नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने विषयमा सिन्धुलीमा विवाद भएको छ।
बागमती प्रदेशका १३ जिल्लामध्ये १२ वटामा महाधिवेशन प्रतिनिधि टुंगो लागिसक्दा सिन्धुलीमा भने अझै अन्योल देखिएको छ।
त्यसो त दुईवटा निर्वाचन क्षेत्र रहेको सिनधुलीमा क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्।
क्षेत्र नम्बर १ मा भने ९ प्रतिनिधि छानिनुपर्नेमा अझै २ जनाको नाममा सहमति हुन नसकेको हो।
खुला ५, महिला ३ र युवातर्फ १ गरी ९ प्रतिनिधि छानिनुपर्नेमा अहिलेसम्म ७ जनाको नाम मात्र टुंगो लागेको एमालेका सिन्धुली अध्यक्ष महेन्द्र देव श्रेष्ठले बताए।
उनका अनुसार महिला कोटातर्फ तीनै जना छनोट भइसकेका छन् भने खुलातर्फ पनि ४ जनाको नाम निश्चित भइसकेको छ। अब खुलातर्फ १ र युवातर्फ १ जना प्रतिनिधि छान्न बाँकी छ।
तर २ प्रतिनिधिका ठाउँमा ६ जनाले दाबी गरिरहेका छन्।
हाल खुलातर्फ तारानिधि पोखरेल, शान्तिमान कार्की र खेटराज अधिकारीले महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने अडान राखिरहेका छन्। जसमध्ये एक जना मात्र छनोट हुनेछन्।
यस्तै एउटा कोटा रहेको युवातर्फ पनि चन्द्रबहादुर कार्की (रमेश), रितेश राउत र लालबहादुर बुढाथोकीले दाबी गरिरहेका छन्।
जिल्ला अध्यक्ष श्रेष्ठले भने खुलातर्फ तारानिधि र खेटराजबीच मात्र सहमति हुन बाँकी रहेको दाबी गरेका छन्।
‘खुलातर्फ १२ जना उम्मेदवार हुुुुनुहुन्थ्यो। युवातर्फ ११ जनाको उम्मेदवारी परेको थियो’, अध्यक्ष श्रेष्ठले नेपालखबरसँग भने, ‘त्यसमध्ये खुलामा ४ जनाको नाम टुंगियो। युवातर्फका ९ जना ब्याक हुनुभयो। दुई जनाबीचमा कुरा नमिलेको हो। आज दिउँसोसम्ममा मिलाएर प्रतिनिधिको नाम सार्वजनिक गर्छौँ।’
तर शान्तिमान कार्कीले उम्मेदवारी फिर्ता लिएको भन्ने अध्यक्ष श्रेष्ठको भनाइ गलत भएको बताएका छन्।
‘पार्टीको महाधिवेशन प्रतिनिधि हुन इच्छा देखाउनु स्वाभाविक नै हो’, कार्कीले भने, ‘खुलातर्फ १ र युवातर्फको १ जनाको नाम टुंगो लगाउन बाँकी हो। जसमा खुलातर्फ मसहित ३ र युवातर्फ पनि ३ जना इच्छुक हुनुहुन्छ।’
एमाले बागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहेका कार्कीका अनुसार भूगोल मिलाएर प्रतिनिधि छनोट गर्ने प्रक्रिया चलिरहेको छ।
युवातर्फका तीनैजना आकांक्षी एउटै भूगोलका भएका कारण छान्न सकस भएको र खुलामा पनि त्यस्तै समस्या भएको उनले बताए।
युवातर्फ चन्द्रबहादुर कार्की (रमेश), रितेश राउत र लालबहादुर बुढाथोकीबीच सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।
एक जना प्रतिनिधिका लागि सुरुमा ११ जना आकांक्षी देखिएका थिए।
तीमध्ये ८ जनालाई फिर्ता गराइए पनि ३ जनाबीच सहमती जुटाउन नसकिएको कार्कीको भनाइ छ।
Shares

प्रतिक्रिया