ad ad

बागमती


राप्रपाले छाडेको बागमती सरकारमा कांग्रेस र एकीकृत समाजवादी भित्रिने

राष्ट्रपति निर्वाचनअघि मन्त्री नथप्ने
राप्रपाले छाडेको बागमती सरकारमा कांग्रेस र एकीकृत समाजवादी भित्रिने

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्बिर।


सुनिता विष्ट
फागुन १४, २०७९ आइतबार ११:२८, हेटौँडा

बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राजीनामा बुझाए।

राप्रपाले केन्द्र र सबै प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै बागमती सरकारबाट पनि राप्रपा हटेको हो।

राप्रपाका तर्फबाट बागमती सरकारमा सहभागी राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पदबाट राजीनामा दिएका हुन्।

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन ब्यूँताएसँगै राप्रपाले शनिबार सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

बागमती सरकारबाट राप्रपा बाहिरएसँगै यहाँको सत्ता समीकरण पनि फेरिने भएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँगै सरकारमा सहभागी भएको १ महिनामै राप्रपा बाहिरिएपछि अब बागमती सरकार कसरी अघि बढ्ला भन्ने चासो छ। 

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि एमाले पनि सरकारबाट बाहिरिन सक्ने सम्भावना बढ्दै गएको छ। यो अवस्थामा माओवादी केन्द्र र कांग्रेस मिलेर सत्ता बनाउने खेल सुरु भइसकेको विश्लेषण भइरहेको छ।

राप्रपा मात्रै बाहिरिएको अवस्थामा वर्तमान सत्ता समीकरणमा ठूलो क्षति हुने देखिन्न। तर, एमाले पनि हटेमा पूरै फेरबदल आउनेछ।

मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउँदै राप्रपाका मन्त्रीहरू।

११० सदस्यीय बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ सिट छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ प्रदेश सांसद छन्। 

तीन दलीय बागमती सरकारलाई नेमकिपाबाहेक ६ वटै दलको समर्थन थियो। मन्त्रालयदेखि सभामुखसम्म दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दियो।

तर सरकार केन्द्रकै ढाँचामा बन्यो। विश्वासको मत दिनु र सरकारको जिम्मा दिनु फरक कुरा भएको भन्दै मुख्यमन्त्रीले सत्ता गठबन्धनमा रहेकालाई मात्रै सरकारमा समावेश गरे।  

त्यसो त अब राप्रपा सरकारबाट बाहिरिएसँगै सरकारमा नेपाली कांग्रेसको ‘इन्ट्री’ हुनसक्ने सम्भावना बढेको छ।

केन्द्रमा पुरानै गठबन्धन ब्यूतिनेबित्तिकै कांग्रेसका सांसदहरूले आफ्नो गतिविधि बढाइरहेको नेपाली कांग्रेस बागमतीका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बताए।

‘केन्द्रमा जे हुन्छ, प्रदेशमा पनि त्यही हुने हो। नयाँ गठबन्धन टुटेर पुरानो ब्यूँतिएकाले कांग्रेस सरकारमा जान्छ भन्ने सम्भावना बढेको हो’, उनले भने।

यता सरकारबाट बाहिरिएको राप्रपाका सांसदहरू प्रतिपक्षी भूमिकामा रहेर संसदमा उपस्थित हुने बताउँछन्।

‘सरकारमा धेरै दिन बस्न सकेनौं। हाम्रो सिद्धान्त र सरकारको रवाफ हामीमा मेल खाएन। हामी अब पूर्ण रूपमा प्रतिपक्षीको भूमिकामा रहनेछौं’, राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने।

केन्द्रको राजनीतिक ढाँचाअनुसार बागमतीको समीकरणमा अब कस्तो बन्ला भन्ने चर्चा छ। राप्रपाका मन्त्रीहरूले छाडेका तीनवटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने भएका छन्।

पुरानै गठबन्धनको नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी यस प्रदेशमा भित्रिएको भए पनि राष्ट्रपतिको चुनावअघि नयाँ मन्त्री नियुक्ति नहुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बताउँछन्।

‘राप्रपाले सम्हालेका तीनवटा मन्त्रालयमा तत्काल अरू मन्त्री नियुक्ति गरिदैँन। केन्द्रमा राष्ट्रपतिको चुनावपछि मात्र बागमतीमा रिक्त मन्त्री नियुक्ति हुनेछन्’, मुख्यमन्त्री जम्मकट्टेलले भने।

त्यसो त केन्द्रमा पुरानै गठबन्धन ब्यूँतिएपछि बागमती प्रदेशमा पनि अब माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर सरकारमा जाने सम्भावना बढेको छ।

तर यस विषयको निर्णय राष्ट्रपति निर्वाचनपछि मात्रै थाहा हुने प्रदेशका एक मन्त्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .