वर्षौंदेखि जग्गाधनी पुर्जा नपाएका मकवानपुरका भूमिहीनहरूलाई लालपुर्जा वितरण कार्यको सुरुवात गरिएको छ।
१० वटा स्थानीय तह रहेको मकवानपुरमा पछिल्लो समय गठन भएको भूमि समस्या समाधान आयोगले बकैया गाउँपालिकाबाट जग्गा धनी पुर्जा वितरण सुरुवात गरेको हो।
आइतबार गाउँपालिकामा बसोबास गर्ने भूमिहीन सुकुम्वासी तथा अव्यवस्थितलाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गरिएको छ।
बकैया–७ स्थित भिरकोटमा एक समारोहकाबीच उनीहरूलाई जग्गा धनी पुर्जा वितरण गरिएको हो। वर्षौंसम्म पुर्जाबिना ऐलानी जग्गामा खनजोत गर्दै जीविका चलाउँदै आएका स्थानीयहरू आफ्नो हातमा जग्गा धनी पुर्जा पाएपछि दंग देखिन्थे।
हिँड्ने सहाराको लागि हातमा लौरी बोकेर कार्यक्रम स्थलसम्म आइपुगेकी ७३ वर्षकी ठूलीमाया भ्लोन आफ्नो परिवारमै जग्गाधनी पुर्जा भएकी पहिलो भएकी छिन्। उनको हजुरबुवा, बुवा देखि श्रीमान् कोहीसँग पनि जग्गाधनी पुर्जा थिएन।

केही कठ्ठा एैलानी जग्गामा कुटो कोदालो गरेर जीविका चलाए पनि कुनै व्यवसाय गरौँ भन्नका लागि जग्गाधनी पुर्जा नभएकै कारण रोकिएको कतिपय पलहरू ठूलीमायाको आँखै वरपर घुमिरन्छन्।
छोरालाई विदेश पठाउन नसक्दाको पीडा, उपचार खर्च जुटाउन भन्दै बैंकमा ऋण लिन जाँदा लालपुर्जा माग्दा मुटु चर्कीएको पल उनी कहिल्यै भुल्दिनन्।
‘आफ्नो नाउँमा जग्गा नहुँदा कति समस्या भोग्यो भोग्यो नि, त्यो म भोग्नेलाई था छ,’ लालपुर्जा पाएपछि खुसी व्यक्त गर्दै ठूलीमायाले भनिन्, ‘अब त ढुक्क लागेको छ। आफ्नै नाउँमा २ कठ्ठा जग्गा आयो। त्यतिमा खेती गरेर पनि ज्यान पाल्न सकिन्छ। छोराहरूले घर बनाउलान्।’
त्यसोत, यही पुर्जाको लागि आफूले निकै संघर्ष गर्नुपरेको ठूलीमाया बताउँछिन्। कहिले जग्गा नापी भैसकेपछि भूमि समस्या समाधान आयोग नै खारेज हुँदा धेरै पटक हातमा आउनै लागेको पुर्जा रोकिएको स्थानीयको अनुभव छ।
तथापि, नापी कार्यालयले नाप गरेकै जति जग्गाको पुर्जा हातमा आइपुग्दा ढिलो भए पनि खुसी लागेको स्थानीय मिन बहादुर संजेलको भनाइ छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा भएको पुर्जा वितरण समारोहमा बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र १९ अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिलेको भूमि आयोग नै अन्तिम आयोग हुने गरी काम गर्न लागिपरेको दाबि गरे। उनले भूमिहीन सुकुम्वासी समस्या हल गर्न सरकारले अन्तिम पटक आयोग बनाएर काम थालेको बताएका हुन्।

आफू मन्त्री हुँदा नै अन्तिम पटक भूमि आयोग बनाएर जनताको समस्या समाधान गर्ने अठोट लिएको उनको भनाइ छ।
त्यसोत, मकवानपुरको सबै स्थानीय तहमा गरी ३५ हजार बढी नागरिकहरूलाई जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने देखिएको भूमि समस्या समाधान आयोगका अध्यक्ष बलराम बलले बताए।
सरकारको उदेश्य राम्रो भएपनि प्रक्रिया लामो भएका कारण पुर्जा वितरणमा सकस देखिएको बताउँदै अब यो प्रक्रिया छाँटकाट गर्न आवश्यक रहेको उनको भनाइ छ।
भूमि समस्या समाधान आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरणमाथि छानबिन गरी भूमिहीन नागरिकहरूलाई पुर्जा वितरणको मग गरिएको हो।
उनीहरूलाई न्यूनतम एक कठ्ठादेखि अधिकतम पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराएको भूमि आयोग मकवानपुरले बताएको छ। जसमा कृषि क्षेत्रका जग्गा धेरै रहेको बताइएको छ।
Shares

प्रतिक्रिया