बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी वर्ष स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्यसहित १३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएपछि मन्त्रालयले १३ बुँदे प्रतिवद्धता पत्र जारी गरेको हो।
प्रतिवद्धता पत्रले प्रदेशभर स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण आधा बन्ने बताइएको छ। गत आइतबारबाट सुरु भएको तीनदिने गोष्ठीमा प्रदेशका स्वास्थ्य सेवा, कार्यक्रम, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत विश्लेषण तथा छलफल भएको थियो।
गोष्ठीका निष्कर्ष, प्रदेश स्वास्थ्य नीति, दोस्रो आवधिक योजना तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वास्थ्य प्रतिवद्धतालाई आधार बनाउँदै मन्त्रालयले स्वास्थ्य सेवा सुदृढीकरणका प्राथमिकताहरू स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार चालु आव २०८२/८३ मा प्रदेशको स्वास्थ्य क्षेत्र रणनीतिक योजना निर्माण तथा कार्यान्वयन प्रमुख उपलब्धिका रूपमा अघि बढाइने उल्लेख गरेको छ। यससँगै स्वास्थ्य सेवामा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै प्रदेशभित्रका सबै अस्पताल तथा आयुर्वेद÷वैकल्पिक चिकित्सालयमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली पूर्ण रूपमा लागू गरिने बताइएको छ।
डिजिटल स्वास्थ्य संरचनालाई सुदृढ बनाउन भक्तपुर, हेटौंडा र विशुली अस्पताललाई टेलिमेडिसिन हबका रूपमा विकास गर्ने र प्रदेश तथा स्थानीय तहका कम्तीमा १५ अस्पताललाई स्पोक अस्पताल बनाएर दूरचिकित्सा सेवा विस्तार गर्ने योजना प्रतिवद्धता पत्रमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणलाई विशेष प्राथमिकता दिएको छ। स्थानीय तहसँग सहकार्यमा सबै वडामा नियमित परीक्षण कार्यक्रम सञ्चालन गर्ने र ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरा लागि’ अभियानअन्तर्गत योग, ध्यान र प्राणायाम कार्यक्रमलाई संस्थागत गर्ने तयारी गरिएको छ।
प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न विशेषज्ञ सेवा प्रोत्साहन कार्यक्रम लागू गरिनेछ भने, ‘स्वस्थ नागरिकस गुणस्तरीय जीवनयापन’ लक्ष्य प्राप्तिका लागि स्थानीय तहमार्फत हेल्दी सिटी अवधारणामा आधारित कार्यक्रम विस्तार गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।
यस्तै, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सुधारका लागि स्वास्थ्य संस्थामा समर्पित सम्पर्क व्यक्ति तोक्ने र स्थानीय तहसँग समन्वयमा अन्तिम विसर्जन प्रणाली व्यवस्थित गर्ने मन्त्रालयले जनाएको छ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु–याउन मन्त्रालयले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान सञ्चालन गर्ने बताइएको छ भने यसअन्तर्गत प्रदेश स्वास्थ्य सेवा ऐनअनुसार निजी अस्पतालहरूलाई पनि जवाफदेही बनाउँदै स्वास्थ्य शिविर सञ्चालन दाबी गरिएको छ।
आयुर्वेद र वैकल्पिक चिकित्सालाई सुदृढ बनाउन स्वर्णविन्दु प्राशन कार्यक्रमलाई व्यवस्थित गर्दै क्रमशः सबै जिल्लामा विस्तार उल्लेख गर्दै योग, ध्यान, पूर्वकर्म तथा पञ्चकर्म सेवाको पहुँच बढाउने पनि मन्त्रालयको योजना रहेको उल्लेख छ।
यता, स्वास्थ्य आपतकालीन अवस्थाको तयारी र प्रतिकार्य प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सुदृढीकरण गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ भने, ‘प्रदेश स्वास्थ्य सुशासन सूचक’ तयार गरी कार्यालयस्तरमा सुशासन मूल्याङ्कन गरिने र सबै किसिमका खरिद कार्य बोलपत्र प्रक्रिया मार्फत मात्र गर्ने प्रावधान कडाइका साथ लागू गरिने बताइएको छ।
Shares

प्रतिक्रिया