बागमती


१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो

१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो

सुनिता विष्ट
पुस २७, २०८२ आइतबार ११:५०, हेटौँडा

१८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष आज (आइतबार) फेला परेको छ।

भरतपुर महानगरपालिका-२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग फेला परेका हुन्।

आइतबार (आज) बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ।

चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालले अनुसार गाडिएको अवस्थामा फेला परेको बसको अवशेषबारे अनुसन्धान भइरहेको छ।

आवश्यक प्राविधिक परीक्षण र प्रमाणका आधारमा पहिचान गरिने उनले बताए।

२०७१ असार २८ गते बिहान करिब ३ बजे सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।

दुर्घटनामा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस परेका थिए।

दुर्घटनाका समयमा दुईवटा बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जना घाइते अवस्थामा उद्धार भएका थिए भने ११ जनाको शव फेला परेको थियो।

बाँकी ५१ जना यात्रु हालसम्म बेपत्ता छन्। बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो।

लामो समयको खोजीपछि पनि बस फेला नपरेपछि खोजी स्थगन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad