बागमती


हेटौँडा अस्पतालमा तोडफोड गर्ने ६ जना पक्राउ, रिहाइको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

हेटौँडा अस्पतालमा तोडफोड गर्ने ६ जना पक्राउ, रिहाइको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १९:४०, हेटौँडा

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा तोडफोड गर्ने ६ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

गत आइतबार बिहान १० बजेतिर अस्पतालको बोर्ड तोडफोड गरेका उनीहरूलाई बिहीबार (आज) साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत हुन नहुने भन्दै बोर्ड फुटाउने हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनील गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

यसअघि बोर्ड मेटाउन प्रयोग भएको म्याजिक भ्यान मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो।

साविक जिल्ला अस्पतालको रुपमा सञ्चालित हेटौँडा अस्पताल संघीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने निर्णय गरेको थियो।

प्रतिष्ठान मातहत रहने गरी हेटौँडा अस्पताललाई आगामी दिनमा शिक्षण अस्पतालको रुपमा विकसित गर्ने योजनासहित भौतिक पूर्वाधार विकास, सेवा विस्तार लगायतको कार्य भइरहँदा हेटौँडा अस्पताल र प्रतिष्ठानलाई अलग गर्नुपर्ने भन्दै राजनीतिक दल, भ्रातृ संगठनसहित विभिन्न समूहले बेलाबेला आवाज उठाउँदै आएका छन्।

यता, पक्राउ परेका ६ जनालाई प्रहरीले हिरासतमा राखेको भन्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा–१, चाइना क्वार्टर अगाडि टायर बालेर एक घण्टा सडक अवरुद्ध गरेका थिए। 

पक्राउ पर्नेहरूको रिहाइको माग गर्दै नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले सडक अवरुद्ध गरेका हुन्। उनीहरूले हेटौँडा अस्पतालको संरक्षण गर, पक्राउ परेकालाई रिहा गर लगाएतको नारा लगाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad