बागमती


सातै प्रदेशका मन्त्रीमध्ये सबैभन्दा कान्छा

सातै प्रदेशका मन्त्रीमध्ये सबैभन्दा कान्छा

सुनिता विष्ट
भदौ १९, २०८२ बिहिबार १०:२२, हेटौँडा

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ भर्खर ३३ वर्षका भए। २०४९ मंसिर २५ गते जन्मेका उनी बागमती प्रदेश मन्त्रिपरिषद्का १४ मन्त्रीमध्ये सबैभन्दा कान्छा हुन्। यति मात्र होइन, उनी देशका सातै प्रदेशका प्रदेशमन्त्रीमै सबैभन्दा कम उमेरको रहेको पाइएको छ। 

११ सदस्यीय मन्त्रिपरिषद् रहेको मधेस, १२ सदस्यीय मन्त्रीपरिषद् रहेको लुम्बिनी, ९ सदस्यीय मन्त्रिपरिषद् रहेको गण्डकी, ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कोसी, ९ सदस्यीय मन्त्रिपरिषद् रहेको सुदूरपश्चिम तथा ८ सदस्यीय मन्त्रिमण्डल रहेको कर्णाली प्रदेशका मन्त्री थोरैले भए पनि उनीभन्दा जेठा नै छन्।

तामाङभन्दा पछिका सबैभन्दा कान्छो मन्त्री भने मधेस प्रदेशका वन तथा वातावरण मन्त्री सन्जय कुमार यादव हुन्। जनमत पार्टीबाट मन्त्री बनेका उनी २०४८ कात्तिक १८ मा जन्मिएका हुन्। यस हिसाबले उनी बागमतीका मन्त्री तामाङभन्दा १ वर्ष जेठा छन्। आफू अहिले ३४ वर्ष पुगेको मन्त्री यादवले जानकारी दिए।

यसरी मन्त्री तामाङ सातै प्रदेशका ७ मुख्यमन्त्रीसहित ७१ मन्त्रीमध्ये सबैभन्दा कम उमेरका हुन्।

गत चुनावमा सिन्धुपाल्चोक प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट प्रत्यक्ष निर्वाचित तामाङ पहिलोपटक मन्त्री बनेका हुन्। 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-४ घर भएका तामाङ हालै गठित प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री भएका हुन्। 

विद्यार्थी जीवनदेखि नै उनी कांग्रेस राजनीतिमा लागेका थिए। सिन्धुपाल्चोककै सरस्वती माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनले कांग्रेसको नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा होमिएका थिए। 

कक्षा ७ देखि १२ सम्म उनी विद्यार्थी संघमै सक्रिय भए। काठमाडौँको पशुपति क्याम्पसमा कक्षा ११ र १२ पढ्दा उनी २१ वर्षका थिए।

गाउँमा पार्टीको युवा संगठन नेपाल तरुण दलको जिल्ला अधिवेशन थियो। यसका लागि उनी सिन्धुपाल्चोक फर्किए। अधिवेशनबाट उनी पनि तरुण दलको जिल्ला सदस्य चुनिए। यसपछि उनी क्रमश: पार्टी (कांग्रेस) कै वडा, क्षेत्र र जिल्ला कार्यसमितिमा रहेर प्रत्यक्ष दलगत राजनीतिमै सक्रिय भए। 

यसपछि २३ वर्षको उमेरमै उनी तत्कालीन थकनी गाउँ समितिको सभापति बने। 

‘उमेर सानै थियो, तर पनि म सानो हुँ भन्ने फिलिङ्स नै नआउने’, ती दिन सम्झिँदै तामाङले भने, ‘ठुलो दलको हैसियतले पनि निर्णय प्रायः मेरै पक्षको आउँथ्यो। २०७२ सालको भूकम्पपश्चात् गाउँ फर्केको मैले पीडितहरूलाई उद्धारदेखि राहत वितरणसम्म धेरै भूमिका निर्वाह गर्न पाएँ। सोही कारण कहिल्यै नजित्ने वडा कांग्रेसको गढ बन्न पुग्यो।’

जनप्रतिनिधि यात्रा 
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उनी मेलम्ची नगरपालिका-४ को वडासदस्य पदका लागि उम्मेदवार बने। विजयी पनि भए। 

पाँच वर्ष वडामा बसेर गरेका विकास निर्माणका काम देखेरै कांग्रेसले २०७९ को आम निर्वाचनमा उनलाई सिन्धुपाल्चोक प्रदेश निर्वाचन क्षेत्र २ (२) को टिकट दियो। जिल्लाका पुराना नेताहरू पासाङ दोङ, सागर श्रेष्ठ, निमा लामा, विष्णु खड्कालगायत पनि टिकटको आकांक्षी थिए। तर पार्टीका सिन्धुपाल्चोक सभापति जंगबहादुर लामाले अन्तत: उनैलाई छनोट गरे। 

पहिलो प्रयासमै उम्मेदवार बनेका उनी १७ हजार ७ सय ५७ मत ल्याउँदै प्रदेश सांसद बन्न सफल भए। कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार तामाङले एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले हराएका थिए।

लामासँग लाग्दा संसदीय दलको सचिव
संसदीय यात्रा सुरु भएपछि उनलाई कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले सचिवको जिम्मेवारी दिए।

सानैदेखि राजनीति जानेको र सचिवालय सम्हाल्न सक्ने क्षमता देखेका तत्कालीन मुख्यमन्त्री लामाले पार्टीका ३७ सांसदमध्ये कृष्णकुमारलाई नै दलको कार्यालयको सचिव बनाएका थिए। लामा दलको नेता हुन्जेल कृष्णकुमारले सचिवको जिम्मेबारी वहन गरे।

कांग्रेस बागमती संसदीय दलको नेताका लागि लामा र वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँबीच चुनावी प्रतिस्पर्धा भयो। लामा २१ मतले विजयी भएका थिए। त्यतिबेलासम्म तामाङ लामाका विश्वासपात्र थिए। 

तर जब बानियाँले १७ सांसदको हस्ताक्षरसहित तत्कालीन दलका नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराए, तबदेखि भने कृष्णकुमारले लामाको साथ छाडेको चर्चा चल्यो। अविश्वास प्रस्ताव ल्याएको विषयमा जानकारी नगराएको भन्दै लामा पक्षका सांसद उनीसँग रिसाए। त्यसो त उनले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। तर उनको गन्ती बानियाँ समूहमै गरियो। 

बानियाँतिर गएपछि मन्त्री
गत साउन १४ गते कांग्रेस बागमती संसदीय दलको नेताका लागि बानियाँ र लामाबीच चुनावी प्रतिस्पर्धा भयो। लामाले १४ मत प्राप्त गर्दा बानियाँ २२ मत ल्याएर दलको नेता चुनिए। यतिबेला भने कृष्णकुमार बानियाँ जिताउनतिरै लागेका थिए। 

यतिबेलासम्म कृष्णकुमार मन्त्री बन्ने चर्चा चलिसकेको थियो।

तथापि साउन २० गते नवनियुक्त मुख्यमन्त्री बानियाँसहित मन्त्रीहरू शपथ समारोहमा उपस्थित हुँदा तामाङ देखिएका थिएनन्। तर शपथ कार्यक्रम सुरु हुनै लाग्दा सेतो दौरा-सुरुवाल र हल्का खैरो रङको कोट लगाएर उनी एकाएक मञ्चमा उक्लिए।

अनि जब प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीको नाम र मन्त्रालयको नाम उच्चारण गरे, तब कांग्रेसका धेरै सांसद शपथ समारोहबाटै उठेर हिँडे।

सानो उमेरका सांसदलाई विकासे मन्त्रालय दिइएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि पोखियो। तर त्यो केही दिनमै साम्य भएको मन्त्री तामाङ सुनाउँछन्। 

‘जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छु’ 
उमेर सानै भए पनि शीर्ष नेताहरूको साथ र सहयोगले मन्त्री बन्ने अवसर पाएको उनले बताए। मन्त्री बनेको भर्खर १ महिना पुगे पनि धेरै कुरा अनुभव गर्न पाएको उनको भनाइ छ। 

उनले भने, यो मन्त्रालय प्रत्यक्ष नागरिकसँग जोडिएको मन्त्रालय हो। नेताहरूले विश्वास गरेर ठुलो जिम्मेवारी दिनुभएको छ। यो जिम्मेवारी म इमान्दारीका साथ पूरा गर्नेछु। 

उनले थपे, ‘खानेपानी मन्त्रालयले अहिलेसम्म कुनै ऐन निर्माण गरेको अवस्था रहेनछ। पहिलो दिनदेखि नै मैले प्रदेश खानेपानी ऐन जारी गर्नका लागि गृहकार्य भइरहेको छ। यसको मस्यौदा तयार हुँदैरहेछ। त्यो फाइल अर्थबाट सहमति लिएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको छु। संघीय खानेपानी ऐन जारी भइसकेको अवस्थामा प्रदेशले पनि आफ्नो ऐन निर्माण गर्नुपर्छ भनेर लागिपरेको छु।’

आफ्नो मन्त्रालयमा नीतिगत सुधारको खाँचो देखिएको मन्त्री तामाङ बताउँछन्। बजेटको बेतिथि अन्त्य गर्न कानुन निर्माणतर्फ आफू केन्द्रित भएको उनले बताए।

‘नीतिगत सुधार भइसकेपछि हामीले कसैलाई दबाब दिन पनि पर्दैन। नीति-नियमबाटै योजना सञ्चालन गर्ने कानुन बनाएपछि कसैलाई अन्याय हुँदैन’, उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad