बागमती


मकवानपुर-१: डिनालाई जिताएर ‘अन्तर्घात’ को आरोपबाट मुक्ति चाहन्छन् बानियाँ

मकवानपुर-१: डिनालाई जिताएर ‘अन्तर्घात’ को आरोपबाट मुक्ति चाहन्छन् बानियाँ

सुनिता विष्ट
फागुन ३, २०८२ आइतबार १६:५८, हेटौँडा

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेवारहरू मत तान्ने रणनीति सहित मतदाता भेटिरहेका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि चुनावी सरगर्मी बढ्दो छ। 

मकवानपुर–१ मा कांग्रेसबाट पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ चुनावी मैदानमा छिन् र, उनलाई जिताउनुपर्ने दबाबमा छन् बागमती प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँ।

डिना पाँचौ पटक चुनावी मैदानमा होमिएकी छन्। यसअघि ४ पटक हार भोगेकी डिनालाई पाँचौ पटकमा जित निकाल्ने इच्छा त छँदै छ, अझ उनलाई जिताएर आफूमाथि लाग्दै आएको ‘अन्तर्घात’ को आरोपबाट मुक्ति चाहन्छन् मुख्यमन्त्री बानियाँ। 

यसअघिका निर्वाचनहरूमा डिनालाई हराउने मुख्य भूमिका रहेको आरोप बानियाँमाथि लाग्दै आएको छ।

उम्मेदवारी दर्ताको दिनमा बानियाँले डिनालाई जिताउन लागिपर्ने संकेत गर्दै बदलिएको कांग्रेसमा जिल्लाका सबै एकढिक्का भएको बताएका थिए। 

बानियाँ निकट स्रोतका अनुसार पनि उनी मकवानपुर–२ मा भन्दा डिना उठेको क्षेत्र नं १ मै बढी केन्द्रित भएका छन्। 

ती नेता भन्छन्, ‘कांग्रेस नेतृ डिनाले यो पटक पनि हार्नु भनेको उनको मात्रै पराजय हुने छैन, प्रदेश सभापति बानियाँको प्रतिष्ठाले पनि हार्नेछ।’ 

पहिलो पटक २०४८ सालमा प्रतिनिधि सभा निर्वाचनमा होमिएकी डिना एमाले नेता विरोध खतिवडासँग परािजत भएकी थिइन्। २०५१ को निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन्। २०६४ र २०७० को  संविधान सभामा भने समानुपातिक तर्फबाट सांसद बनिन्। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनकमा पुनः प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी उनले जित निकाल्न सकिनन्। २०७९ को निर्वाचनमा पनि राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुन पुगिन्। 

गत निर्वाचनमा बानियाँकै नेतृत्वमा उनलाई हराइएको भन्ने आरोप लागेको थियो। जिल्लामा बलियो संगठन नभएको राप्रपाका उम्मेदवारले कांग्रेससहित माओवादी र एकीकृत समाजवादीसमेतको गठबन्धनकी  उम्मेदवार डिनालाई पराजित गर्नु स्वाभाविक नभएको टिप्पणी हुँदै आएको छ।

राप्रपाका सिंहले २७ हजार ८१६ मत ल्याएर विजयी हुँदा डिनाले २५ हजार ४३४ मत प्राप्त गरेकी थिइन्। एमालेको सूर्य चिह्नबाट चुनाव लडेका कमल थापाले २५ हजार ४२० मत ल्याएका थिए। त्यतिबेला कांग्रेसले नै हलोमा मत दिएर राप्रपाका सिंहलाई जिताएको आरोप बानियाँमाथि लागेको थियो। 

चार पटक हार भोगेकी डिना यो पटक मकवानपुरे जनताले न्याय गर्ने बताउँछिन्। यसअघि चुनावमा हराउन बानियाँले भूमिका खेलेको दाबी गर्दै आएकी उनले यो पटक कांग्रेसमा घात अन्तरघात नहुने विश्वास लिएकी छिन्। 

‘चुनाव हारेपछि मान्छेमा विभिन्न नेगेटिभिटी आउनु स्वभाविक नै हो, मलाई पनि त्यस्तै भएको थियो,’ उनले भनिन्, ‘चुनावमा जाँदा गठबन्धन भयो भने ओभर कन्फिडेन्ट भइँदो रैछ। अघिल्लो निर्वाचनमा मलाई भएको पनि यही हो। यति ठूला दलहरू छन् जितिहाल्छु नि भन्ने भयो। आफ्ना दलका सबैलाई भेट्न पनि भ्याइनँ। भेट्न पर्छ जस्तो पनि लागेन। तर यो पटक यी गल्तिहरू सच्याएर चुनावमा होमिएकी छु। यो पटक कांग्रेस एकढिक्का छ। सबैले मिलेर जिताउनुहुन्छ भन्नेमा ढुक्क छु।’

यसपटकको निर्वाचनले केवल एक सांसदको भाग्य मात्र तय गर्ने छैन, बागमती कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र मुख्यमन्त्री बानियाँको राजनीतिक वर्चस्व पनि मापन गर्नेछ। कांग्र्रेसभित्रै अन्तरद्वन्द्व गरेर प्रदेशको मुख्यमन्त्री बनेका बानियाँको मुख्यमन्त्री पद नै धरापमा पर्न सक्छ। 

के भन्छन् बानियाँ? 
डिनालाई हराउन आफ्नो कुनै भूमिका नरहेको बानियाँको दाबी छ। यस्ता भ्रमबाट मुक्त हुनुपर्ने उनी बताउँछन्। 

राजनीतिमा आरोप–प्रत्यारोप निरन्तर चलिरहने बताउँदै उनले भने, ‘हारको आवेग र पीडामा डिना दिदीले घात अन्र्तघातको कुरा बोल्नुभएको हो। तर उहाँलाई हराउन पर्ने कुनै कारण नै थिएन। कसैले हराएको पनि होइन।’

कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मिलेर चुनाव लडेको बेला कांग्रेसको मत स्वीङ भयो कि गठबन्धनमा रहेका अरु दलको मत स्वीङ भयो भन्ने कुराको हेक्का नहुँदा अरुले कांग्रेसभित्र खेलेको बानियाँको तर्क छ।

‘म २(१) बाट बागमती प्रदेश सभामा उठेको थिएँ, त्यतिबेला डिना दिदी मकवानपुर–१ बाट प्रतिनिधि सभामा उठ्नुभएको थियो,’ बानियाँले थपे, ‘चुनावका बेला सहयोग गर्न सकिएन। आफैंलाई पनि चुनावी रन्को थियो। तर यो पटक मकवानपुर–१ म मात्रै होइन बागमती प्रदेशको सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार जिताउन मेरो भूमिका रहनेछ।’

यो पटकको निर्वाचनमा होमिँदै गर्दा डिना चुनावमा हराउन आफ्नै दल लागेको भन्ने भ्रमबाट मुक्त भैसकेको बानियाँ दाबी गर्छन्। कांग्रेसको समानुपातिक मत हेरेर भ्रम स्वीकार गरेको बताउँदै उनले भने, ‘बदलिएको कांग्रेसले देश बदल्ने भन्ने नारा सहित चुनावी मैदानमा छौँ। यो पटक कांग्रेस बागमतीमा मात्रै नभएर जिल्लामा पनि नम्बर १ पार्टी बन्छ।’ 

यता, मकवानपुर–२ मा कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामा पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बानियाँको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका लामा जिताउनका लागि पनि बानियाँको कसरत उत्तिकै छ। लामा कांग्रेस मकवानपुरका सभापति समेत हुन्। 

प्रचारप्रसारका क्रममा लामा बानियाँलाई अघि लगाएर हिँडिरहेका छन्। प्रदेश सांंसददेखि मुख्यमन्त्री हुँदासम्म बानियाँले गरेका कामहरू देखाएर उनले आफ्नो पक्षमा मत मागिरहेका छन्। 

तत्कालीन अवस्थामा मुख्यमन्त्री रहेका बहादुर सिंह लामाको पद हत्याउन बानियाँले संसदीय दलको नेता लामामाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनकै नेतृत्वमा बहुमत सांसदको हस्ताक्षर जुटाएर अविश्वासको प्रस्ताव दर्ता गराएर लामालाई दलको नेताबाट हटाइएको थियो।

दलको नेताका लागि भएको निर्वाचनमा लामालाई हराएर बानियाँ मुख्यमन्त्री बनेका थिए। लामा अहिले नेपाली कांग्रेसको सहमहामन्त्री छन्। 

यस्तो छ समानुपातिक मत
२०७९ को निर्वाचनको समानुपातिक मत हेर्ने हो भने यस क्षेत्रमा एमाले पहिलो दल हो। एमालेले प्रत्यक्षतर्फ २५ हजार ४६० मत प्राप्त गरेको एमालेले समानुपातिक तर्फ २२ हजार ६७६ मत प्राप्त गरेको थियो।

प्रत्यक्ष तर्फ दोस्रो भएको कांग्रेसले समानुपातिकमा भने तेस्रो भएको थियो। रास्वपाले १८ हजार ६२२ मत प्राप्त गर्दा कांग्रेसले जम्मा १४ हजार ८१४ मत प्राप्त गरेको थियो। 

गठबन्धनमा रहेको माओवादी केन्द्रले १३ हजार १६० मत प्राप्त गर्दा नेकपा एसले १ हजार २५१ मत मात्रै प्राप्त गरेको थियो।

मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराएका २३ जना मध्ये मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेसकी उम्मेदवार डिना सहित एमालेका रामेश्वर राना, राप्रपाका दीपक बहादुर सिंह, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतमलाई हेरिएको छ।

५ जना मध्ये कांग्रेसकी डिना, राप्रपाका सिंह र एमालेका राना राजनीतिमा खारिएका व्यक्ति हुन्, बाँकी दुई जना नयाँ अनुहार हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad