साहित्य


आयो नारायणगोपालको जीवनी, चलचित्र बनाउने लेखक सायमीको घोषणा

आयो नारायणगोपालको जीवनी, चलचित्र बनाउने लेखक सायमीको घोषणा

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १९:१०, पोखरा

स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ।

ऊर्जा, जलश्रोत तथा खानेपानीमन्त्री फडिन्द्र देवकोटा, वरिष्ठ साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ लोक गायीका हरिदेवी कोइराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, हार्मोनी अध्यक्ष इतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गरेका हुन्।

पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे।

पचासको दशकमा सुपरहिट चलचित्र दिएर दर्शकको मनमुटुमा बसिसकेका उनले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन्।

 ‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु। सोही चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु,’उनले भने। 

उनले ५० को दशकमा सीमाना सिनेमा निर्माण गरेका थिए।

पुस्तक विमोचन कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्तक्र्रियात्मक सम्वाद गर्दै लेखक तथा अध्येता सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे।

बायोपिक पुस्तकमा आंशिक सत्यतामात्रै हुन्छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘अरुको मलाई थाहा भएन तर मैले लेखेको ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकमा उहाँको ९९ प्रतिशत सत्य छ।’

पुस्तकका लेखक सायमीले स्वरसम्राट नारायणगोपालको पोखरासँग गहिरो सम्बन्ध रहेको बताए।

पेमलासँगको विहेपछि सिधै पोखरा आएको, कवि भूपी शेरचनसँगको निकटतालगायतका कारणले पनि नारायणगोपाल पोखरासँग निकट रहेको पुष्टि हुने उनको दाबी छ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए।

वरिष्ठ लोक गायीका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad