मकवानपुर उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा इन्द्रायणी माईको जात्रा सुरु भएको छ। बिहीबारबाट सुरु भएको जात्रामा भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दिरमा ल्याइएको छ।
थाहा–२ देउला गाउँमा राखिएको भगवानको मूर्तिलाई पालुङ हिटीसम्म ल्याएर रथमा राखेर इन्द्रायणी मन्दिरमा ल्याइएको हो। यस्तै, आजै शिखरकोटबाट पनि गणेशको रथ जात्रा स्थलमा रहेको इन्द्रायणी मन्दिरमा लगिएको छ।
तीन वर्षमा लाग्ने मकवानपुरकै ऐतिहासिक जात्रा नेवार समुदाय र देउला समुदायले मिलेर मनाउने गर्दछन्। देउला गाउँमा राखिएको मूर्ति लिन नेवार समुदायको इन्द्रायणी भगवती कालभैरव गुठीका गुठियारहरू बाजागाजा सहित देउला गाउँ पुग्छन्। देउला गाउँका पुजारीहरूले काम्दै भगवानलाई मञ्जुर बनाएपछि पूजाआराधना गरेर पालुङ डबलीमा ल्याइन्छ। सो पश्चात् रथमा राखेर थाहा–३ मा रहेको इन्द्रायणी माईको मन्दिरमा रथ पुर्याउने प्रचलन छ।
रथ लैजाने र पूजाको विधिमा मुख्यगरी यी दुई समुदायको भूमिका रहने भए पनि यो जात्रा मकवानपुरै ऐतिहासिक धरोहरको रुपमा परिचित छ। इन्द्रायणी भगवती कालभैरव गुठी समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठका अनुसार यो जात्रा ३५० वर्ष पुरानो इतिहाससँग जोडिएको छ। आफ्ना पुर्खाहरूले मनाउँदै आएको जात्रालाई आफूहरूले पनि निरन्तरता दिएको उनले बताए।
मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ ल्याएसँगै पूजाको विधि सुरु भएको हो। जात्राको दोस्रो दिन सर्वसाधारणको मुख्य पुजा गर्नेछन् भने तेस्रो दिन रथ उठाउने, प्रसाद वितरण गर्ने तथा पुजारीहरूले तान्त्रिक विधि सहितको पूजा गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।
इन्द्रायणी, भगवती कालाभैरब गुठी संरक्षण समितिले रातभर होमसहितको पुजा सञ्चालन गर्दछन्। गुठीको पूजा पनि रातमै हुने गर्दछ। मन्दिरमा राति पञ्चबली सहितको पुजा हुने गर्दछ। तीन दिनसम्म लाग्ने जात्राको व्यवस्थापन समितिले गर्ने अध्यक्ष श्रेष्ठले बताए।







Shares

प्रतिक्रिया