बागमती प्रदेशको राजधानी हेटौंडामा आज नेताको घरदेखि मन्त्रालयसम्ममा आगजनी गरिएको छ। आज बिहानैदेखि गरिएको प्रदर्शनमा आन्दोलनकारीहरुले मकावनपुरका नेताको घर तथा सार्वजनिक संरचनाहरुमा आगजनी गरेका हुन्।
बिहान ९ बजेदेखि हेटौंडा बजारका चोकहरुमा जम्मा भएका आन्दोनकारीहरुले सुरुमा हेटौंडा उपमहानगरपालिकाको कार्यालय अगाडि नारा जुलुस गरेका थिए। केहीबेरको प्रर्दशनपछि भेला भएका आन्दोलनकारीहरुले ढुंगा हान्ने, प्रहरीको घेराबार तोड्ने गरेका थिए।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमै आगजनी गर्ने प्रयास स्वरुप धरकपड गरिरहे। तर प्रहरी सुरक्षाका कारण प्रशासन प्रवेश गर्न नपाएपछि आन्दोलनकारीको एक समूह एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाको घरतर्फ लागे।
अर्को समूह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर आगजनी गर्न तर्फ अघि बढ्यो। यत्तिकैमा जिल्लाका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरे। मओवादी पार्टी कार्यालयको भने गेटमा मात्रै आगो लगाइयो।
एउटै पाँचतले भवनमा रहेका मन्त्रालयहरु क्षणभरमै सल्कियो। सोही मन्त्रालयसँगै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि आगो लगाइ दिए।
यता, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, लोक सेवा आयोग, हेटौंडा उपमहानरपालिकाको कार्यालय, प्रदेश सभा भवन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यातायात सेवा कार्यालय हेटौंडा, प्रदेश आपतकालिक आपूर्ति केन्द्रमा आन्दोलनकारीहरुले आगो लगाए। यो सँगै हेटौंडको १० नम्बर वडा कार्यालय भवन, ११ नम्बर वडा कार्यालय भवन र ४ नम्बर वडा कार्यालय भवनमा समेत आगजनी भयो।
यता, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको घर, प्रदेश सांसद एकालाल श्रेष्ठको घर, एमाले जिल्ला उपाध्यक्ष तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको घर पूर्ण रुपमा जल्यो। उता, पश्चिमी मकवानपुरमा पर्ने मनहरी गाउँपालिकामा समेत आजगनी भयो।
दिनभर सरकारी संरचना र नेताको घर जलाएका आन्दोलनकारीहरुले आन्दोलन पश्चात् हेटौंडा-१ चौकीटोलमा रहेको भाटभटेनी सुपरमार्केटमा पसेर लुटपास मच्चाए । लुटपाट पश्चात् आगोलागी समेत गरियो।
हालसम्मको अवधिमा प्रदेशका केही मन्त्रालय मात्रै आगलागी हुनबाट जोगिएको छ।
Shares

प्रतिक्रिया