बागमती प्रदेशसभामा रहेका २ दलका १५ सांसदले राजीनामा दिएका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा युवा पुस्ताले ज्यान गुमाउन परेको र यस्तो अवस्थामा पदमा बस्न नहुने भन्दै बागमती प्रदेश सभामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टी (हानेपा) ले राजीनामा दिएको घोषणा गरेको छ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभामा रहेका सबै सांसदहरुले पदबाट राजीनामा दिइ सांसद पदबाट बाहिरिने निर्णय गरेको भन्दै भदौ २४ गते प्रेस विज्ञप्ति जारी गरेका थिए। ‘जेजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अनुरोध गर्दछ,’ श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रवक्ता श्रेष्ठले विज्ञप्ती जारी गरेलगत्तै बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पनि सामाजिक सञ्जालमार्फत राजीनामा दिएको निर्णय गरेका थिए। राप्रपाका महामन्त्री समेत रहेका पाठकले राजीनामा दिएको घोषणा उतिबेला गरे पनि आधिकारिक राजीनामा पत्र आज बुझाएका छन्। उपसभामुख अप्सरा चापागाईँलाई सम्बोध गर्दै उनले राजीनामा बुझाएको जानकारी गराएका हुन्।
केन्द्रको सर्कुलर अनुसार सभमुख पदबाट राजीनामा दिएका पाठकसहित राप्रपाका १३ जना सांसदहरुले सांसद पदबाटै समेत राजीनामा दिएको निर्णय पार्टीले गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाका अनुसार पार्टी शीर्षतहले सांसदहरुले राजीनामा दिएको घोषणा गरेपनि आफूहरुले प्रदेश सभामा राजीनामा नबुझाएको बताउँछन्।
‘राप्रपा पनि अन्य दलहरु जसरी नै चुनावी प्रतिस्पर्धामा होमिएर चुनाव जितेर सदनमा पुगेको दल हो,’ उनले भने, ‘तर जेनजी को आवाजलाई भित्री मनदेखि सुनेर पार्टीले यस्तो निर्णय गरेको हो। हाम्रो राजीनामा पत्र तयारी अवस्था छ। भोलि पार्टी केन्द्रीय कार्यसम्पादनको बैठक छ। सो पश्चात् सामूहिक राजीनामा बुझाउछौँ।’
केन्द्रले राजीनामा बुझाउने निर्णय गरेसँगै आफूहरु प्रदेश सभाको सांसदको हैसियतबाट बाहिरिसकेको भन्ने कुरा स्वीकार गर्नुको विकल्प नरहेको नेता थापाले बताए। उनले थपे, ‘संसदीय प्रणलीमा छौं। संघीयता खारेजीको माग नै हाम्रो पहिलो एजेण्डा हो। प्रतिनिधि सभा विघटन हुँदा सबै सांसदको पद गयो। अब प्रदेश खारेजी हुन्थ्यो भने हामीले राजीनामा बुझाइरहनै पर्दैनथ्यो। मौखिक राजीनामा भैसकेको छ। लिखित राजीनामा पत्र गोजीमै छ। पत्रको मसि सुकेको छैन। भोलिको बैठकपछि औपचारिक रुपमै हामी प्रदेश सभाबाट बाहिरिन्छौँ।’
बागमती प्रदेश सभामा राप्रपाको १३ सिट रहेकोमा प्रत्यक्ष निर्वाचित ६ छन् भने समानुपातिक निर्वाचित ७ छन्। थापाका अनुसार राप्रपा प्रदेश सभाबाट बाहिरिने तयारीमा जुटेको हो।
यता, हाम्रो नेपाली पार्टी (हानेपा) पनि सांसद पदबाट बाहिरिएको निर्णय गरेको छ। हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्र ब्रजचार्यले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
काठमाडौँ निर्वाचन क्षेत्र १(८) बाट प्रत्यक्ष निर्वाचित बज्रचार्यसहित हानेपाको बागमती प्रदेश सभामा २ सिट छ। काठमाडौँबाट सरिता खड्की हानेपाकी समानुपातिक सांसद हुन्। दुई सिट रहेको हानेपाले पनि सामूहिक राजीनामा दिएर संसदबाट बाहिरिने निर्णय गरेको ब्रजचार्यले जानकारी दिए।
जेनजी को मागलाई पूरा गर्नु आफ्नो पनि कर्तव्य भएको कारण यो बेला सांसद बनेर पदमा बस्नुभन्दा युवासँगै मैदानमा उत्रनका लागि राजीनामाको घोषणा गरेको उनले बताए। ‘यस्तो समयमा हामी सरकारमा बस्दैनौं। राजीनामा दिएर जेनजीको माग पूरा गर्न हातेमालो गर्छौं।’ उनले भने।
बज्रचार्यका अनुसार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि आधिकारिक राजीनामा पत्र प्रदेश सभामा बुझाउन भने बाँकी छ। राजीनामा पत्र तयारी अवस्थामा रहेको र आज भोलिमै बुझाउने उनले बताए।
यसरी राप्रपाको १३ र हानेपाको २ सांसदले राजीनामा दिने घोषणा गरेसँगै ११० सदस्यीय बागमती प्रदेश सभामा ९५ सांसद रहनेछन्। यी दुई दल बाहिरिएसँगै ५ राजनीतिक दलको मात्रै प्रतिनिधित्व रहने छ।
जसमा हाल ३७ सिट रहेको नेपाली कांग्रेस नेतृत्वको सरकारमा २७ सिट रहेको नेकपा एमाले पनि सहभागी छ। २१ सिट रहेको नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ भने ७ सिट रहेको नेकपा एकीकृत समाजवादी र ३ सिट रहेको नेपाल मजदुर किसान पार्टी प्रतिपक्षी दलको भूमिकामा छ।
Shares

प्रतिक्रिया