गत बिहीबार (कात्तिक २२) अर्थात् छठ पर्वका दिन सर्वजनिक बिदा थियो। चितवनको भरतपुर महानगरपालिका–१६, प्रगतिटोलका ३५ वर्षीय अर्जुन गौतमले बिदाको सदुपयोग गर्न घुम्न जाने योजना बनाए।
भरतपुरकै प्रभावशाली चार्टर्ड एकाउन्टेन्टको रूपमा नाम कमाएका गौतम छठ पर्वको दिन कुनै धार्मिक स्थल घुम्न जाने सोचमा थिए।
पारिवारिक स्रोतका अनुसार अर्जुनले आफ्नी श्रीमती शर्मिला गौतमलाई पनि एक दिनको लागि अफिसमा बिदा लिन भनेका रहेछन्। नारायणी सामुदायिक अस्पतालमा नर्सको काम गर्ने शर्मिलाले ‘आज बिदा मिलाउन सकिन्न, अरू कुनै दिन मिलाएर जाउँला’ भनेकी थिइन्।
अर्जुनका काका नाता पर्ने दण्डपाणि गौतमले दिएको जानकारी अनुसार शर्मिला त्यति भनेर हस्पिटल निस्किइन् तर अर्जुनले श्रीमती जान नभ्याए पनि आफ्ना आमाबुवा, छोरीहरू र ससुरालीका बा–आमा लिएर जाने निर्णय गरे। आमा देवी गौतम, बुवा टीकाराम गौतम र दुई छोरीहरू लिएर घरबाट निस्किए।
आफ्नो घरनजिकै रहेको ससुरालीमा पनि घुम्न जानका लागि खबर गरे। अर्जुनकी सासुआमा र सालो पनि उनीहरूसँगै घुम्न गएको दण्डपाणि बताउँछन्।
‘ससुरालीमा फोन गर्दा अर्जुनका ससुराबुवाले नभ्याउने भन्नुभयो रे। सासुआमा र सालोचाहिँ सँगै गएका रहेछन्,’ दण्डपाणिले नेपालखबरसँग भने, ‘कसरा भन्ने ठाउँमा पुगेपछि अर्जुनकी सासुले वैकुण्ठ ताल नगएर ठोरी अयोध्या हेर्न जान भन्नुभएको थियो रे। तर अर्जुन आफैँले कर गरेरै गएको भन्नुहुन्छ उहाँहरू।’
दण्डपाणिका अनुसार वैकुण्ठ तालमा जानमा लागि गाडीबाट ओर्लिएर हिँड्ने क्रममा अर्जुन आफ्नो जेठी छोरीलाई लिएर अघिअघि गएका थिए।
आमाबुवा, सासुआमा र सालोचाहिँ सानी छोरी लिएर अलि पछाडि आउँदै थिए। उनीहरू जब तालको नजिक पुगे, त्यहाँ अर्जुन देखेनन्।
छेउमै हातमा मोबाइल बोकेर उभिरहेकी जेठी नातिनीलाई उनका हजुरबुवा टीकारामले ‘बाबा खोइ त छोरी?’ भनेर सोधे।
अर्जुन उभिएको ढुंगातिर उनले हातले इशारा गर्दै भनिन्, ‘बाबा ऊ त्यहाँ जानुभएको छ। अहिले आउनुहुन्छ।’
त्यतिबेलासम्म अर्जुन वैकुण्ठ तालमा डुबिसकेको अवस्थामा परिवारका अन्य सदस्यले देखेको दण्डपाणिले सुनाए।
परिवारको साथमा वैकुण्ठ ताल घुम्न पुगेका अर्जुन सोही तालमै अस्ताए। परिवारका सदस्यहरूले तुरुन्तै प्रहरीलाई खबर गरे।
प्रहरीले घटनास्थलबाट अर्जुनलाई बेहोस भएको अवस्थामा उद्धार गर्यो। उपचारका लागि सोही दिन भरतपुरस्थित सरकारी अस्पतालमा ल्याइपुर्यायो।
तर अस्पतालसम्म आइपुग्दा नै उनले श्वास फेर्न छोडिसकेको दण्डपानीले बताए।
‘एक छिन त कता गयो भनेर खोज्न थालेका अरे,’ दण्डपाणिले भने, ‘छोरीले फोटो खिच्न ढुंगामा चढेको बताएपछि मात्रै चिप्लिएर तालमा डुबेको थाहा भएछ। उद्धार गर्ने बेलासम्म के श्वास रहन्थ्यो!’
मृतक अर्जुनका ५ वर्ष र २ वर्षका दुई छोरी छन्। अर्जुन दुई दाजुभाइमध्ये जेठा हुन्।
Shares

प्रतिक्रिया