बागमती


‘प्रदेश सरकारले राजधानीको विकास गरेन’

‘प्रदेश सरकारले राजधानीको विकास गरेन’

नेपालखबर
जेठ २८, २०८२ बुधबार २०:२५, हेटौँडा

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा उपमहानगरपालिकाको विकासका लागि बागमती प्रदेश सरकारले चासो नदेखाएको सरोकारवालाको गुनासो छ।

बुधबार हेटौँडा उपमहानगरपालिकाको आयोजनामा ‘संघीय संरचनामा स्थानीय सरकार र हेटौँडाको विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सरकारले प्रदेशको राजधानीमा विकास गर्न चासो नदेखाएको चर्चा भएको हो। 

हेटौँडा उपमहानगरपालिकाको अयोजना तथा फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टरको सहकार्यमा सम्पन्न कार्यक्रममा सहभागी हेटौँडाका जनप्रतिनिधिहरुले प्रदेशको स्थायी राजधानी हेटौँडामै भए पनि हेटौँडाको भौतिक विकासमा प्रदेश सरकार उदासीन रहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै हेटौँडाकी मेयर मीना कुमारी लामाले प्रदेश सरकारले मागेजति आफूले उपलब्ध गराए पनि राजधानी विकासमा भने प्रदेश सरकार नलागेको बताइन्। यहाँको सडक सञ्जाल, पूर्वाधार निर्माण तथा राजधानीमा हुनुपर्ने संरचना निर्माणमा प्रदेश सरकारले चासो नदेखाउँदा हेटौँडाको विकास हुन नसकेको उनको गुनासो छ।

‘हेटौँडा स्थायी राजधानी बन्यो, त्यसमा हामी सबै खुसी नै छौँ,’ मेयर लामाले भनिन्, ‘तर प्रदेशको राजधानी भैसकेपछि जति विकास हुन्छ भन्ने यहाँका नागरिकहरुले सोचेका थिए। त्यसको आधा पनि विकास हुन सकेको छैन। बागमती प्रदेश सरकारमा रहेका मन्त्री ज्युहरु आफ्नो निर्वाचन क्षेत्र र पालिका बनाउनमा व्यस्त हुनुहुन्छ।’

उनले हेटौँडाको विकासका लागि संघीय सरकारले भने सहयोग गरेको बताइन्। हेटौँडाको खानेपानी क्षेत्र र ढल व्यवस्थापनका क्षेत्रमा संघीय सरकारले लगानी गरेको र त्यसको प्रतिफल राम्रो आएको उनको भनाइ थियो। 

त्यसोत, हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले नगरपालिकाबाट सम्पादन भएका कामहरुको प्रचार प्रसार नहुँदा गरेका असल अभ्यासहरु नागरिकमाझ नपुगेको बताए। संघ, प्रदेश र स्थानीय सरकार तीनै तहबाट प्राप्त अधिकार, बजेट र नीतिमा टेकेर गरेका कामहरुको प्रचार नभएको उनले बताए।

‘खानेपानीका लागि सिंहदरवार धाइरहेका मेयरहरु पनि हामीले देखिरहेका छौं,’ उपमेयर बानियाँले भने, ‘हामी त्यही पानि निशूल्क वितरण गरिरहेका छौं। तर यस्ता कुराको प्रचार कम हुँदा काम नै नगरेको जस्तो भैरहेको छ।’

कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले नीति तथा कार्यक्रम, योजना र बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयहरुको चर्चा गरेका थिए। संघीयता तथा स्थानीय सरकार विश्लेषक डा देवकोटाले बागमती प्रदेशको राजधानी नै रहेको हेटौँडा उपमहानगरपालिकामा विकास गर्न तथा मानिसहरुको आकर्षण बढाउनका लागि संघीय राजधानीसँगको सडक राम्रो हुनुपर्ने बताए।

प्रदेशको राजधानी र संघीय राजधानी जोड्ने छोटोदुरीका सडक राम्रो र सजिलो भए हेटौँडामा बसाइँसरी आउनेको दर बढ्ने देवकोटाले बताए। सडक सञ्जाल सहज नभएकै कारण बागमती प्रदेशको राजधानीमा विकास हुन नसकेको र मानिसहरुको आकर्षणको केन्द्र बन्न नसकेको उनको भनाइ थियो। 

उनले हेटौँडाको १९ वटै वडाहरुको लागि बजेट निर्माण गर्दा त्यस वडाको अवस्था, विकटता र आवश्यकताको आधारमा रहेर योजना तर्जुमा गर्नुपर्ने बताए। हेटौँडा साक्षरता प्रतिशतमा १७ औं स्थानमा रहेको बताउँदै देवकोटाले यसलाई सुधार गर्न उपमहानगरपालिकाले नीति बनाउन आवश्यक रहेको बताए। 

हेटौँडा उपमहानगरपालिकाको मात्रै साक्षरता दर हेर्ने हो भने सबैभन्दा पहिलो स्थानमा ४ नम्बर वडा र अन्तिम स्थानमा १८ नम्बर वडा रहेको देवकोटाले बताए। यसैको आधारमा टेकेर अन्तिम स्थानमा रहेका वडालाई बरबरीमा ल्याउने गरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न आवश्यक रहेको उनले औँल्याए। 

उनले योजना तर्जुमा गर्दा नगर प्रहरीको भूमिका, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन लगाएका बिषयमा ध्यान दिनुपर्ने बताए।

स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरुमा समेत ध्यान दिन जरुरी रहेको बताउँदै उनले भने, ‘विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून बनाउन आवश्यक छ। शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून निर्माणमा ध्यान दिन पर्छ भने राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन गर्नेसरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापनको नीति तयार गर्न आवश्यक देखिन्छ।’

कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामीले प्रदेश सरकारले नीति तथा बजेट बनाउँदा सम्बन्धित सरोकारवाला निकायहरुलाई नसमेटेको बताए।

आफूहरु यतिबेला प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको र यो बेला रचनात्मक सुझाव दिनुपर्ने बताउँदै सांसद पुलामीले भने, ‘प्रदेश सरकारले बनाउने बजेटमा विकासमा भन्दा अन्य क्षेत्रमा लान पाए हुन्थ्यो जस्तो गर्नुहुन्छ। देशमा भएका सम्पत्ति बेचेर पैसामा रुपान्तरण गर्ने नीति नै बनाउँदैन। खेर गैरहेको बालुवा गिट्टी, काठ, लगाएतका प्राकृतिक स्रोत साधन बेचेर पैसा कमाउन सकिन्छ। तर नेपालमा प्राकृतिक स्रोत बेच्यो भने सबै सकिन्छ भन्ने सोच छ। सकिने भए अरब मुलुकमा तेल सकिन्थ्यो।’

एकालाल श्रेष्ठले बागमती प्रदेश सरकारले हेटौँडाका लागि धेरै राम्रा काम गरेको दाबी गरे। कार्यक्रममा मन्तव्य राख्दै पूर्व मन्त्री समेत रहेका श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा चक्रपथ, बाइपास सडको अवधारण जस्ता महत्वपूर्ण योजनाहरु बागमती प्रदेश सरकारकै भएको बताए। 

‘प्रदेश सरकारको दायित्व प्रदेश राजधानीमा मात्रै नभएको बताउँदै उनले भने, ‘बागमती प्रदेश सरकारले प्रदेशको ११९ वटै स्थानीय तहको विकासमा नजर लगाउनु छ। प्रदेशको राजधानी भएको स्थानीय तह हो भन्दैमा यहाँमात्रै बजेट छ्ट्याउने, यहाँमात्रै विकास निर्माण गर्न असम्भव छ। तर पनि अन्य स्थानीय तहको तुलनामा हेटौँडाको समग्र विकासका लागि प्रदेश सरकार लागिपरेको छ।’

त्यसोत, कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्थनीय तहको विकास भएमात्रै सिंगो मुलुकको विकास हुने बताए। जसका लागि प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयनमा नीति कार्यक्रम तथा बजेट निर्माणलाई तीव्रता दिइरहेको उनको भनाइ थियो। 

कार्यक्रममा प्रदेश सांसद, जिल्लाका विज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो। हेटौँडा उपमहानगरपालिकाले आउँदो असार १० गते बस्ने नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउँदै छ। सोही नीति तथा कार्यक्रम निर्माणलाई सघाउ पुग्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हेटौँडा उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad