चितवन राष्ट्रिय निकुञ्जमा गत बिहीबार आत्मरक्षाका लागि नेपाली सेनाको गस्ती टोलीले गोली हान्दा एउटा गैँडा मर्यो।
बिहीबार दिउँसो १२:३० बजेतिर नयाँ गोरख गणअन्तर्गत नवलपुर सेक्टरमा रहेको सेरी सुरक्षा पोस्टबाट खटिएका नेपाली सेनाका ४ जना निकुञ्जमा पैदल गस्ती गरिरहेका थिए। यस क्रममा अचानक उनीहरूको भेट बच्चासहितको अर्धवयस्क पोथी गैँडासँग हुन्छ। सेनाको टोलीलाई देख्नासाथ गैँडाले लखेट्न थाल्यो।
उनीहरूले भागेर ज्यान जोगाउने प्रयास नगरेका होइनन्। तर गैँडाले लखेटेको लखेट्यै गरेपछि बाध्य भएर नेपाली सेनाले हवाई फायर गर्यो। यत्ति गर्दा पनि गैँडा पछि हटेन। बरु अझ आक्रामक भएर लखेटिरह्यो।
हेर्दाहेर्दै गस्ती टोलीमा रहेका सैनिक विकास घर्तीमगरलाई गैँडाले भेटिहाल्यो। उनलाई लछारपछार गर्न थाल्यो। यसपछि अन्य तीन जनाले धमाधम हवाई फायर गरे। १२ राउन्ड हवाई फायर गर्दा एउटा गोली माउ गैँडालाई लाग्यो र भुइँमा ढल्यो।
अर्थात् नेपाली सेनाको गोलीले विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्यो। जुन २४ वर्षको थियो।
यसैबिच आम नागरिकको मनमा प्रश्न उब्जिएको छ। गैँडा मार्ने सैनिकलाई कानुन लाग्छ कि लाग्दैन? अर्थात् उनलाई कारबाही होला?
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगर ज्यान जोगाउने अन्य उपाय नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम सेनाको टोलीले गोली चलाएको बताउँछन्।
उनले नेपालखबरसँग भने, ‘कुनै पनि जनावरलाई चोरी, सिकार गर्ने अभिप्रायले मारियो भने कानुन लाग्छ। तर आत्मरक्षाका लागि मार्न पाइने भन्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा उल्लेख छ।’
त्यसो भए सर्वसाधारण व्यक्तिले पनि ज्यान जोगाउन गैँडा मार्न पाउँछन् त?
नेपालखबरको प्रश्नमा सूचना अधिकारी थापामगर भन्छन्, ‘कानुन नै लाग्दैन भन्न खोजिएको होइन। ऐनमा उल्लेख गरिएको छ भन्न खोजेको हुँ। यस विषयमा हामी घटनाका वस्तुस्थितिका विषयमा रिपोर्टिङ गर्छौं। सम्बन्धित निकायबाट के गर्ने भन्ने विषयमा निर्क्योल होला।’
यसअघि आत्मरक्षाका लागि गोली चलाउँदा गैँडा मरेको घटना रेकर्डमा नरहेको उनको भनाइ छ।
उनका अनुसार २०८१ माघ २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा सेनाको गोली लागेर जंगली हात्तीचाहिँ मरेको थियो।
त्यस घटना छानबिनका लागि वन मन्त्रालयका तत्कालीन सहसचिव डा. बुद्धिसागर पौडेलको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो। तर समितिले निकुञ्जका कर्मचारीको आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुना मरेको निष्कर्ष निकालेको थियो।
जसअनुसार त्यतिबेला हात्तीमाथि गोली चलाउने सेनालाई कारबाही गरिएन।
हात्तीपछि अहिले सेनाकै गोली लागेर एकसिंगे गैँडा मरेको छ।
गोली लागेर मरेको गैँडा पोस्टमार्टमपछि शुक्रबार नै खाल्टो खनेर गाडिएको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए।
उता गैँडाको आक्रमणबाट गम्भीर घाइते सैनिक विकास हाल काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत छन्। उनको अवस्था अहिले खतरामुक्त भइसकेको सूचना अधिकारी थापामगरले बताए।
Shares

प्रतिक्रिया