भक्तपुरको मध्यपुरथिमि नगरपालिका-६ थिमिमा आफैँलाई गोली हान्दा एक पुरुषको मृत्यु भएको छ।
भक्तपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काका अनुसार ४० वर्षीय सनिप चाम्लिङ राईले सोमबार अपराह्न आफैँलाई गोली हानेका हुन्।
‘छिमेकीले गोलीको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए’, एसपी खड्काले मंगलबार बिहान नेपालखबरसँग भने, ‘गोलीले उनको तत्काल मृत्यु भइसकेको रहेछ। पोस्टमार्टमका लागि अहिले उनको शव टिचिङ हस्पिटल महाराजगन्जमा छ।’
सनिपले ब्रिटिस आर्मीबाट अवकाश प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हानेको पाइएको एसपी खड्काले जानकारी दिए।
‘भिनाजुचाहिँ घर पाँचथरतिर गएका रहेछन्’, उनले भने, ‘अब त्यो हतियारबारे उनी पनि अनुसन्धानमा तानिन्छन्।’
एसपी खड्काका अनुसार आफैँलाई गोली हानेका व्यक्ति अविवाहित थिए। गोली हान्ने बेला उनी कोठामा एक्लै थिए।
‘घरको चार तलामाथि कोठामा चुकुल लगाएर गोली हानेका रहेछन्’, एसपी खड्काले भने, ‘के कति कारणले उनले आफैँलाई गोली हाने, राइफल कसरी पाए भन्नेलगायत विषयमा हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ।’
Shares

प्रतिक्रिया