नेपाल–चीन दुई प्रमुख नाकामध्ये रसुवागढीमा आएको बाढीले अर्बौँको नोक्सानी भएको व्यापारीहरुले बताएका छन्।
चीनबाट नेपालतर्फ आयात गरिएका सामानसहितका कन्टेनर र ईभी गाडीहरु बगाउँदा व्यापक नोक्सानी भएको उनीहरुले बताएका हुन्।
रसुवा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार भन्सार गर्न बाँकी गाडीहरु भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठूलो बाढी आउँदा ती गाडी बगे–डुबेका हुन्।
रसुवागढीमै रहेका उनले नेपालखबरसँग भने, ‘भन्सार यार्डमा भएका सबै गाडी र कन्टेनर बगाएको छ। केरुङ जान तयार कन्टेनर र नेपाल आउने क्रममा रहेका फलफूल तथा लत्ताकपडा बोकेका कन्टेनरहरु बगाएको हो।’
भन्सार कार्यालयकै आसपासका गाडीहरु भने डुबानमा मात्रै परेको उनले जानकारी दिए।
‘यार्डका गाडीहरु बगेका हुन्। थुप्रै बगेका छन्’, उनले भने, ‘कति र कुन ब्रान्डका गाडी थिए भन्ने खुलेको छैन।’
नेपाल सीमापार हिमालय वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले पनि नेपाल र चीन दुवैतर्फ सामान बोकेका कन्टेनरलाई क्षति पुगेको जानकारी दिए।
उनले भने, ‘अहिलेसम्म १० वटा गाडी चीनतर्फ बाढीको पानीले डुबेको सुनेका छौँ। नेपालतर्फ पनि २० वटा गाडी सामानसहितको बगाएको भन्ने छ।’
त्यसैगरी रसुवागढी भन्सार कार्यालयको यार्डमा १० वटा ईभीसहितका गाडी डुबेको जानकारी पाएको उनले बताए। अध्यक्ष कार्कीका अनुसार कन्टेनर र ईभीसहित २०/२२ वटा गाडी बगाएको छ।
ती कन्टेनरहरुमा स्याउलगायत फलफूल र रेडिमेड (तयारी) सामान रहेको उनले बताए।
‘बाढीले अर्बौँको नोक्सानी भएको अनुमान छ’, कार्कीले भने, ‘दुवैतर्फ डुबेका कन्टेनरका सामान पनि बिग्रिने हुँदा व्यापक क्षति भएको छ।’
तत्काललाई उद्धारका लागि पहल गर्न गृह मन्त्रालयलाई आग्रह गरेको बताउँदै उनले चीनतर्फ अड्किएका नेपाली चालक–सहचालकलाई ल्याउन पहल गर्नुपर्ने बताए।
यसका लागि परराष्ट्र मन्त्रालयले पहलकदमी लिनुपर्ने उनको भनाइ छ। कार्कीका अनुसार चीनतर्फ ३०/३५ जना चालक र सहचालकहरु अड्किएका छन्।
यसैबीच भन्सार विभागका महानिर्देशक महेश भट्टराईले पनि कति सामान तथा गाडीहरुमा क्षति पुग्यो भन्ने विवरण निकाल्ने क्रममा रहेको बताए।
उनले भने, ‘हामीले तथ्यांक निकालिरहेका छौँ कति सामान बोकेका कन्टेनर र गाडी बगायो भन्ने अहिले अनुमान मात्रै गरिएको छ, हामी चाँडै तथ्यांक निकाल्दै छौँ।’
यसैबीच नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले रसुवागढी बाढीले अटो क्षेत्रमा पुर्याएको क्षतिको तथ्यांक संकलन भइरहेको जानकारी दिए।
उनले भने, ‘हामी तथ्यांक संकलनकै क्रममा छौँ। हालसम्म एकीन भइसकेको छैन।’
मंगलबार बिहानको बाढीले आगामी भदौ पहिलो साता हुने नाडा अटो शोका लागि ल्याएका ईभीहरु समेत परेको हुनसक्ने अटो व्यवसायीहरुले बताएका छन्।
एक व्यवसायीले भने, ‘२/३ वटा ईभी ब्रान्डहरुले नाडा अटो शोका लागी गाडी ल्याइरहेका थिए, बाढीमा ती गाडी बगेको हुनसक्छ।’
तिब्बतको खोला फुटेर भोटेकोशीमा आएको बाढीले चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि नेपालतर्फ ठूलो क्षति पुर्याएको हो।
बाढीले रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.२ टिमुरेस्थित रहेको ईभी चार्जिङ स्टेसन, रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुर्याएको रसुवा प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया