आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदै छ। जसअन्तर्गत बागमती प्रदेशमा एक नगरप्रमुख र गाउँपालिका उपाध्यक्षसहित ७ जनप्रतिनिधि चयनका लागि उपनिर्वाचन हुँदै छ।
बागमती प्रदेश निर्वाचन कार्यालय (हेटौँडा) का अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) पद तथा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो।
यस्तै कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ र ४, काठमाडौँ महानगरपालिका १६ मा वडाध्यक्ष चयनका लागि उपचुनाव हुँदै छ।
निर्वाचन कार्यालयका अनुसार नुवाकोटको ककनी गाउँपालिका–२ र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ती स्थानमा निर्वाचित जनप्रतिनिधिको ठाउँ निधनलगायत विभिन्न कारण रिक्त भएपछि उपनिर्वाचनबाट पुन: चयन गर्न लागिएको हो।
हेटौँडा-१२ मा निर्वाचित तत्कालीन वडाध्यक्ष ललितबहादुर घलान भने जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा निर्वाचित भएपछि उनको स्थान खाली भएको हो। त्यसबाहेक बाँकी ६ जना जनप्रतिनिधिको भने विभिन्न कारण निधन भएको हो।
१० साउन २०८१ मा कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको मिर्गौलासम्बन्धी रोगका कारण निधन भएको थियो। उनी २०७९को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
यस्तै दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो। मुटुरोगी उनको गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी कांग्रेसबाट गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हीरालाल महर्जनको २४ फागुन २०८० मा निधन भएको थियो। कलेजो क्यान्सरबाट पीडित उनले निर्वाचित भएको एक वर्ष पनि अध्यक्ष पदमा रहन पाएनन्। अध्यक्ष महर्जन पनि कांग्रेसबाट निर्वाचित थिए।
यसैगरी कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामसुन्दर अधिकारीको सवारी दुर्घटनामा निधन भएको थियो। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको १० वैशाख २०८० मा अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। वैशाख १ गते दुर्घटनामा परेका उनको ९ दिनपछि मृत्यु भएको हो। स्वतन्त्र उम्मेदवार अधिकारीले नेकपा माओवादी, नेपाली कांग्रेसलगायतको सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै कीर्तिपुर-४ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै काठमाडौँं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौ २०८० मा निधन भएको थियो। डेंगी संक्रमणपछि निमोनिया भएका अध्यक्ष रिजालको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। अध्यक्ष रिजाल कांग्रेसबाट निर्वाचित थिए।
यसैगरी नुवाकोटको ककनी गाउँपालिका–२ का अध्यक्ष तिलकबहादुर लामाको मिर्गौला रोगका कारण निधन भएको थियो। एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँं लैजाने क्रममा ३१ जेठ २०८० मा बाटोमै उनको मृत्यु भएको थियो। २०७० वैशाखको स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका-२ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।
जिल्ला समन्वय समितिको अध्यक्ष बनेका हेटौँडा उपमहानगरपालिका–१२ का तत्कालीन वडाअध्यक्ष ललितबहादुर घलान भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
विरासत जोगाउनुपर्ने दबाबमा कांग्रेस र माओवादी
२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा विजय हासिल गरेका दलहरूलाई आउँदो उपनिर्वाचनमा आफ्नो विरासत जोगाउने चुनौती बढेको छ। ठूलो दलको हैसियतमा चुनावी मैदानमा उत्रिएको नेकपा एमालेलाई पराजित गर्दै जितको स्वाद चाखेका कांग्रेस र माओवादीलाई अबको उपनिर्वाचनमा त्यो लय कायम राख्न दबाब छ।
हाल रिक्त स्थानीय तहका ७ पदमध्ये ६ वटा कांग्रेसले जितेको थियो भने माओवादीले एउटा।
हेटौँडा–१२ सधैँ माओवादीले जितिरहने वडाका रूपमा चिनिएको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा समेत विजयी घलान २०७९ मा पनि वडाध्यक्षमा दोहोरिएका थिए।
Shares

प्रतिक्रिया