बागमती


रसुवा: एमालेले कांग्रेसको ‘ह्याट्रिक’ रोक्ने प्रयास गर्दा नेकपाबाट जनयुद्ध लडेका तर कहिले चुनाव नलडेका नेता

रसुवा: एमालेले कांग्रेसको ‘ह्याट्रिक’ रोक्ने प्रयास गर्दा नेकपाबाट जनयुद्ध लडेका तर कहिले चुनाव नलडेका नेता

रसुवामा कांग्रेस, एमाले र नेकपाका उम्मेदवार


सुनिता विष्ट
माघ १८, २०८२ आइतबार ११:४, हेटौँडा

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रसुवामा यसपटक ३ स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा छन्। यद्यपि आउने आगामी फागुन २१ गते हुने चुनावमा पनि लगातार दुईपटक विजयी नेपाली कांग्रेस र ऊसँग हारेको नेकपा एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। 

कांग्रेसले यसपटक पनि २०७४ र २०७९ का दुवै प्रतिनिधि सभा निर्वाचन जितेका नेता मोहन आचार्यलाई नै अघि सारेको छ भने दुईदुईपटक हारको बदला लिँदै उनलाई रोक्न एमालेले यहाँ प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। 

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यसअघि कहिले चुनाव नलडेका र माओवादी जनयुद्ध लडेका नेता माधवप्रसाद लामिछानेलाई उठाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वसन्त भट्टलाई चुनावी मैदानमा पठाएको छ। 

एमालेका उम्मेदवार तामाङ संविधान सभा सदस्यदेखि प्रदेश सांसदसम्मको अनुभव बटुलेका र २०६४ सालदेखि निरन्तर चुनाव लडिरहेका नेता हुन्। 

२०६४ को संविधान सभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीबाट विजयी भएका थिए। फेरि २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि उठेका उनी हारेका थिए। 

२०७४ को संसदीय निर्वाचनमा माओवादी केन्द्र छाडेर उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रसुवा १ (२) मा प्रदेशसभा निर्वाचन लडे। विजयी हुँदै तामाङ बागमती प्रदेशसभा सदस्य बने। 

विजयी तामाङले ७ हजार ४० मत ल्याउँदा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद गोतामेले ५ हजार ६९२ मत पाएका थिए। 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नउठेका उनी फेरि यसपटक केन्द्रीय सांसद बन्ने दौडमा सहभागी भएका छन्। 

प्रायः चुनाव जितिरहने एमाले केन्द्रीय सदस्य तामाङ कांग्रेसका उम्मेदवार आचार्यको लागि चुनौती बन्ने देखिन्छ। 

अघिल्ला निर्वाचनका परिणाम हेर्ने हो भने आचार्य कमजोर पात्र भने होइनन्।

गत निर्वाचनमा उनले एमालेका छोवाङ तेन्जिङ तामाङलाई भारी मतान्तरले हराएका थिए। विजयी आचार्यले १८ हजार २३५ मत पाउँदा तामाङले ८ हजार ६१४ मत मात्रै प्राप्त गरेका थिए।

तथापि आचार्यले पाएको त्यो मत कांग्रेसको मात्रै थिएन। किनकि त्यतिबेला उनी कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनको साझा उम्मेदवार बनेका थिए। 

अहिले भने रसुवामा दलहरू एक्लाएक्लै चुनाव लड्न लागेकाले अघिल्लो चुनावी अंकगणितमा फरक पर्नेछ।

२०७४ को निर्वाचनमा पनि एमालेकै उम्मेदवार जनार्दन ढकाललाई हराएका आचार्यले १४ हजार ४५३ मत ल्याउँदा ढकालले १० हजार २७८ मत पाएका थिए।

यसरी विगतमा लगातार दुईपटक एमालेलाई हराएर निर्वाचित आचार्यको प्रतिस्पर्धा यसपटक पनि यही पार्टीका उम्मेदवारसँग नै हुने आकलन गरिएको छ। 

यहाँ नेकपाका उम्मेदवार माधव जनयुद्धमा होमिएका व्यक्ति हुन्।

२०४६ सालबाट राजनीतिमा लागेका उनी २०५५ भदौदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता हुँदै रसुवामा पार्टीको उपइलाका इन्चार्ज भएका थिए। लामिछाने पहिलोपटक निर्वाचनमा होमिएका हुन्।

अघिल्ला निर्वाचनका नतिजा हेर्दा रसुवामा तत्कालीन माओवादीको उपस्थिति बलियो देखिँदैन। 

२०७९ को समानुपातिक मत हेर्दा भने रसुवा कांग्रेसको गढ हो भन्दा फरक पर्दैन।

यस निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा धेरै १२ हजार ५८६ मत प्राप्त गरेको थियो। दोस्रोमा एमालेले ७ हजार ७०८ मत प्राप्त गर्दा माओवादी केन्द्र ३ हजार ६८६ मतसहित तेस्रो भएको थियो। 

रसुवामा रास्वपाले भने प्रभाव जमाउन सकेको छैन।

गत निर्वाचनमा रास्वपा समानुपातिकतर्फ १ हजार ७३१ मत प्राप्त गरेर चौथो स्थानमा थियो भने प्रत्यक्ष उम्मेदवार मीननाथ देवकोटाले जम्मा १६५ मत मात्रै पाएका थिए।

यसपटक यहाँ रास्वपाले वसन्त भट्टलाई उम्मेदवार बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad