यौपानेको हस्ताक्षर छ। 

नेपालबाट गोरु तस्करी गरी भारत हुँदै बंगलादेशसम्म मासु प्रयोजनका लागि पठाउनका लागि लगिएको हुन सक्ने अनुमानमा गोरु नियन्त्रणमा लिइएको उनले बताए। हाल गोरु र ट्रक आफ्नो नियन्त्रणमा भए पनि ट्रक धनी, चालक कोही पनि सम्पर्कमा नआएको र यसै कारण पनि यो अवैध हुन सक्ने उनले बताए। 

नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु बध गर्नेलाई तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्नु अपराध हो। साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐनअन्तर्गत तस्करीमा संलग्नलाई कानुनी कारबाही गरिनेछ।

जिल्ला प्रशासन कार्यालय मकवानुरका प्रतिनिधिको उपस्थितीमा प्रहरीमार्फत मुचुल्का उठाउने कार्य गरिएको डा. ठाकुरले बताए।मकवानपुरमा नेपाल प्रहरीकै मिलेमतोमा गोरु तस्करी भइरहेको आशंका यस घटनाले बढाएको उनको भनाइ छ। 

यता, रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने उक्त घटनाबारे प्रहरीलाई जानकारी नभएको बताएका छन्। यद्यपि, यस विषयमा मकवानपुर प्रहरीले अनुसन्धान गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad